ब्लग

[नोटबुक] निजामती अस्पतालको त्यो शैली

- माधव बस्नेत, काठमाडौं

दृश्य निजामती अस्पताल मीनभवनको हो । २९ साउनको बिहान परिवारै अस्पताल पुगेका थियौँ । ९:०५ तिर सर्वसाधारण हस्याङफस्याङ गर्दै सोधपुछ कक्षमा आइपुगे । त्यहाँ एक किशोरी लोसे शैलीमा कम्प्युटर चलाउँदै थिइन् । ती व्यक्तिले उनलाई टिकट लिने लाइन, समय र स्थानबारे जिज्ञासा राखे । सुरुमा नसुनेझैँ गरेकी किशोरीले झिँज्याउँदै भनिन्, “साढे ९ बजेबाट लाइन यहीँ लाग्छ ।”

उनीहरुको संवाद सुनिरहेको थिएँ । तर, मलाई पनि थाहा थिएन, टिकटका लागि टोकन लिने समय ९ बजे नै समाप्त हुन्छ । तिनले ६ नम्बर काउन्टरमा गएर बुझे । बढी पैसा तिर्ने हो भने ११ बजेबाट पाइने, नत्र ३ बजेपछि मात्र सर्वसाधारणका लागि पुन: टोकन खुल्ने जानकारी भयो । यसपछि सोधपुछ कक्षकी युवतीलाई सोधेँ, “तपाईंले किन गलत सूचना दिनुभएको ?” उनले जवाफ दिइनन् । दोहोर्‍याएँ, “चेली, तपार्इंले किन सही सूचना नदिनु भएको ?’ रुखो शैलीमा बोलिन् । घटना विवरण दोहोर्‍याएँ । उत्तर दिइन्, ‘मैले त्यो भनेँ र ? त्यसो भए भुलेँ होला ।’ अरु बोल्नु जरुरी थिएन । त्यही साँझ नेतृ रामकुमारी झाक्रीले समेत निजामती अस्पतालको लापरबाहीबारे फेसबुकमा गुनासो पोखिन् । यसपछि सोचेँ, यो अस्पताल प्रशासनमा सही ठाउँमा सही पात्र छैनन् ।

पहुँच नभए केही नहुने ?

यो सवाल पनि निजामती अस्पतालकै हो । भलै, राज्यका सबै संयन्त्र यस्तै रोगले आक्रान्त छन् । निजामती अस्पतालमा दोस्रो दृश्य जुन देखियो, त्यो झन् विरक्तलाग्दो थियो । ‘ठूलाबडा’, पहुँचमा रहेकाले भनसुन नगरिदिए राम्रो जाँच, उपचार, काम नहुने सोचले हर नागरिकलाई गाँजिरहेको छ पाइला–पाइलामा । त्यस अस्पतालमा उपचारमा जानेहरुले कहीँ न कहीँ, कसै न कसैलाई भनसुन गराउन दौडधूप गर्दा रहेछन् । डाक्टर, नर्स, अस्पताल प्रशासन वा यी तहमा कोही छैनन् भने सुरक्षागार्डमार्फत भए पनि ‘ज्याक’ लगाउने परम्परा विकास भइसकेको रहेछ ।

कुनै भनसुन नलगाई गएको म ‘बबुरो’ ले यस्तो अवस्था देख्दा नाभी कटक्क पोल्यो । राज्यमा पाँच–सात प्रतिशत नागरिक यस्ता हुन्छन्, जो जतिसुकै ठूलो ओहदामा पुगून् वा सडकपेटीमै, आफ्नो पहुँच वा रवाफ नदेखाई ‘सिस्टम’ बाट काम लिन चाहन्छन् । तर, जब सिस्टम नै भताभुंग भइसकेको हुन्छ, त्यसबेला नाभी दुखाउनुबाहेक विकल्प के पो रहन्छ र !

टोकनमा समेत झेल

३० साउन बिहानै ‘होल बडी’ परीक्षण गराउन टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगियो । परीक्षणको नमुना संकलन बिहान ८ देखि १ बजेसम्म र त्यसका लागि ७ बजेबाट टोकन वितरण हुने सूचना रहेछ । ६:५० मा पुग्दा छाउनी घर बताउने एक युवा भर्खरै आइपुगेका थिए । ‘दोस्रो भइयो । आफैँ मात्र पहिले बन्ने हाम्रो चरित्र अनुसार पालो छिट्टो आउने भयो’ भनेर खुसी लाग्यो । सोधपुछपछि एक व्यक्तिले टोकन लिने ठाउँ देखाइदिए । छाउनीका युवाले ६३ र मैले ६४ नम्बरको टोकन लिएँ ।

 जसै ८:०५ मा काउन्टर खुल्यो । एउटा टोकन लिएका केही र हातभरि टोकन बोकेका केही मान्छे आइपुगे । हुँदो रहेछ के भने, परीक्षणमा जानेहरुले स्वास्थ्य सेवा परिसरभित्रै बस्ने वा नजिकै होटल गर्नेलाई बिहानै टोकन लिइदिन आग्रह गर्दा रहेछन् । उनीहरुले अघिल्लै साँझ वा बिहानै ५० भन्दा बढी टोकन लिँदा रहेछन् । टोकन लिइदिएबापत ५०/१०० रुपियाँ हात पार्दा रहेछन् । प्रविधि आफैँले झेल गर्दैन, मानिसको नियत खराब नहुन्जेलसम्म । बाहिरका कुर्सी पनि बस्नै नमिल्ने छन् । धत् ! हाम्रो सेवा प्रणाली ।

प्रकाशित: भाद्र ६, २०७५