साहित्य

रोमान्टिक महारानी

- विभु लुइटेल, काठमाडौं

प्रतापसिंह शाहकी कान्छी रानी राजेन्द्रलक्ष्मीको नाम इतिहास अध्येताका लागि महत्वपूर्ण छ । यी महारानीको ‘रोमान्टिक’ पाटोबारे भने थोरै मात्र उल्लेख भएका छन् । अर्थात्, छोइएका मात्र छन् । उनका अतिरिक्त ‘अफेयर’ बारे कहीँ–कतै उल्लेख छैनन् । इतिहासका पत्रैपत्र केलाएर शिवा शिवांगिनी शाहले उनै वीरंगनाको नदेखिएको पक्षमा आधारित उपन्यास ल्याएकी छन्, अदर क्वीन । यसअघि पनि शाहका तीन उपन्यास आइसकेका छन् । तिनको नेपाली अनुवादसमेत आउने क्रममा छ ।

भारतको गोवामा बस्दै आएकी शाह त्यहीँ इमाया सोज नामक थिएटर ग्रुप चलाउँछिन् । नाट्य संस्कृति फस्टाउँदो यो भारतीय प्रान्तमा प्राय: कोंकणी भाषाका नाटक मञ्चित हुन्छन् । उनको ग्रुपले भने अंग्रेजी भाषाका नाटक मात्र देखाउँछ । विस्तारै भारतका अन्य प्रान्त र नेपालमा पनि कार्यक्षेत्र फैलाउने उनको योजना छ ।

उनी आफू वरिपरिका थुप्रै मान्छे नियाल्छिन् । अनि, तिनैलाई पात्र बनाई केही न केही लेखिहाल्छिन् । इतिहासका पात्रबारे मात्र नभई समसामयिक चरित्रमाथि पनि उनको कलम चलिसकेको छ । आगामी उपन्यासबारे पनि उनले थोरै चुहाइन्, “काठमाडौँको नेवार समुदायकी एक युवती भारतको गोवा पुगेको र त्यहाँ उनको जीवनमा आइपर्ने उतारचढावबारे  उपन्यास ल्याउँदै छु ।”

प्रकाशित: भाद्र ४, २०७५