साहित्य

[तीन किताब] आमाको अर्को रूप

- आन्विका गिरी, काठमाडौं

तोत्तोचान  पढेपछि लाग्यो– मेरी छोरी र मेरै लागि लेखिएको किताब रहेछ । जापानी लेखक तेत्सुको कोरोयानागी लिखित यो किताबका कतिपय घटना मेरो जीवनसँग मिल्दाजुल्दा छन् । म सानो छँदा खुब चकचके थिएँ । मेरी छोरी पनि कक्षाकोठाको एकै ठाउँमा स्थिर भएर बस्न नसक्ने स्वभावकी छन् । नाचगान गर्ने, बाहिर ध्यान दिने खालकी । स्कुलबाट गुनासो आइरहन्थ्यो, म गइरहन्थेँ । छोरीको व्यवहारलाई विद्यालयले ठूलो समस्या ठान्यो । तर, म भन्थेँ– कुनै समस्या नै होइन यो ।

चार कक्षासम्म भारी गुनासो बोकेर मैले छोरीको स्कुल नै बदलिदिएँ । तोत्तो–चानको पनि उल्झन उस्तै छ– विद्यालय परिवर्तन गरिरहनुपर्ने । यो अहिले पनि छोरी र मेरा लागि दोहोर्‍याएर पढ्ने साझा किताब भएको छ । किताबको पहिलो पानाले नै मलाई तानेर अन्तिमसम्म लग्यो । अनुशासनको नाममा प्रश्न–निषेध गर्ने परम्परागत शिक्षा प्रणाली बदल्न पनि तोत्तोचानले सघाउँछ । र, म लैंगिक समानताको भाव बाल्यकालदेखि नै दिनुपर्छ भन्ने सोचेर बालसाहित्य लेखिरहेकी छु । राजनीति मेरो पठनको रुचिको क्षेत्र हो ।

म्याक्सिम गोर्कीको आमा अरूले रुसी क्रान्ति बुझ्न पढे होलान् । तर, मैले आमाहरूको भूमिका र अप्ठेरा बुझ्न पाएँ । उपन्यासमा आमाले क्रान्तिमा सहयोग गरे होलान् । तर, मेरा लागि आमालाई नजिकबाट बुझ्न यो उपन्यास भरपर्दो सहयोगी बनिदियो । हामी विभिन्न क्रूर घटना सुन्छौँ– आफ्नै बच्चा बोकेर आत्महत्या गर्ने कस्तो निष्ठुरी आमा ? दुध नखुवाउने आमाहरूलाई गरिने गाली सुनेकै हो । तर, यो उपन्यास पढेपछि आमाको अर्को रूप पनि मैले देख्न पाएँ । घरका सातै दिदी–भाइले पढेका थियौँ, आमा । आमाहरूको संघर्ष र सम्बन्धलाई नजिकबाट देखायो किताबले । मेरी आमाको कुनै जागिर थिएन । घरको सबै काम आमाकै काँधमाथि थियो । तर, त्यो कामको कुनै अर्थ दिइन्नथ्यो । आमा भन्थिन्– आर्थिक रूपमा हामी सक्षम बन्नुपर्छ । आमाहरू जति आत्मनिर्भर हुन्छन्, त्यति नै स्वतन्त्रताको द्वार खुल्छन् ।

सन्तानले आमा र बालाई हेर्ने दृष्टि–पद्धति फरक हुन्छन् । आमालाई करूणा, माया, त्यागका आँखाले हेरिन्छ भने बालाई सम्मान, डर, निर्भरता, सामाजिक सम्मान आदिले । यो उपन्यास पढेपछि मेरी आमाको सामाजिक हैसियतबारे सोच्न थालेँ । र, आमालाई हेर्ने तरिकामा बदलाव आयो । आमासँगै आम महिलालाई हेर्ने मेरो दृष्टि पनि फेरियो । 

किताब पढ्ने मेरो गति तीव्र नै छ । म लेखकलाई भन्दा किताबलाई स्वतन्त्र ढंगले पढ्छु । र, त्यसरी नै मूल्यांकन गर्छु । सरल भाषाशैलीको पुस्तकसँग चाँडै झ्यामिन्छु । म तालिकाबद्ध अनुशासित पाठक होइन । पहिले गाह्रो लागेको पुस्तक बीचमै छोडिदिन्थेँ । तर, अचेल जबर्जस्ती किताब पढिछाड्छु ।

कुनै बेला म लैंगिक विषय–सन्दर्भमा आक्रोशित थिएँ । पढालेखा मान्छे पनि किन महिलाबारे उदार सोच राख्दैनन् भन्ने कुराले पिरोलिन्थेँ । सेकेन्ड सेक्स  पढेपछि मेरो आक्रोशले जवाफ पायो । एकदमै माया गर्ने दाइले पनि बहिनीको प्रगतिमा किन साथ दिँदैन ? आफ्नो सर्वोच्चता कायम राख्नका लागि महिलालाई अघि बढ्न दिँदैन पुरुषले । तर, सिमोन द बुभाएरको यो किताब पढेपछि पुरुषवादी समाजको चिन्तन संरचनाबारे फरक रूपमा सोच्न थालेँ ।

एक दशकअघि घनश्याम भुसालको माक्र्सवाद प्रशिक्षणमा यस पुस्तकको महत्ता बुझेँ । र, खोजेर पढेँ । पुस्तकले पुरुष सर्वोच्चताका कारण र विभेदको भेद मेराअगाडि प्रस्ट खोलिदियो । प्रेमको नाममा महिलाको व्यक्तिगत निर्णयको ल्याकत खोस्ने पुरुषको हुर्काइ महफ्वपूर्ण हुँदोरहेछ भन्ने जान्न पाएँ ।   किताबले जीवनमा केही धारणा बनाउन सघाउँछ नै । तर, पढेका सबै मान्छे बदलिन्छ भन्ने पनि हुँदैन । नत्र विद्यावारिधि होल्डरले नै महिलाबारे तुच्छ टिप्पणी किन गर्थे !

प्र स्तुति : गुरुङ सुशान्त

प्रकाशित: श्रावण ३१, २०७५