समसामयिक

विशेष : एक्लोपनले गाँज्दैछ हामीलाई

- गोकर्ण गौतम, काठमाडौं

अपार्टमेन्टमा पतिसँगै बस्छिन् ।

गैरसरकारी संस्थामा आकर्षक तलबसहितको जागिर छ । अफिसमा सबैले सम्मान गर्छन् । पतिसँगको सम्बन्ध न्यानो नै छ । छिट्टै बच्चा जन्माउने योजना बुनेका छन् । नपुग्दो केही छैन, बाहिरबाट हेर्दा । तर, मन भित्रभित्रै गुम्सिन्छ सधैँ । घरमा एक्लै हुँदा मात्र होइन, पतिसँग हुँदा पनि खल्लो लाग्छ । आफ्नो कोही छैन भन्ने भावना खेल्छ । न पतिलाई भन्न सक्छिन्, न  त आफन्तलाई । अति भएपछि एक दिन सुटुक्क मनोविज्ञकहाँ पुगिन् । लामो भलाकुसारीपछि मनोविज्ञले भनिदिए, ‘एक्लोपनको संकेत हो यो ।’ ‘कसरी ?’ आत्तिँदै सोधिन् । मनोविज्ञको जवाफ आयो, ‘दुनियाँले देख्ने सम्बन्ध धेरै छन् । तर, हृदयबाट तपाईंले कसैको साथ पाउनुभएको छैन वा पाएको महसुस गर्नुभएको छैन । यसो हुँदा रित्तोपनको आभास हुन्छ ।’

मनोविज्ञको कुरा ठीकै हो जस्तो लागेछ उनलाई । तीन महिना भयो, नियमित परामर्श लिइरहेकी छन् । “भौतिक रूपमा सम्पन्न छु । त्यसैले मलाई एक्लोपनको समस्या छ भन्नु हीनताबोध हुन्छ,” मनोविज्ञमार्फत सम्पर्कमा आएकी ती महिलाले भनिन्, “तर, एक्लोपनको सिकार भएका मजस्ता मान्छे प्रत्येक पल आफैँभित्र जलिरहेका हुन्छन् । यत्ति मात्र हो– अरूले देख्दैनन् ।” एक्लोपन आफ्ना लागि ‘साइलेन्ट किलर’ भएको बताउँछिन् ।

पति विदेश गएपछि दुई छोरीलाई अब्बल स्कुलमा पढाउन राजधानी बस्न थालिन्, अर्घाखाँचीकी रीता अधिकारी । सब ठीकठाक चल्दै थियो । एक दिन न्युरोडमा उनले केटा साथीलाई भेटेको कुरा सासूससुराकहाँ पुगेछ । अनेक शंका–उपशंका सुरु भयो । विदेशमा छोरालाई सुनाइदिए । उताबाट रीतालाई एकोहोरो गालीको वर्षा हुन थाल्यो । ‘परिवार बिगारिस्’ भनेर माइती पनि कराउन थाले । उनको गल्ती केही थिएन । तर, कसले बुझिदिने ? बह कहाँ पोख्ने ? चौतर्फी टोकेसोले छोरीहरूसँग समेत खुलेर कुरा गर्न नसक्ने भइन् । लाञ्छनाले छटपटी बढ्यो । एक्लोपनले सताउन थाल्यो । आमाका कारण छोरीहरूमा पनि त्यस्तै समस्या देखापर्न थाल्यो । केही समयपछि आफन्तको सहयोगमा मनोपरामर्शदाताकहाँ पुगिन् । मनोविज्ञले निष्कर्ष सुनाए, ‘एक्लोपन डिप्रेसनको चरणमा पुगिसकेको छ ।’ अहिले रीता नियमित औषधी सेवन र परामर्श लिइरहेकी छन् ।

