समसामयिक

शरीर मेरो, कमेन्ट तिम्रो ?

- विभु लुइटेल, काठमाडौं

कीर्तिपुरकी अपूर्वा शर्मा, १९, को मोटोपनलाई लिएर सानैदेखि साथीसंगीले उपहास गर्थे । साथीहरूले पिज्जा र बर्गर खाइरहँदा उनी आफैँलाई सान्त्वना दिन बाध्य हुन्थिन् । अझ आफ्नो शरीरको व्यंग्य स्वरूप उपनाम राखिदिँदा मन दुखाउँथिन् । त्यसैले उनको बाल्यकालको अधिकांश समय डाइट प्लान बनाउँदै बित्यो ।

समय बित्दै जाँदा अपूर्वालाई लाग्न थाल्यो, आफ्नो प्राकृतिक स्वरूपमा किन खुसी नहुने ? डाइट प्लान अनुरूप खान मन लाग्न छाड्यो । त्यसो त, मोटोपनका कारण लाग्न सक्ने रोगसँग उनी परिचित छिन् । भन्छिन्, “स्वास्थ्यलाई प्राथमिकतामा राख्छु । तर, समाजले अथ्र्याउने ‘फिट’ शब्दमा आफूलाई फिट गर्न खोज्दिनँ ।”

एक वर्षदेखि अमेरिका बस्दै आएकी रश्मी श्रेष्ठ, २६, लाई पनि साथीभाइ, इस्टमित्र मात्र नभएर बाटोमा हिँड्ने जोकोहीले खिसीट्युरी गर्थे । १ सय २० किलोकी रश्मीलाई रोग भने केही थिएन । “मोटोपन वंशमै थियो । न व्यायाम गएर दुब्लाउन सकेँ, न त मुख बारेर,” उनी भावुक हुन्छिन् ।

लुगा किन्न गयो, आफ्नो साइजको नपाइने, सार्वजनिक यातायातमा दुई जनाको सिट एक्लैलाई चाहिने, त्यसमाथि वरपरकाले नचाहिँदा उपनाम राखिदिने । कसैले यी उपनाम लिएर एकनास गिज्याइरहँदा मुख छाडेको अनुभव पनि छ उनीसँग । “अमेरिकामा भने बडी सेमिङको सिकार भएको अनुभव छैन । त्यसैले नेपालका दिन सम्झन पनि मन छैन,” उनी लामो सास फेर्दै भन्छिन् ।

शारीरिक संरचनालाई लिएर कसैको मानमर्दन गर्नाले समाजमा स्वीकारोक्तिको भावना कम हुँदै जाने समाजशास्त्री चैतन्य मिश्रको ठम्याइ छ । “धेरैजसो मोटो शरीर रोगको भण्डार हुने देखिँदै आएको छ । त्यसैले केही मानिसले शरीरको आकृतिलाई भन्दा पनि रोगलाई इंगित गरी बडी सेमिङ गर्ने हुन सक्छन्,” मिश्र भन्छन्, “आफूभन्दा भिन्न स्वरूपको मान्छे देख्दा हामी ‘एब्नर्मल’ को संज्ञा दिन हतारिन्छौँ । यस्तो मानसिकता व्याप्त रहेसम्म कुनै न कुनै हिसाबले सबैको खिसीट्युरी भइरहन्छ ।”

‘प्रयांक्स्टर रिभाइवल’ नामक युट्युब  च्यानलको दर्शकका प्रतिक्रियामा यसका सञ्चालक आशीष प्रसाईंलाई मानिसले तथानाम गरेको देख्न सकिन्छ । कारण, उनको कालो छाला । “च्यानल खोलेको पहिलो दिनदेखि नै मलाई यस्ता प्रतिक्रिया आउँथे,” उनी ननिको मान्छन् । अनेकौँ रंगभेदी प्रतिक्रिया उक्त च्यानलको कमेन्ट सेक्सनमा छ्याप्छ्याप्ती भेटिन्छन् । त्यस्ता प्रतिक्रियाको सम्बोधन गर्न उनले कहिल्यै उचित ठानेनन् । भन्छन्, “कसैले अगाडि नै आएर काले भन्यो भनेचाहिँ ‘हो, हजुर त साह्रै गोरो, अनुहार टल्किएर मान्छे चिन्नै गाह्रो भयो’ भन्दिन्छु । त्यति भनेपछि को बोलोस् !”

