खेलकुद

एसियाडमा निराश

- पवन आचार्य, काठमाडौं

नेपाली खेलाडीका लागि एसियाली खेलकुदमा सहभागिता जनाउनु भनेकै पदक जितेसरह हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता नै अत्यन्त न्यून छ । त्यसैले १८औँ एसियाडमा हामी उनीहरूलाई एक्सपोजर दिन्छौँ ।” नेपाली खेलकुदको सर्वोच्च प्रशासनिक निकाय राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले इन्डोनेसियामा जारी एसियाडमा सहभागी हुने खेलाडी र पदाधिकारीको बिदाइपछि आयोजित पत्रकार सम्मेलनमा पदकभन्दा बढी सहभागितामा जोड दिएका थिए । उनै विष्टले केही दिनअघि कम्तीमा २ रजत र आधा दर्जन कास्य नेपालको लक्ष्य रहेको बताएका थिए ।

नेपाली खेलकुद हाँक्नेको दूरदर्शिता बुझ्न धेरै टाढा जानैपर्दैन । नेपालले सहभागिता जनाएको २९ मध्ये उसु, तेक्वान्दो, फुटबल, सुटिङ, कबड्डी, साइक्लिङ, लनटेनिस, पेजनाक सिलात गरी ८ खेलमा पदकको आशा समाप्त भइसकेको छ । नेपाललाई एसियाडमा सर्वाधिक पदक दिलाउने तेक्वान्दो नै लगातार तेस्रो प्रतियोगितामा पदकविहीन बन्यो ।

तेक्वान्दोका प्रशिक्षक दीपक विष्टका अनुसार पदकको आश गरिएका खेललाई प्राथमिकतामा राखेर खेलाडीमा लगानी नबढाएसम्म पदकको आश गर्नु बेकार हो । भन्छन्, “चार वर्षमा हुने एसियाडमा हामी ३ वर्ष ९ महिना सुत्छौँ । तीनमहिने प्रशिक्षणले एसियाली स्तरमा त होइन, दक्षिण एसियाली खेलकुदमा पनि पदक जित्न मुस्किल छ ।”

एसियाडमा १२ वर्षमा एउटै पदक जित्न नसक्नुका पछाडि नेपालको स्तर नउकासिनु प्रमुख मान्छन् उनी । विष्ट थप्छन्, “हामी अझै पनि पहिलेकै अवस्थामा छौँ । अन्य देशले पदकका लागि लगानी बढाए र आफूलाई बलियो तुल्याइसके । तेक्वान्दोमा पनि अहिले प्रतिस्पर्धा निकै कठिन हुन थालेको छ । हामीले आफूलाई सुधार्न सकेका छैनौँ ।” उनले तेक्वान्दोबाट यसपटक पदक दिलाउन नसकेकामा माफीसमेत मागेका छन् ।

नेपालले ठूला प्रतियोगितामा पदक जित्न नसक्नुका पछाडि हामीकहाँ व्याप्त पञ्चायती कार्यशैली हो । खेलकुद विज्ञान र अनुसन्धानबाट खेलिन्छ भन्ने बुझाउनै सकिएको छैन । खेल विश्लेषक प्रकाश तिमल्सिनाका अनुसार खेलाडीको भाग्यको भरमा सधैँ पदक प्राप्त हुन्न भनेर खेलकुदको डाडु–पन्यू समाएकाहरूले बुझेका छैनन् ।

अन्तर्राष्ट्रिय सहभागिताअघि नेपालले सधैँ अन्तिम समयमा मात्रै आफ्नो तयारी गर्ने गरेको छ । तिमल्सिना भन्छन्, “हामी आफ्नो तयारी पनि निकै पछि मात्र सुरु गर्छौं । आफ्ना प्रतिद्वन्द्वीले के–कस्तो तयारी गरेका छन् भनेर कहिल्यै बुझ्ने प्रयास नै गर्दैनौँ ।”

हुन पनि दक्षिण एसियाली स्तरका प्रतिद्वन्द्वीबारे हाम्रा खेलाडी, प्रशिक्षक र खेलअधिकारीहरू बेखबर छन् । यस्तोमा एसियाली स्तरमा पदक जितिएन भन्नु नै बेकार ठान्छन् तिमल्सिना । खेलअधिकारीहरू पनि एकाध खेललाई लिएर बढी नै आशावादी छन् । पूर्वाधार, सुविधा र तयारीको मापदण्ड पूरा नगर्ने तर अपेक्षाको भारी बोकाउँदा खेलाडीहरू त्यसले नै थिचिने गरेका छन् । अनि, उनीहरूको प्रदर्शन सन्तोषजनक नहुनु स्वाभाविक हो । निम्छरो तयारीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुल्न मात्र काम लाग्छ, पदक जित्न होइन ।

खेलाडीका लागि ठूला प्रतियोगिताको अघिल्तिर राखिने बन्दसत्रले खासै प्रभाव पारेको देखिँदैन । पहिल्यै समयतालिका घोषणा भइसकेका खेल प्रतियोगिताका लागिसमेत तयारी गर्न कञ्जुस्याइँ गर्दा पदक जित्नु त परको कुरा, राष्ट्रिय कीर्तिमानमा समेत सुधार आउन गाह्रो हुने कराँतेका प्रशिक्षक दीपक श्रेष्ठ सुनाउँछन् ।