असार अन्तिम साता वरिष्ठ मनोविज्ञ पशुपति महतकहाँ एक शिक्षित र सम्पन्न दम्पती आत्तिँदै आइपुगे, १२ कक्षा पास गरेको छोरो लिएर । समस्या सुनाए, ‘छोरो एक्लैएक्लै बस्छ । हामीसँग बोल्दैन ।’ बुझ्दै जाँदा महतले थाहा पाए, १ कक्षादेखि होस्टेलमा राखेको छोरालाई भर्खर घर ल्याएका रहेछन् । सोही कारण अभिभावक र परिवारसँग छोराले अपनत्व र आत्मीयता महसुस गर्न सकेनन् । उनले होस्टेलको माहोल र साथीभाइ ‘मिस’ गरिरहे । कोठामा धुमधुम्ती एक्लै बस्न थाले । “बल्लबल्ल घरमा ल्याएको छोराको व्यवहारले आमाबाबु तनावमा थिए । छोरा एक्लोपनबाट पिल्सिरहेका थिए, बोल्नसमेत डराउँथे,” यस प्रकृतिका दर्जनौँ घटना हेरेका महत भन्छन्, “गल्तीचाहिँ आमाबाबुकै हो । बच्चाका लागि पढाइभन्दा अभिभावकको साथ प्रिय हुन्छ ।” छोरालाई मात्र होइन, आमाबाबुलाई पनि नियमित परामर्श दिइरहेका छन् महत ।

फरक आयामका यी तीन उदाहरणले देखाउँछ, हाम्रो समाजमा एक्लोपनले कुन तह र आकारमा जरा गाडिरहेको छ ? बच्चा आमाबाबुको प्रत्यक्ष साथ नपाएर, युवायुवती आफू अनुकूलको माहोल र संगी नमिलेर, वृद्धवृद्धा सन्तानबाट टाढा भएर, अधबैंसे र वयस्कहरू एकोहोरो सफलताको पछि दौडिएर । हरेक उमेर समूह एक्लोपनबाट प्रताडित छ ।

मनोविज्ञका अनुसार आमाले पर्याप्त समय नदिएकाले दूधे बच्चामा समेत एक्लोपन देखिन थालेको छ । गरिबी, राजनीतिक अस्थिरता, बेरोजगारीले ठूलो समूहमा एकैसाथ पैदा गर्ने एक्लोपन त छँदैछ, प्रवासी कामदारका पत्नी सबैभन्दा बढी पिरोलिएका छन् । सेन्टर फर मेन्टल हेल्थ एन्ड काउन्सिलिङ (सीएमसी) नेपालमा आबद्ध वरिष्ठ परामर्शदाता महत भन्छन्, “एक्लोपनबाट पीडित भएर हामीकहाँ आइपुग्नेमध्ये ८० प्रतिशत महिलाका श्रीमान् विदेशमा हुन्छन् ।”

धन कमाउन पति विदेश जान्छन्, यता पत्नीको मन बेचैन हुन्छ । घर बन्ला तर परिवार बिग्रिसकेको हुन्छ । सम्बन्धविच्छेद भएर एक्लोपनको सिकार भएका महिला त्यत्तिकै छन्, जो सामाजिक संरचना र सोचका कारण भित्रभित्रै लघुताभास गरिरहेका हुन्छन् । अरू त अरू, लोभलाग्दो करिअर चुमेका सेलिब्रिटीसमेत एक्लोपनबाट अछूतो छैनन् । चर्चामै रहेकी एक हिरोइनले नेपालसँग सुनाइन्, “बनावटी मुस्कान र सम्बन्धले भित्रभित्रै एकदम खोक्रो बनाइरहेको हुन्छ । कहिलेकाहीँ त यो भीडबाट भागौँजस्तो लाग्छ ।” विडम्बना † अधिकांशलाई एक्लोपन मनोवैज्ञानिक समस्या हो भन्ने ज्ञानसमेत छैन । न सरोकारवाला निकायले यसलाई गम्भीरतापूर्वक लिएको छ ।

