विचार

[टिप्पणी] साथ दिऔँ, साथ लिऔँ

- होमनाथ चालिसे, काठमाडौं

व्यक्ति परिवारमा बसेको हुन्छ । सबै रमाएका हुन सक्छन् । तर, त्यो भीडमा आफूलाई एक्लो महसुस गर्नु एक्लोपन हो । अरूले मतलब नगर्दा, ध्यान नदिँदा वा समूहमा मिल्न नसक्दा व्यक्तिले एक्लो महसुस गर्छ । तर, एक्लै बस्दा एक्लोपन भइहाल्छ भन्ने होइन । एक्लो बस्नु भनेको संख्या एकल हुनु हो, जसलाई भावना, सोचमा एक्लो भएको आभास नहुन सक्छ । यसले असर गर्दैन पनि ।

आधुनिकीकरणका नाममा सामाजिक गतिविधिमा भारी गिरावट आएको छ । पहिले गाउँमा एउटै टिभी हुन्थ्यो, सबै मिलेर हेर्थे । घुलमिल हुन्थ्यो तर आज व्यक्तिपिच्छे टेलिभिजन सेट हुन्छ । अनि, कसरी आत्मीयता होस् ? कतिसम्म भने घरकै सदस्य आफ्नो कोठामा आउँदा झर्को लाग्न सक्छ । प्रत्यक्ष भेटेर गफ गर्ने, घुम्न जाने, जात्रा, चाडपर्वमा रमाउने, ठूलासँग भलाकुसारी गर्ने संस्कार लोप हुँदैछ । अगाडि प्रत्यक्ष आएर सहानुभूति र माया दिने अवस्था सिर्जना हुन्न । फलत: एक्लोपनको भुमरीमा परिन्छ । बाहिरबाट हेर्दा खुसी र सफल भए पनि भित्रभित्रै कालो बादल मडारिरहेको हुन्छ । यसको मुख्य कारण भनेकै केही समस्या पर्दा सुनिदिने व्यक्तिको अभाव हो, जसलाई निर्धक्कसँग मनको बह पोख्न सकियोस् । सेयरिङ गर्दा मन हल्का हुन्छ । तर, सबैलाई हतार छ । कसलाई कसले समय दिओस् ?

मैले सन् २००७ मा बूढाबूढीको एक्लोपनमाथि अध्ययन गरेको थिएँ । काठमाडौँका बाहुन, क्षत्री र नेवार वृद्धवृद्धामा गरिएको अध्ययनमा दुई तिहाईमा एक्लोपन बढेको निष्कर्ष निस्कियो । हजुरबुबा–आमा नातिनातिनासँग एकदमै नजिक भएर बसेका हुन्छन् । बच्चालाई पनि बाबुआमाभन्दा हजुरबुबा–आमा प्यारा हुन्छन् । तर, अहिले अंग्रेजी सिकाउनुपर्छ भनेर गाउँका बच्चालाई सहरमा राखिन्छ । सँगै भए पनि फोहोरी हुन्छन्, आधुनिक हुँदैनन् भन्ने भ्रमले हजुरबुबा–आमाबाट टाढा राखिन्छ । बिस्तारै त्यो क्रम बढ्दैछ । स्कुल लाने, ल्याउने, गृहकार्य गराउने सबै काम बाबुआमाले नै गरिदिन्छन् । नातिनातिनासँग दूरी बढेको बढ्यै । अर्कातिर, घरमा सबैसँग मोबाइल हुन्छ, जसको हातमा मोबाइल छैन, उसले एक्लो महसुस गर्छ । बूढाबूढीको सवालमा यही भएको हो । प्रविधिको यो सहज उपलब्धता र दुरुपयोगले एक्लोपनको समस्या घट्ने होइन, बढ्ने देखिन्छ ।

हिजोआज युवाहरूमा पार्टी, क्लबिङ धेरै भएजस्तो लाग्छ । तर, त्यहाँ बाहिरी वा देखावटी आनन्द मात्र मिलिरहेको हुन्छ । त्यस्ता पार्टीमा जानुभन्दा आफूलाई मन परेको एउटै मान्छेसँग समय बिताउनु बढी प्रीतिकर हुन सक्छ, एक्लोपन भाग्छ । पार्टी र क्लबमा औपचारिक वातावरण हुन्छ, पार्टी सकियो, सम्बन्ध सकियो । आत्मीयता हुन्न । बरु गाउँमा एक्लोपन तुलनात्मक रूपमा कम हुन्छ । गाउँमा आशा र महत्त्वाकांक्षा कम हुन्छ । भागदौड हुन्न । भ्रातृत्व हुन्छ । त्यसले व्यक्तिलाई एक्लो र निराश बनाउँदैन ।

कोही एक्लै खुसी हुन्छ, ‘मेरो बेस्ट फ्रेन्ड मै हुँ’ भन्छ र साँचो अर्थमा त्यही हो भने कुनै समस्या होइन । त्यो व्यक्तिको चाहना र स्वभाव हो । एक्लोपन आफूलाई अरूले वास्ता नगरेजस्तो हुनु हो । अरूको ध्यान तान्न खोज्नु मानवीय स्वभाव हो । समस्या पर्दा सबैको साथको अपेक्षा राख्छौँ । कहिलेकाहीँ कसैलाई दैनिक जीवनका अति सामान्य कुरा पनि सेयर गर्न मन लाग्छ । तर, त्यो माहोल मिलेन भने मन पोल्छ । त्यसैले सबैभन्दा राम्रो भनेकै सामाजिक कार्यमा सहभागी हुनु हो । धेरै मान्छेको संगतले ‘आइसोलेसन’ हुने सम्भावना नभएको होइन । तर, अर्काको कुरा सुन्ने र आºनो कुरा भन्दा फाइदा हुन्छ । आत्मविश्वास बढ्छ ।

जुन बच्चाले बल्ल परिवार चिनेको हुन्छ, समाज र साथीभाइ चिनेको हुन्छ । त्यही बच्चा एक्लोपनबाट प्रताडित हुनु गम्भीर कुरा हो । मान्छेले साथ खोजिरहेको छ तर व्यस्तता, महत्त्वाकांक्षा, तीव्र सहरीकरण र प्रविधिका कारण साथ र आत्मीयता अलप भइरहेको छ । सेलिब्रिटीहरू झन् भित्रभित्रै एक्लो हुन सक्छन् । जसको धेरै व्यावसायिक सम्बन्ध छ, उसलाई एक्लोपनले ज्यादा सताउन थाल्छ । कृत्रिम मुस्कानले घेरिएको सम्बन्ध टिक्दैन । त्यसैले हरेक व्यक्ति आफूसँग जोडिएका सम्बन्धप्रति जिम्मेवार र मायालु भइदिए एक्लोपन टाढा भाग्छ । किनभने, आफू अरूसँग नजिक हुँदा त्यो मान्छे पनि आफूसँग नजिक हुन्छ । अर्थात्, दुवैलाई एक्लोपन हटाउन मद्दत पुगिरहेको हुन्छ ।

(चालिसे बूढाबूढी विज्ञानविज्ञ हुन् ।)

यो पनि पढ्नुहोस् :

विशेष : एक्लोपनले गाँज्दैछ हामीलाई

 

प्रकाशित: भाद्र १२, २०७५