आशीषलाई आफ्नै छाला प्यारो लाग्छ । छालाको रंगकै कारण दिइएका नराम्रा उपनामले उनलाई छुँदैनन् । यसै सन्दर्भमा आशीष रिचार्ड राइमको एक कविताको अंश सम्झन्छन्, त्यसको नेपाली रुपान्तरण करिबकरिब यस्तो छ–

‘न कालो धुन हुनेछ, न त सेतो धुन,

केवल संगीत हुनेछ,

त्यसै संगीतमा भाका मिलाई

तिमी हामी भ्रातृत्वको गीत गाउँला ।’

घुम्रिएको कपालका कारण ‘चाउचाउ’, ‘गुन्द्रुक’ जस्ता उपनाम पाउने गरेकी कोटेश्वरकी आयुसा ढकाल, २१, को मनस्थितिमा सानै उमेरदेखि यसले गहिरो प्रभाव पार्‍यो । यस्ता प्रतिक्रियाबाट छुट्कारा पाउन कपाललाई इस्त्री लगाउँदा धेरै पटक निधारै पोलिन् । कपालका लागि विभिन्न कस्मेटिक उत्पादन प्रयोग गरिन् । कपाल बिग्रँदै गए पनि सीधा बनाउने लालसा मेटिएन ।

पछि कपाल साह्रै रुखो हुँदै गएपछि महसुस गरिन्, उनको जस्तो कर्ली कपाल बनाउन मान्छे हजारौँ खर्चिन्छन् । त्यसपछि उनले आफ्नो कपाललाई माया गर्न थालिन् । घुम्रिएको कपाल भएकी चर्चित अमेरिकी मिडिया पर्सनालिटी ओपरा विन्फ्रेको आत्मविश्वासले पनि उनलाई प्रभावित तुल्यायो । आफ्नो मौलिक स्वरूप स्वीकार्न सके यस्ता व्यवधानबाट पार पाइने अनुभव उनको छ । सुनाउँछिन्, “हिजोआज जसले जे भने पनि मतलव गर्दिनँ ।”

अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशीलाई उनको मुहारको लाम्चो आकृति हेरी सामाजिक सञ्जालमा उपहास गर्ने सयौँ छन् ।  उनी भन्छन्, “मलाई ‘चुसेको आँप’ भन्नेलाई म रोक्न सक्दिनँ । त्यसैले त्यस्ता प्रतिक्रियाको मतलब नै गर्दिनँ ।” मूल्यांकन गर्नु नै छ भने व्यक्तिको काम र आचरणको गर्नुपर्ने धारणा उनको छ । “कसैले शारीरिक बनोटबारे नचाहिँदा टीकाटिप्पणी गर्छन् भने त्यो तिनको समस्या हो,” उनी सुनाउँछन् ।

‘बडी सेमिङ’ ले शरीरको आकारलाई लिएर कुनै पनि प्रकारका नकारात्मक टिप्पणी गर्ने आचरणलाई बुझाउँछ । पातलो शरीर भएकालाई पनि मोटो शरीर भएकालाई जत्ति नै जिस्काउने गरिएका थुप्रै उदाहरण छन् । बच्चालाई माया गरी बोलाउने क्रममा अभिभावकले नै ‘काले’, ‘भुन्टे’, ‘पुड्के’ जस्ता उपनाम राखिदिने चलन समाजमा व्याप्त छ । शारीरिक अवयवका प्रवृत्तिलाई लिएर नाम राख्नुअघि अभिभावक पनि सचेत हुनुपर्ने धारणा राख्छन्, त्रिवि मनोविज्ञान केन्द्रीय विभागका प्राध्यापक शिशिर सुब्बा ।

“सबैको सहने प्रवृत्ति समान हुँदैन । कसैलाई मोटु भन्दा मायाको अनुभूति हुन्छ भने कसैलाई अपमानको,” मनोविज्ञ सुब्बा भन्छन्, “गोरो बच्चालाई माया गरी काले भन्दा उसले चित्त नदुखाउला । तर, कालो बच्चालाई त्यही भन्दा उसलाई त नराम्रो लाग्छ नै ।”

उनका अनुसार शरीरलाई लिएर नकारात्मक प्रतिक्रिया प्राप्त गर्दा धेरैको आत्मविश्वास नै कम भएर जान्छ । यस्ता अत्यधिक प्रतिक्रिया सामना गर्ने व्यक्ति समाजमा घुलमिल हुन रुचाउँदैनन् र पछिपछि डिप्रेसनग्रस्त हुन्छन् । यस्तै व्यक्तिलाई लक्षित गरी सुब्बा भन्छन्, “ऐनामा आफ्नो शरीर हेर्दै रुन छाडौँ । हामी सबै कुनै न कुनै हिसाबले सुन्दर छौँ ।”

प्रकाशित: श्रावण २८, २०७५