विकसित देशका नागरिक खुसी हुन्छन्, सुखी हुन्छन् । एक्लोपन वा अन्य मानसिक उल्झन हुन्नजस्तो लाग्छ तर त्यसो होइन । सत्य त, हामीकहाँ भन्दा पश्चिमी समाजमा एक्लोपन विकराल बनिरहेको छ । त्यसकै प्रमाण हो, यही वर्ष बेलायतले ‘मिनिस्टर फर लोन्लिनेस’ नियुक्त गर्नु । बिटल्सले ‘अल द लोन्ली पिपल...’ गाएको आधा शताब्दीपछि बेलायतले एक्लोपन मन्त्रालय अपरिहार्य ठानेको हो । यहाँको कुल जनसंख्याको १४ प्रतिशत एक्लोपनबाट प्रताडित छन् । मन्त्रालय बनाएपछि संसारको ध्यान बेलायततिर तानियो । न्युयोर्क टाइम्सले आºना पाठकलाई सोध्यो नै, ‘तपाईं पनि आºनो देशमा एक्लोपन मन्त्रालयको खाँचो देख्नुहुन्छ ?’ यही प्रश्न नेपालले त्रिवि शिक्षण अस्पतालका मानसिक विभाग प्रमुख प्राडा सरोज ओझालाई सोधेको थियो । “अहिले नै त आवश्यक देखिन्न । पश्चिमा देशभन्दा हामीकहाँ सामाजिक, पारिवारिक र व्यक्तिगत सम्बन्ध सुमधुर छ,” ओझा भन्छन्, “तर, अहिले बेलायतमा मन्त्रालय खोल्दा हामीलाई अचम्म लागेको छ । बेलैमा व्यवस्थापन गरिएन भने भोलि हामीकहाँ पनि त्यही अवस्था आउन सक्छ ।”

ठूलो समूह प्रभावित भए पनि नेपालमा एक्लोपनबारे विशिष्टीकृत अध्ययन भएको पाइन्न । छिमेकी भारतको एउटा उदाहरणले हामीकहाँ विद्यमान एक्लोपनको अन्दाज गर्न सकिन्छ । भारतमा सूचना–प्रविधिका विद्यार्थीले एउटा इमोसनल नेटवर्किङ साइट बनाएका छन्, सेयरिङ दर्द डटकम । त्यसमा एक दिनमा झन्डै ४६ हजार पटक ‘आई एम लोन्ली’ भन्ने वाक्य सर्च गरिन्छ । जसको अर्थ हो– मानिस करिअर, सूचना, मनोरञ्जन, प्रविधिको भागदौडमा छन् । परिवार, आफन्त, सम्बन्ध, समाज र आफैँबाट टाढा हुँदैछन् । फलत: एक्लोपनको जालो फैलिरहेको छ ।

भौतिक सुविधा र सुखसयल प्रदान गर्ने साधन थपिँदै गएका छन् । मानसिक अस्पताल पाटनमा भेटिएका एक अधबैंसेले सुनाए, “घरसम्पत्ति, सफलता, सुख, मोजमस्ती सबै छ । तर, सँगै साथ दिने आफ्नो मान्छे छैन । धन छ तर मन रित्तो ।” विज्ञहरूले दाबी गर्न थालेका छन्– आउँदा दिनमा मान्छे सबैभन्दा बढी पीडित हुने भनेकै एक्लोपनले हो । एक्लोपनका अध्येता होमनाथ चालिसे भन्छन्, “आफन्तको साथ जति ठूलो आत्मसन्तुष्टि कुनै भौतिक साधनले दिन सक्दैन । तर, त्यहीँ साथ हराइरहेको छ ।”

इन्टरनेट अभिशाप !

