समसामयिक

महलीसागरको मर्का

- मनोज पौडेल/तौलिहवा, काठमाडौं

साउनको तेस्रो साता ५ सय ५४ नम्बरको सीमा–स्तम्भनजिक कृषक मोहम्मद रहिश एकपटक रोपिसकेको खेतमा पम्सेट चलाएर दोस्रोपटक रोप्न पानी फाल्दै थिए । अर्का कृषक परशुराम यादव २ कट्ठामा दोस्रोपटक रोपाइँ गर्दै थिए ।

बाँध पीडित भगवानपुरका शान्ति यादव पानी नपर्दा आकाशतिर हेरेर बस्छन्, धेरै पानी परे लालाबाला र घर जोगाउन मुस्किल पर्छ । “बढी वर्षा भएको ४ घन्टामा डुबान हुन्छ” यादव भन्छन्, “वर्षा भएन भने धान पनि हुँदैन ।”

दुई दशकयता यहाँका किसानले कहिल्यै राम्ररी अन्नबाली स्याहार्न पाएका छैनन् । अहिले महलीसागरमा सन् १९०१ मा बनाइएको पुरानो ५ ढोके बाँध र ०५९ मा निर्माण थालिएको नयाँ १५ ढोके बाँध (ढोका मात्र राख्न बाँकी) छन् ।

भारतले सीमा क्षेत्रमा बनाएको ढोका मात्र राख्न बाँकी महलीसागर बाँधको १५ फाटकमा एक मिटर चौडा र डेढ मिटर लम्बाइको मोटामोटा सालको पटरा राखेर पानी छेकेपछि असार दोस्रो साता नेपालतर्फको तीन हजार हेक्टर धानबाली डुबानमा परेको छ ।

सदरमुकाम तौलिहवादेखि करिव १० किमि दक्षिण यशोधरा गाउँपालिका ५ भगवानपुर गाउँदेखि ३ सय मिटर दक्षिणमा पर्ने भारतको सिद्धार्थनगर जिल्लाको महली गाउँमा उक्त बाँध निर्माणाधीन छ । महिना दिनअघि नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले उक्त अस्थायी संरचना निर्माण गरेको थियो ।

नेपाली प्राविधिकका अनुसार महलीसागर बाँधका कारण गाउँपालिकाको भगवानपुर, कचरिहवा, रंगपुर, भैईसहिया, लोहरौली र पर्सोहिया गाउँ प्रभावित हुन्छन् । बाँधकै कारण उक्त क्षेत्रमा नेपाल–भारत ५५३ र ५५४ नम्बरको सीमा–स्तम्भ पनि डुबानमा पर्दै आएको छ ।

समस्या समाधान गर्न बारम्बार प्रशासनलाई घचघच्याउँदै आए पनि द्विदेशीय कुरा भएकाले माथिल्लो स्तरबाट यसको समस्या समाधान गर्नुपर्ने यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डे बताउँछन् । पीडित कृषकलाई गाउँपालिकाबाट हुन सक्ने राहत दिने उनको भनाइ छ ।

भारतको सीमा सुरक्षा बल (एसएसबी)ले पहरा दिने बाँधको विषयलाई लिएर विवाद हुँदा भारतीय पक्षले बाँधको मर्मत सम्भारको दाबी गर्दै आएको छ । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले भारतीय ड्रेनेज डिभिजन कार्यालयलाई पत्राचार गरेर डुबान हटाउन आग्रह गरेपछि निकास खोलिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलको भनाइ छ ।

प्रकाशित: श्रावण २७, २०७५