स्मरण

[स्मरण] बीपीले दिमाग भुटे

- वैरागी काइँला, काठमाडौं

पहिलो आमनिर्वाचन, ०१५ को प्रचारका क्रममा दार्जिलिङ पुगेका थिए विश्वेश्वरप्रसाद कोइराला । त्यसबेला इलाम, पाँचथर, ताप्लेजुङलगायतका पहाडी जिल्ला जान दार्जिलिङबाट पशुपतिनगर हुँदै नेपाल पस्नुपथ्र्यो । र, उनको सम्मानमा स्थानीय सबै संघसंस्था मिलेर जीडीएनएसको हलमा एउटा बृहत् सभा आयोजना गरिएको थियो । यसका अगुवामध्ये एक थिए, अगमसिंह गिरी ।

दार्जिलिङको नेपाली साहित्य सम्मेलनले धेरै अगाडि कोइरालाको दोषी चस्मा  छापिसकेको थियो । उनी विश्व साहित्यमा आएको परिवर्तन र नवीनतम प्रवृत्तिबारे जानकार भएको हामीलाई प्रस्ट भयो । बीपीले त्यहाँ आधुनिक साहित्यको परिभाषा दिए, अत्याधुनिक साहित्यको भाषा, शैली र प्रवृत्तिमाथि गहकिला कुरा बोले ।

उनले आफ्नो अभिभाषणमा अस्तित्ववाद र विसंगतिवादका कुरा गर्दै केही वर्षअघि नोबेल पुरस्कार पाएको अल्बेयर कामुको प्लेग  र स्ट्रान्जर  उपन्यास अनि सात्र्रहरूको चर्चा गरे । गिनेचुनेकाबाहेक नेपालकै पनि कति विद्वान्ले यो कोटिको अध्ययन गरिसकेका थिएनन् भने हामी त झन् भर्खर कलेज पढ्दै गरेका विद्यार्थी !

प्रवचनका क्रममा उनले ‘लेखनमा त म क्यामुको ‘स्ट्र्यान्जर’ जस्तै भएँ’ पनि भने । उनले भने, “साहित्य लेख्न बस्दा मनले भन्छ– तँ राजनीतिक मानिस होस्, अनि राजनीतिको भाषण गर्दै जाँदा यही मनले भन्छ– तँ साहित्यकार होस्, तैँले त साहित्य पो लेख्नुपर्छ । त्यसैले म अन्योलमा छु– के म क्यामुकै परदेशी हुँ त ? बुझ्न सकिरहेको छैन ।”

प्रवचनका क्रममा बीपीले दार्जिलिङको त्यही सभामा भनेको कुरा कालान्तरमा प्रख्यात वाणी नै बन्यो, “राजनीतिमा म प्रजातन्त्रवादी हुँ । अर्थनीतिमा पक्का माक्र्सवादी । साहित्यमा म अराजकतावादी ।”

बीपीको भाषणले हाम्रो दिमाग भुटिदियो । हामीजस्ता साहित्यकारलाई त उनको भनाइ नै गुरुमन्त्र भयो । त्यो विश्वभरका साहित्यमा आधुनिकतावादी चिन्तनको उत्कर्ष थियो । टीएस इलियटका कविताले हामीलाई प्रभावित गरेको समय थियो । हिन्दी साहित्यमा अज्ञेयको सम्पादनमा ‘ तारसप्तक’, ‘दूसरा सप्तक’ र ‘तीसरा सप्तक’ पनि प्रकाशित भइसकेका थिए । हिन्दी साहित्यमा ‘अकथा’, ‘अकविता’ सुरु भएर आधुनिकतावादमाथि नै प्रश्नचिह्न लाग्न थालेको सन्धिकाल थियो त्यो ।

त्यसै हल्लिरहेको हाम्रो मनस्थितिमा ठूलो कम्प गयो । नेपाली साहित्य पनि आधुनिक लेखनतिर उन्मुख भएका बेला ‘गिरी स्कुल’ को मात्रिक छन्द र स्वच्छन्दतावादी धाराका सिर्जनाभन्दा भिन्न आधुनिक जगमा उभिइसकेका थियौँ । कोठेगोष्ठी साहित्य प्रतिष्ठानको स्थापनापछि हामीमा नयाँ ढंगबाट लेख्नुपर्छ भन्ने विचार प्रवाह भइसकेको थियो । तर, जब हामीले बीपीका एकदमै फरक धारका नितान्त नौला विचार सुन्यौँ अनि विश्वस्त भयौँ, हामीले खोजेको कुरा यही  हो ।

साहित्यमा नयाँ सोचले लाग्न हामीसँग दुइटा विकल्प थिए– आफू अगाडि बढ्न या त अघिल्लो पुस्तालाई धकेलेर लडाउने या त छुट्टै नयाँ बाटो बनाउने । राजाको छोराले राजा हुन खोजेजस्तै हो यो पनि । राजाको छोराले राजा हुन या त आफ्नो बाबुको मृत्युसम्म पर्खिनुपर्छ या त बाबुलाई मार्नुपर्छ । तर, हामी पुरानो विचारलाई मार्ने वा मर्न दिने दुवै पक्षमा गएनौँ ।

बीपीको भाषणले हामीलाई आफ्नै नयाँ बाटो बनाउने प्रेरणा मिल्यो । स्वच्छन्दतावादी साहित्यको गोहोलाई नछोई आफ्नै नयाँ धार निर्माणमा कोठेगोष्ठी साहित्य प्रतिष्ठान निर्माण गरेर साहित्यिक गतिविधिलाई क्रियाशील बनायौँ ।

ईश्वरवल्लभले टर्नबुल हाइस्कुलमा संस्कृत शिक्षकको जागिर पाइसकेका थिए । म पनि आईएस्सीमा गभर्मेन्ट कलेजमा भर्ना भइसकेको थिएँ । मेरो खाने–बस्ने प्रबन्ध स्थानीय संरक्षक मितबुबा मन्तुलाल क्षत्रीकहाँ थियो । माइला दाजु बीए सकेर अघिल्लै वर्ष फर्किसकेका थिए । साइँला दाजु भने अलग डेरामा पेइङ गेस्ट बसेका थिए । वल्लभजी र म भने साहित्यको नयाँ बाटो बनाउने संकल्पका साथ लाग्यौँ । पहिलेभन्दा नयाँ गर्नु थियो ।

त्यतिबेलासम्म कविता लेख्नेहरूमा हामी पनि निकै चल्तापुर्जा भइसकेका रहेछौँ । थाहै नपाई दार्जिलिङको साहित्यमा अर्को पुस्ता निर्माणमा लागिसकेका रहेछौँ । अब हाम्रो केन्द्र परिवर्तन भयो । ‘तेस्रो आयाम’ को गर्भाधान भइसकेछ ।

प्रस्तुति : रमण घिमिरे

प्रकाशित: भाद्र ६, २०७५