समयसँगै सभ्य र सुसस्कृत भयौँ होला । तर, व्यावहारिक सम्बन्ध फितलो हुँदै गएको छ, आत्मीयता खल्बलिएको छ । हरेक मान्छे चारैतिर घेरिएको हुन्छ । तर, परेका बेला साथ दिने कोही हुन्न । जब व्यक्तिलाई यही आभास हुन्छ वा भोग्नुपर्छ, तब एक्लोपनको भुमरीमा परिहालिन्छ । हामी इन्टरनेटबिनाको दैनिकी कल्पना गर्न नसक्ने भएका छौँ । तर, विभिन्न अध्ययनले इन्टरनेटले मान्छेलाई कृत्रिम बनाइरहेको देखाएको छ । इन्टरनेटको सहारामा कहाँ, के भइरहेको छ, सबै जानकारी लिन आतुर हुन्छौँ । आफू अगाडि हुने होड छ । तर, त्यसले व्यक्तिको जीवनमा खास अर्थ राख्दैन । न भौतिक सहयोग नै मिल्छ । जस्तो : ‘बिरामी छु’ भनेर फेसबुकमा फोटो हाल्यो भने सयौँले शीघ्र स्वास्थ्यलाभको कामना गर्छन् । तर, अस्पतालको बेडमा कुरुवा बस्न कोही आउँदैनन् । सधैँ भर्चुअल सम्बन्धले काम गर्दैन, वास्तविक जीवनमा उपस्थिति खोज्छ । मनोचिकित्सक ओझा भन्छन्, “यस्तो परिस्थितिमा एक्लोपनले अझ गाँज्छ । छैन भनुँ भने सबै छन् जस्तो लाग्छ । छन् भनुँ भने आºनो साथमा कोही हुन्नन् । हेर्नुस्, कस्तो नियति †”

झट्ट हेर्दा लाग्छ, इन्टरनेट एकअर्कालाई जोड्ने प्रभावकारी माध्यम हो । फेसबुकलाई त हामी वरदान नै ठान्छौँ । तर, यथार्थपरक विश्लेषण गर्ने हो भने फेसबुक वा अन्य सामाजिक सञ्जाल व्यक्ति–व्यक्तिको भौतिक उपस्थितिको बाधक बनिरहेको छ । केही वर्षअघिसम्म फुर्सद हुँदा फोन गरेर साथीभाइ भेट्न बोलाइन्थ्यो, घुम्न गइन्थ्यो । शारीरिक निकटताले मनोवैज्ञानिक तनाव भुलिन्थ्यो । तर, हिजोआज थोरै समय पाइयो भने पनि ल्यापटप र मोबाइल चलाउन हतारो हुन्छ । बल्लतल्ल भेट हुँदा पनि मोबाइलमै झुन्डिन्छौँ । जबकि, सामाजिक सञ्जालबाट प्राप्त हुने भनेको त देखावटी आत्मीयता मात्र हो । बरु अधिक प्रयोगले व्यक्तिलाई असामाजिक, एक्लोपन र अरूभन्दा अलग छु भन्ने गलत भाव जगाइदिन्छ । बच्चालाई मोबाइल र इन्टरनेटमा भुलाएर आफू काममा लाग्ने अभिभावक उत्तिकै छन् । बालमनोविज्ञ बन्दना शर्मा भन्छिन्, “यस्तो प्रवृत्तिले बच्चा मात्र होइन, जुनसुकै उमेर समूहमा एक्लोपन र डिप्रेसन हुन सक्छ । सामाजिक सञ्जालको सन्तुलित प्रयोग यो समयको सबैभन्दा ठूलो चुनौती हो ।” एक्लोपनसँगै हरेक मनोवैज्ञानिक समस्याका लागि इन्टरनेटको लत प्रमुख कारक बनिरहेको छ । शर्माको सुझाव छ, “फेसबुक चलाएर एक्लोपन हट्दैन । बरु थप कमजोर बनाउँछ । त्यसैले साथीभाइ र इष्टमित्रलाई प्रत्यक्ष भेट्नैपर्छ ।”

ओखती अंकमाल

उच्च शिक्षाका लागि सुर्खेतबाट काठमाडौँ आए, सविन अधिकारी, २३ । नयाँ ठाउँमा चिनेजानेका कोही थिएनन् । परिवारको खुब नियास्रो लाग्थ्यो । उसै त अन्तर्मुखी स्वभाव, झन् एक्लै–एक्लै बस्न थाले । सविनलाई सुरुमा लागेको थियो, केही समयपछि सबै ठीक हुन्छ । तर, एक्लोपनले थप सताउन थाल्यो । यतिसम्म कि पढाइमै बाधा पुग्यो, शरीर सुक्न थाल्यो । सविन भन्छन्, “एक्लोपनले के नै हुन्छ र, त्यत्तिकै आफैँ हराउला भनेर हेलचेक्र्याइँ गरेँ । तर, म मानसिक मात्र होइन, शारीरिक रूपमा समेत शिथिल भइसकेको रहेछु ।” केही हप्ताको परामर्शपछि उनी तन्दुरुस्त भए ।