यसपटक नेपालले अहिलेसम्मकै सबैभन्दा बढी २९ खेलमा सहभागिता जनायो, जकार्ता एसियाडमा । यीमध्ये राखेपका अनुसार पदकको आश गरिएका खेल तेक्वान्दो, कराँते, बक्सिङ र पाराग्लाइडिङ हो । अन्यमा प्रदर्शन सुधार र खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव बटुल्न मात्रै जकार्ता लगिएको हो ।

सहभागिता जनाउने खेल छान्ने क्रममा पनि निश्चित मापदण्ड नबनाइएको पाइएको छ । पार्टी निकट खेल संघ, व्यक्तिगत चिनजान । अन्तर्राष्ट्रिय निकटताका आधारमा धेरै खेलमा यसपटक नेपालले सहभागिता जनाउने निर्णय गरेको छ । अनिवार्य गरिएका खेल र पदकको सम्भावना भएका खेललाई प्राथमिकता दिनुपर्नेमा चिनजानका संघलाई समेत मौका दिइयो यसपटक ।

नेपालमा सम्भावना नरहेका र कम खेलिने विभिन्न खेलका खेलाडी पनि यसपटक इन्डोनेसिया पुगे । नेपाल पहिलोपटक सहभागी पेनाक सिलातबाट जकार्तामा पदकको आशा तुहिइसकेको छ । नेपालमा लोकप्रिय रहेका खेललाई समेत पाखा लगाएर संख्या थप्दा त्यसको प्रत्यक्ष मारमा अन्य सम्भावना बोकेका खेल परेका छन् । दक्षिण एसियाली स्तरमा राम्रो गरेका खेललाई एसियाडमा प्राथमिकता दिनुपर्नेमा त्यसो हुन नसकेको तेक्वान्दोका प्रशिक्षक विष्ट स्वीकार्छन् ।

१८औँ एसियाडमा नेपाली खेलाडी पदक भित्र्याउन असफल भए पनि केहीले राष्ट्रिय कीर्तिमान बनाएर घाउमा मलहम लगाउने काम गरेका छन् । दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदक विजेता कमलबहादुर अधिकारीले भारोत्तोलनको ६९ केजी तौल समूहमा तीन राष्ट्रिय कीर्तिमान बनाए । एसियाडको मार्चपासमा नेपालको झन्डा बोकेका कमलले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा तीन राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

कमलले स्न्याचमा १ सय १९, क्लिन एन्ड जर्कमा १ सय ६० केजी तौल गरी कुल २ सय ७९ तौल वहन गर्दै राष्ट्रिय कीर्तिमान बनाए । आफ्नै नामको कीर्तिमान भंग गरे पनि कमल समग्रमा छैटौँ स्थानमा रहे । यसअघि भारोत्तोलनतर्फ नै नेपालकी सञ्जु चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एन्ड जर्कमा ८६ केजी गरी कुल १ सय ५८ केजी तौल वहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । 

पदक जित्न जुन स्तरको तयारी नेपालले गर्नुपथ्र्यो, त्यसमा यसपटक टोली पूरै चुकेको छ । एसियाड सुरु हुनु केही अगाडि मात्रै आन्तरिक प्रशिक्षण र वैदेशिक प्रशिक्षण गरेर पदकको आश गर्नु पूर्णत: बेकार हो । चारवर्षे अवधिमा कुन–कुन खेलको वर्गीकरण भयो, कहाँ–कहाँ सहभागिता जनाइयो भनेर लेखाजोखा गर्ने बेला आइसकेको छ । खेलमा स्पर्धा गर्नेबित्तिकै पदकको आश गर्ने मानसिकता नेपाली खेलकुद पदाधिकारीले त्याग्नु उत्तिकै जरुरी छ ।

राखेप सदस्यसचिव विष्टले आफ्नो कार्यकाल सुरु गर्दा त्यो स्वर्णकाल हुने दाबी गरेका थिए । कार्यकालको अन्त्यतिर आउँदा उनले ०७५ लाई स्वर्णिम बनाउने बताए । एसियाडअघि उनले घटीमा २ रजत र आधा दर्जन कास्यको दाबी गरेका थिए । पदक खेलाडीले मैदानमा भिडेर ल्याउने हो ।  योजना निर्माणले मात्रै ल्याउन नसक्ने बोध राखेप नेतृत्वले गर्ने बेला आइसकेको छ । सहभागिताको संख्या बढाएर मात्रै पदक आउने भए घरेलु भूमिमा भएको प्रतियोगितामा इन्डोनेसियाले १८औँ एसियाडको पदक तालिकामा आफूलाई शीर्ष स्थानमा राख्नुपथ्र्यो । तर, तालिकामा मुलुकभन्दा कम खेलमा सहभागिता जनाएको चीनले शीर्षता जोगाएर राखेको छ ।

यो पनि पढ्नुहोस् :

१८ औँ एसियाड : भिजन 0

 

प्रकाशित: भाद्र १०, २०७५