स्मरण

[स्मरण] वल्लभको निम्तोले लफडा

- वैरागी काइँला, काठमाडौं

अनौठा आनीबानी थिए ईश्वरवल्लभका । कसैसँग नदब्ने, सम्झौता नगर्ने । त्यस्तो बानीलाई हामी घमण्डी वा एकलकाँटे भन्छौँ । दाइ इन्द्रबहादुर राई र मैले धेरै वर्षपछि सिलिगुडीमा भेट्दा उनको एउटा यस्तै बानीले उत्पन्न गराएको घटना स्मरण गर्‍यौँ ।

“काइँलालाई थाहा छ, त्यो घटना ?” उहाँले त्यो प्रसंग कोट्याउनुभयो ।

प्रसंग कोठगोष्ठी साहित्य–प्रतिष्ठानको आयोजनामा भएको एउटा साहित्यिक गोष्ठीका लागि वल्लभले तयार गरेको निम्तोपत्रको हो । सन् १९६१ को अन्ततिर अर्थात् तेस्रो आयाम पत्रिका निस्कनु एक/दुई वर्षअघिको घटना ।

त्यसताका वल्लभजी एक–डेढ वर्ष मेरै कोठामा बस्नुभएको थियो । सँगै बस्न थालेपछि हामी कोठामै नियमित साहित्यिक गोष्ठी गथ्र्यौँ । भित्तेपत्रिका पनि निकाल्थ्यौँ । त्यसलाई हामीले नाम  दियौँ, ‘ कोठगोष्ठी  साहित्य  प्रतिष्ठान’, म्युनिसिपल बिल्डिङ, सी, चोकबजार, दार्जिलिङ । यसै प्रतिष्ठानले पछि तेस्रो आयाम पत्रिका प्रकाशन गर्‍यो ।

एउटा गोष्ठीका लागि निम्तोपत्र छापेर बाँड्ने निधो भयो । निम्तोपत्र लेख्ने र प्रेसमा पुर्‍याउने जिम्मेवारी वल्लभलाई दिइएको थियो । निम्तोपत्र छापिएर बाँड्ने बेलामा हामी छक्क पर्‍यौँ । तर, समय थिएन र त्यत्तिकै बाँडियो । वल्लभले बेहोरा लेखेछन्, ‘बुद्धि भएका र कविता बुझ्ने मात्र आउनू कविगोष्ठीमा । नबुझ्ने नआए हुन्छ । हामीलाई बुझ्ने श्रोता चाहिन्छ, भीड होइन । भीडतन्त्रको विरोधी हामी छौँ ।’

तोकिएकै दिन गोष्ठीस्थल गोर्खा दु:ख निवारक भवनमा जम्मा भयौँ । आमन्त्रित सहभागी पर्खेर धेरै बेर बस्यौँ । अन्त्यमा एकएक गरेर तीन जना आए । अहिले म सबैको नाम सम्झन सक्दिनँ । एक जना थिए, त्यतिबेलाका नाम चलेका लेखक, कथाकार जी छिरिङ । मञ्चमा हामी जम्मा पाँच जना थियौँ । कोठगोष्ठी साहित्य–प्रतिष्ठानका सबै पदाधिकारी पनि थिएनन् । इन्द्रबहादुर राई, ईश्वरवल्लभ, एक जना पन्जाबी फोटो पत्रकार/कवि मदहोश, वीरविक्रम गुरुङ र म ।

दर्शकदीर्घाबाट क–कसले के–के भने कुन्नि ! जी छिरिङले भनेको चाहिँ अलिअलि सम्झन्छु । उनले भने, “यो बुद्धि हुनेले मात्र सुन्ने कविगोष्ठी रे, होइन ? बुद्धि नहुने हामीलाई किन बोलाइयो त ? कविता बुझ्नेले मात्र आउनू भनेर निम्तो छापे तर कविता नबुझ्ने हामीलाई किन निम्तोपत्र पठाएको त ? कसले सुन्छ नबुझिने कविता तिमीहरूको ? को हौ आफैँ मात्र जान्ने र बुझ्ने भन्नेहरू ? भीड नचाहिने रहेछ, किन बोलाएको त मानिसहरू ?”

यी शब्द जी छिरिङको नभएर भाव मात्र हो । उनको कड्केको भनाइबाट ढुंगाले हान्लान् वा कुहेको अन्डाले हान्लान् जस्तो पनि लागेको थियो । तर, त्यसो भने भएन । अन्त्यमा, लगभग पाँच–दस मिनेट त्यसरी कराएपछि बुद्धि भएका जान्नेहरूले मात्र बुझ्ने, कविता नबुझ्ने बुद्धि नहुनेहरूले गोष्ठीमा बस्नुको कुनै औचित्य छैन भनेर बहिष्कार गर्छौं भन्दै ती तीनै जना सँगै बाहिर निस्के ।

मञ्चमा  आयोजकमध्येका र सहभागिता जनाउन आएका मदहोश, अर्का कुनै एक साहित्यकार र हामी तीन जना बाँकी रह्यौँ । अब कसो गर्ने ? एकछिन एकापसमा हेराहेर गर्‍यौँ । कसले कसलाई के भन्यौँ, मलाई सम्झना छैन । मदहोशले भनेको अलिअलि सम्झना छ, “सबै त गइहाले सुन्नेहरू, अब बाँकी रहेको यही भित्ता छ र उता दर्शकदीर्घामा खाली कुर्सी छन् । यही भित्ता र तिनै कुर्सीलाई सम्बोधन गर्दै सुनाउँछु ।”

मदहोशले एउटा शेर वाचन गरे । हामी एकापसमा हेराहेर गर्दै हाँस्यौँ र शेर सुनेपछि जोडजोडले ताली बजायौँ । अन्त्यमा, वल्लभजीको निम्तोपत्रले गर्नु गर्‍यो भन्दै भीडका विरोधी हामी पनि सभा–भवनबाट कार्यक्रम सकेको घोषणा गर्दै बाहिरियौँ । यस्ता सनकी थिए ईश्वरवल्लभ ।

प्रस्तुति: रमण घिमिरे

प्रकाशित: भाद्र १४, २०७५