अचानक

‘बासी पस्केर दिन्नँ’

- मनबहादुर बस्नेत, काठमाडौं
दुई दशक पुरानो इटालियन नाटक कान्ट पे वान्ट पेको नेपाली संस्करण सकेको तिरौंला नत्र फिरीमा चल्दैछ, काठमाडौँको मण्डला थिएटरमा । रंगकर्मी सरिता गिरी नाटकमा गृहिणीको भूमिकामा छिन् । राज्यको अव्यवस्थाले सिर्जित सास्तीकी एक पात्र गिरीसँगको कुराकानी :

इटालीको त्यो अवस्था अहिलेको हाम्रो समाजसँग मिल्छ ?

नाटक लेख्दा त्यहाँको समाजमा उथलपुथल थियो । राज्यले कर लिन्थ्यो तर व्यवस्थापन भताभुंग । जनताले दु:ख पाएपछि करको औचित्य खोजियो । अहिले नेपालको अवस्था काटीकुटी त्यस्तै छ । सबैतिर भद्रगोल । नियम/कानुन छैन । नाटक हेर्नेहरूले त हाम्रै पीडा ठान्छन् । 

नाटकमा धेरैले निरन्तरता दिन सक्दैनन् । तपाईं त गुरुकुलको पहिलो छिमल भएर पनि टिकिरहनुभएको छ कसरी ?

धेरैले सोध्छन्, नाटक खेलेर बाँच्न पुग्छ ? गुरुकुलमै पढ्दा १०/१५ हजार रुपियाँ पाउँथ्यौँ । बाहिर नाटक खेल्दा थप हुन्थ्यो । त्यसैले पैसा कमाउनतिर कहिल्यै ध्यान गएन । नाटक प्यासन हो । कसरी टिक्ने ? व्यक्तिको जिउने शैलीमा भर पर्छ ।

आफ्नो अभिनय कौशलमा पहिलेभन्दा के भिन्नता पाउनुहुन्छ ?

म नयाँ नाटक आउनासाथ जिरोबाट सोच्छु । पुरानोलाई छाड्छु । त्यसबारे केही आउँदैन भन्ने सोचेर काम थाल्छु । बरु चरित्र नयाँ खोज्छु । बासी पस्केर दिन्नँ ।

फिल्मभन्दा नाटकमा सक्रिय हुनुहुन्छ । फिल्म नपाएर हो ?

वर्षमा फाट्टफुट्ट खेलिरहेकै छु । स्क्रिप्ट राम्रो लाग्यो भने खेल्छु । मरिहत्ते गर्दिनँ । फिल्म त आइरहेकै हुन्छन् । आफू त्यसमा फिट हुनुपर्‍यो ।

हिजोआज नाटक निर्देशनमा महिला आगमन बढ्दैछ । तपार्इं त्यतातिर किन नलागेको ? 

मैले ‘एक्टिङ’ मात्रै पढेँ । निर्देशन र कलाकारिता फरक कुरा हुन् । निर्देशनमा मैले सिक्न बाँकी छ । त्यसैले अहिले निर्देशन गर्दिनँ ।

निर्देशन पढ्ने सोचमा हुनुहुन्छ ?

यो वर्षको अन्तिमतिर पढ्न बाहिर जान्छु होला । फेरि मैले अहिलेको उमेर अनुसार जति अभिनयमा मिहिनेत लगाउन सक्छु, पछि सक्दिनँ । यो उमेरमै निर्देशनमा लागेर पछि के गर्ने ? बुढ्यौलीलाई साँचेकी छु निर्देशन ।

गुरुकुललाई कत्तिको मिस गर्नुहुन्छ ?

पढेको, सिकेको र हुर्केकै त्यहाँ । सधैँ नाटक गथ्र्यौं । स्टेज नचढेको दिनै हुँदैनथ्यो । अहिले त ५/६ महिनामा स्टेज देखिन्छ । धेरै मिस गर्छु ।

प्रकाशित: श्रावण ३०, २०७५