मनोरञ्जन

अविश्वसनीय तर सन्देशमूलक [फिल्म समीक्षा : फन्ने खान]

- गोकर्ण गौतम, काठमाडौं

छोरी घरभित्रै खुम्चनुपर्छ, कलाकारितामा लाग्नैहुन्न भन्ने साँघुरो सोचलाई चिर्न लागिपरेको छ, बलिउड । यस्ता सिनेमाले महिला सशक्तीकरणमा कहीँ न कहीँ योगदान पुर्‍याउँछन् । प्रचुर गायन भएर पनि बाबुको कारण बाहिर निस्कन नसकेकी छोरीको संघर्ष देखाइएको सेक्रेट सुपरस्टारले काफी प्रशंसा बटुल्यो । यतिबेला छोरीलाई गायिका बनाउन मरिहत्ते गर्ने बाबुको कथा समेटिएको फिल्म प्रदर्शित छ, फन्ने खान । अतुल मान्जरेकर निर्देशित फिल्ममा अनिल कपुर, ऐश्वर्या राय बच्चन, राजकुमार रावको मुख्य भूमिका छ । फन्ने खान  बेल्जियन फिल्म एभ्रिबडिज् फेमसको रिमेक हो । कथा र पात्र बलिया भए पनि अविश्वसनीय र नाटकीय प्रस्तुतिले फिल्मलाई अब्बल हुनबाट रोकेको छ । 

आफू मोहम्मद रफी बन्न नसके पनि छोरी लता शर्मा (पिहु सन्द) लाई लता मंगेशकर बनाउने सपना बुनेका छन्, प्रशान्त शर्मा (अनिल) ले । कुनै समयका आर्केस्ट्रा गायक प्रशान्त आºना साथीभाइमाझ फन्ने खानका रुपमा परिचित छन् । स्वर मीठै भए पनि मोटी भएकै कारण लतालाई स्टेजमा मजाकका रुपमा उडाइन्छ । गायिका बन्ने सपनाबाट हार खान्छिन् । त्यही बेला प्रशान्तले आफ्ना साथी अधीर (राजकुमार) सँग मिलेर चर्चित गायिका बेबी सिंह (ऐश्वर्या) लाई अपहरण गर्छन् । उद्देश्य उही, बेबीलाई प्रयोग गरेर छोरीलाई हिट बनाउने । तर, लप्पनछप्पन नजान्ने प्रशान्तको चाह पूरा होला कि अरु तनाव आइलाग्छ ? यसकै वरपर घुमेको छ फिल्म ।

गायिकालाई चाहिने प्रधान गुण हो, श्रुतिमधुर आवाज । तर, स्वर मात्र होइन, शरीर पनि आकर्षक हुनुपर्ने अपेक्षा राख्छ समाज । त्यसैले त, मोटो ज्यान लताको गायन करिअरका लागि अवरोध बनिदिन्छ । हीनताबोध पलाउँछ तर उनका बाबु प्रशान्तचाहिँ छोरीको गायन प्रतिभाप्रति विश्वस्त छन् । आफैँ एकल एल्बम निकालिदिने धोको छ उनको । बाबुछोरीको यही प्रेमिल रसायन फन्ने खानको ‘ब्युटी’ हो । तर, बेबी सिंहको अपहरण भएसँगै फिल्मको लय बिथोलिन्छ । कथावस्तु र पात्र अनुसार यथार्थपरक ढंगले कथा अगाडि बढाउनुको सट्टा नाटकीय बनाइन्छ । प्रशान्तले बेबीको म्यानेजरले टेप रेकर्ड दिएको, प्रशान्त र बेबीको भेट, म्यानेजर र लतासँगको सम्बन्ध, रियालिटी सोमा अपहरणको प्रत्यक्ष प्रसारणलगायतका दृश्यमा निर्देशक मान्जरेकरको परिपक्वता झल्कँदैन । कथामा भावनात्मक रंग लेपन गर्नुको सट्टा प्रसंगबेगरका कमेडीमा रमाउनु दु:खद पक्ष हो ।

साना बजेट र स्टारसँग फिल्म खेल्दाखेल्दै ऐश्वर्याको प्रेमीको भूमिकामा देखिनु राजकुमार रावको छलाङ हो । अनिल कपुर र ऐश्वर्याजस्ता ख्याति कमाएका कलाकारबीच पनि उनी आफूलाई ‘मार्क’ गराउन सफल छन् । ऐश्वर्यासँगको अन्तिम दृश्य ज्यादै प्रेमिल छ । चुलबुले बाबुको भूमिकामा अनिल प्रिय लाग्छन् । आफ्नो उमेर सुहाउँदो शक्तिशाली भूमिकामा ढाल्दै लगेका छन् उनले । चरित्र अनुरुप ऐश्वर्याको सौन्दर्य र आनीबानीले दर्शकको ध्यान तानिरहन्छ । डेब्यु फिल्ममै जीवन्त अभिनय पस्किएकी छन् पिहु सन्दले । आफ्नो शारीरिक बनोटसँग हीनताबोध गर्ने युवतीका लागि उनी आत्मविश्वासको स्रोत बन्न सक्छिन् । खासमा चारै मुख्य चरित्र आ–आफ्नो कोणबाट उम्दा छन् । तर, पटकथा बुन्ने क्रममा कमजोरी भएको छ । त्यसैले मध्यान्तरपछि फिल्म त्यति चोटिलो लाग्दैन । यद्यपि, ‘मोहब्बत...’, ‘हल्का–हल्का...’, ‘अच्छे दिन...’ लगायतका गीतलाई कथावाचनकै रुपमा प्रयोग गरिएको छ ।

प्रभावकारी ‘ट्रिटमेन्ट’ नभएकाले फन्ने खान  दर्शकको अपेक्षा पूरा गर्न असमर्थ छ । कताकता कथा नै अलपत्र परेको भान हुन्छ । तर, अनिल, ऐश्वर्या र राजकुमारका लागि मात्र हेर्दा भने निराश हुनुपर्दैन ।

प्रकाशित: श्रावण २५, २०७५