एक्लोपनलाई अति सामान्य रूपमा लिने चलन छ, नेपाली समाजमा । समयमै पहिचान र समाधान गर्न सकिएन भने एक्लोपन चरम पीडादायी पनि हुन सक्छ । मानसिक अस्पताल, पाटनका वरिष्ठ मनोचिकित्सक डा पवन शर्मा भन्छन्, “एक्लोपन आफैँमा डिप्रेसन होइन । तर, लामो समय एक्लोपनको सिकार भएपछि डिप्रेसनमा फस्छ । डिप्रेसनले आत्महत्यासम्म पुर्‍याउन सक्छ ।”

विदेशमा भएका अध्ययनले एक्लोपन अझ घातक हुने देखाएको छ । अमेरिकाका सर्जन जनरल विवेक मुर्थीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ, ‘एक्लोपनले त्यति नै आयु घटाउँछ, जति दैनिक १५ खिल्ली चुरोट सेवन गर्दा घट्छ ।’ अमेरिकामै क्लोज रिलेसनसिप एन्ड हेल्थ ल्याबले रगत परीक्षणमार्फत अघिल्लो वर्ष गरेको अनुसन्धानमा एक्लोपनले मुटु र बाथ रोगमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । ब्रिटिस रोयल कलेज अफ जनरल प्राक्टिसनर्सले भनेकै छ, ‘एक्लोपन मधुमेहजस्तै खतरनाक रोग हो । यसबाट पनि उत्तिकै मान्छेको मृत्यु हुन्छ, जति मधुमेहबाट हुन्छ । एक्लोपनले हाम्रो सोच्ने–सम्झिने शक्तिलाई परास्त गर्दै लैजान्छ । रोगसँग लड्ने क्षमतामा ह्रास ल्याउँछ ।’ त्यसैले पश्चिमी समाजका विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन्, एक्लोपन महामारी त होइन ?

हाम्रो सन्दर्भ अलिक भिन्न छ । महामारी भइनसके पनि एक्लोपनलाई गम्भीर रूपमा लिनुपर्ने बेला आइसकेको छ । सामाजिक गतिविधि बढाइएन अनि रोजगार, शिक्षा, स्वास्थ्यको समुचित व्यवस्था मिलाइएन भने भोलि पूरा पुस्तालाई नै एक्लोपनले सताउने चेतावनी दिन्छन् विज्ञहरू । त्रिवि शिक्षण अस्पतालका मानसिक विभाग प्रमुख प्राडा ओझा विदेशमा हूल बाँधेर काम गर्न जाने बाध्यता रहुन्जेल हामीकहाँ एक्लोपन वा अन्य मानसिक समस्या ज्यूँका त्यूँ रहने चिन्ता व्यक्त गर्छन् ।

यो त भयो, राज्यले गहनतापूर्वक समाधान गर्नुपर्ने विषय । जोसँग एक्लोपन मात्र होइन, अन्य सामाजिक/राजनीतिक संरचना जोडिएका छन् । त्यसो भए, एक्लोपनलाई परास्त गर्न व्यक्ति आफैँले चाहिँ के गर्न सकिन्छ ? जसको आयतन साँघुरो भए पनि प्रभावकारी हुन्छ । सबभन्दा फलदायी उपाय भनेकै आºना प्रियजनसँग प्रत्यक्ष साक्षात्कार हो । आत्मीयता आभास हुने किसिमको शारीरिक निकटता हो । बुझ्ने भाषामा भन्दा, अंकमाल अर्थात्, एक्लोपन भगाउने अर्गानिक ओखती । मनोविद् महत प्रश्न गर्छन्, “के तपाईंले आज आºना सन्तान र साथीभाइलाई अँगालो हाल्नुभयो ?”

