ब्लग

[नोटबुक] हेप्ने पनि हद हुन्छ !

- गोकर्ण गौतम, काठमाडौं

साँझको ८ बज्न केही मिनेट बाँकी छँदा काठमाडौँ मलअगाडि अन्नपूर्ण यातायातको अन्तिम बस आइपुग्यो । बस भरिए पनि सहचालक चिच्याई–चिच्याई यात्रु बोलाइरहेका थिए । चालकचाहिँ आफ्नो सिटबाटै भित्र छिरेकालाई मिलेर बस्न कराउँदै थिए । त्यही बेला उनको नजर पर्‍यो, प्यासेजको भाँडाकुँडाको टोकरीमा । बम्किहाले, “त्यो कसको ?” टोकरीधनी मधेसी भएको यकिन भएपछि चालक अझ कड्किए, “त्यो सामान निकालिहाल ।”

टोकरीधनीले दबेको स्वरमा सहचालकलाई सोधेरै हालेको र भाडा दिने बताउँदा पनि चालक रोकिएनन् । सहचालकलाई बोलाएर उल्टै झपारे, “यो सामान किन हालेको ? आँखा देख्दैनस्, मान्छे हाल्नुपरेन ?” मधेसी दाजुको मुहार अझ अँध्यारो भयो । मैले तत्काल ट्राफिक प्रहरी बोलाएँ । प्रहरीले चालकको सातो लिए । प्रहरी गएपछि चालकले मतिर फर्किएर भने, “मलाई भनेको भए भइहाल्थ्यो । फोकटमा गाली खाइयो ।” मैले यत्ति भनेँ, “म भैदिएको भए तपार्इंलाई समातेर लैजान्थेँ, होइन भने यहीं उठबस गराउँथेँ ।’ उनी मधेसी थिएनन् भने चालकले यतिविघ्न हेप्ने हिम्मत गर्थे होलान् ?

मन्दिर कि पसल ?

एकाबिहानै होटलबाट निस्कन हामीभन्दा हतारिए, अमेरिकी साथी निकम्यान । पोखरामा उनको हतारो देखेर हामी अर्थात्, नरेश केसी र म चकित पर्‍यौँ । बिहान ७ बजे फेवाताल किनारामा डुंगा चढेपछि मैले उनलाई जिस्काएँ, “मान्छे मन्दिरमा केही लिन आएका हुन्छन् कि धर्म गर्न ?” निकम्यान डुंगाका अरु यात्रुतिर हेरेर मुस्कुराए । मैले थपिदिएँ, “मलाई चाहिँ मन्दिर पसलजस्तो लाग्छ । मान्छे आउँछन्, पैसा चढाउँछन्, केही माग्छन्, जान्छन् । भएन त, व्यापार ?” मन्दिरमा आस्था मात्र हुँदो हो त पैसाको कारोबार किन हुन्थ्यो ? अझ कतिपय मन्दिरमा त दर्शनबापतको रेट नै तोकिएका छन् । ‘सोर्सफोर्स’ पनि लगाउनुपर्छ । निकम्यानले बल्ल मुख फोरे, “अमेरिकी चर्च पनि त्यस्तै–त्यस्तै हुन् ।”

हामीले मन्दिरलाई पुँजीवादको केन्द्रसम्म भन्न भ्यायौँ । डुंगामा सवार दाह्रीवाल अधबैँसे पुरुष एक्कासि कड्किए, “अगर आप लोग नास्तिक हो तो फिर मन्दिर क्युँ आया ? एसी नकारात्मक सोच से विदेशीयो पर क्या असर पडेगा ?”

के बोल्ने, के नबोल्ने ! उनी भारतको उत्तर प्रदेशबाट मन्दिर दर्शन गर्न नेपाल आएका रहेछन् । मन्दिरको मुखैमा उनको झोँक चलिहाल्यो । तर, तर्क गर्ने न समय थियो, न त माहोल । फेरि परे पाहुना । यत्ति भनियो, “अपना अपना विचार है ।”

मुखमा मात्रै जयजय

निर्माता संघ र चलचित्र संघको कथित सम्झौता छ, शुक्रबारबाहेक अन्य दिन फिल्म रिलिज गर्न नपाइने । यही नियम विदेशी फिल्मको हकमा लागू हुन्न । जस्तो : ३० साउन बुधबार हिन्दी फिल्म सत्यमेव जयतेगोल्ड चलाइयो । तर, कहीँ कतै विरोध सुनिएन । त्यही शुक्रबार चार नेपाली फिल्म प्रदर्शन हुँदै थिए । बुधबारै हिन्दी फिल्मले हल ओगटेपछि नेपाली फिल्मलाई सुख्खा लाग्ने भइहाल्यो ।

हिन्दी फिल्मको यस्तो प्रभुत्व रोक्ने पहिलो दायित्व हो, चलचित्र विकास बोर्डको । जसको नारा नै छ, नेपाली फिल्मको विकास, विस्तार र प्रवद्र्धन । तर, हिन्दी फिल्मले बुधबार हल कब्जा गरेर नेपाली निर्माताको ढाड भाँच्दा पनि बोर्ड अध्यक्ष निकिता पौडेल चुइँक्क बोलिनन् । बोल्नु पनि कसरी ? दुवै हिन्दी फिल्म उनकै घरेलु कम्पनीले वितरण गरेको हो ।

सत्यमेव जयते गोपीकृष्णले ल्याएको हो भने गोल्डचाहिँ गोपीकृष्ण र चौधरी गु्रप मिलेर खोलेको नयाँ वितरण कम्पनी सीजीजीके सिनेप्लेक्सले । सेन्सर बोर्डबाट पास भएका फिल्मलाई रोकतोक गर्ने अधिकार विकास बोर्डलाई नहोला । तर, विदेशी फिल्मले नेपाली फिल्मलाई ठाडै मर्कामा पार्दा बोर्ड र निर्माता संघ पनि आँखामा पट्टी बाँधेर बसे । मुखमा मात्रै जय नेपाली सिनेमा जपेर के काम !  

प्रकाशित: भाद्र १४, २०७५