एक्लो र एक्लोपन

सुन्दा उस्तै लागे पनि एक्लो हुनु र एक्लोपन महसुस गर्नु नितान्त अलग हुन् । एक्लोपन कसैको रोजाइ हुन्न, नचाहँदा–नचाहँदै वा थाहै नपाई झेल्नुपर्छ । तर, कोही चाहेर एक्लै बसेको हुन सक्छ । एक्लोपनले भित्रभित्रै जलाउँछ, बेचैनी पैदा गर्छ । एक्लै बस्दा मन आनन्द हुन सक्छ, मस्तिष्क शान्त हुन सक्छ । सिर्जनशील मान्छेलाई त एक्लै बस्नु अझ प्रीतिकर हुन सक्छ । नयाँ–नयाँ सोचको बीजारोपण हुन्छ । अमेरिकी लेखिका एनेली रुफसले पार्टी अफ वन : द लोनर्स मेनिफेस्टोमा लेख्छिन्, ‘एक्लै रहनुका धेरै फाइदा छन् । एक्लै रहँदा तपाईं आफैँमा केन्द्रित हुन सक्नुहुन्छ । सिर्जनशीलता पनि बढ्छ । अनेकथरी मान्छेसँग भेटेर दिन बिताउनुभन्दा एक्लै रहनु धेरै राम्रो ।’

यसको मतलब बाहिर घुम्दा, मान्छेहरूको भीडमा हुँदा, व्यस्त हुँदा, पार्टी गर्दा एक्लोपन भाग्छ । वा, घरमा एक्लै धुमधुम्ती बस्दा एक्लो आभास हुन्छ भन्ने होइन । जब आफ्नो कोही छैन भन्ने महसुस हुन्छ, तब एक्लोपनले गिजोल्छ । जबकि, रोजाइले एक्लै बस्दा रमाउन सकिन्छ ।

संकुचित सोच

पेट दुख्दा हतारिँदै चिकित्सककहाँ पुगिन्छ । मनमा छटपटी र तनाव हुनु पनि समस्या हो । तर, हामीकहाँ न आफू मानसिक रूपमा कमजोर भएको बेलैमा चाल पाइन्छ, न त चाल पाएर पनि परामर्शदातासँग पुगिहालिन्छ । मनोविज्ञ र मनोचिकित्सकसँग ‘पागल’ ले मात्र उपचार गर्छन् भन्ने गलत सोच अझ व्याप्त छ । समय घर्किसक्छ, संक्रमण विकराल बनिसक्छ अनि मात्र आत्तिँदै परामर्शदातासम्म पुग्छन् । वरिष्ठ मनोविज्ञ पशुपति महत भन्छन्, “मनोविज्ञलाई भेट्नै सरम मान्ने भएकाले पनि मानसिक रोगको आयतन बढिरहेको छ । एक्लोपनको हकमा पनि यही हो ।” मानसिक अस्वस्थतालाई लाज वा धकको विषय बनाइनु विडम्बना होइन र !

जति पढेलेखेको होस्, आफन्तलाई समेत आफूले मनोवैज्ञानिक तनाव झेलिरहेको भन्न अप्ठेरो मान्छौँ हामी । मनोविज्ञलाई भेट्दा अरू कसैले थाहा नपाऊन् भनेर अनावश्यक सतर्क हुन्छन् । यो भित्रभित्रै आफूलाई गुम्साउनु हो । मनोविज्ञका अनुसार सामान्य समस्या भएकाले पनि आफ्नो परिचय खुलाउन हिच्किचाउँछन्, एकदमै गोपनीयता खोज्छन् । सकेसम्म प्रत्यक्ष भेटेर कुरा गर्न नपाए हुन्थ्यो जस्तो गर्छन् । जबकि, मानसिक समस्या पनि प्राकृतिक हो, अन्य शारीरिक दुर्बलताजस्तै । यो आधारभूत चेतना नहुँदा मानसिक रोगले समाजमा जरा गाडेको विज्ञहरूको अनुभव छ । मानसिक अस्पताल, पाटनका मनोचिकित्सक पवन शर्मा भन्छन्, “समयमै सम्पर्क गर्दा परामर्शबाटै समाधान हुन्छ । ढिलो गर्दा औषधीले पनि निको पार्न मुस्किल पर्छ ।”

प्रकाशित: भाद्र १२, २०७५