अर्थ

बजारमा देखिएन वित्तीय विवरणको प्रभाव

- विजयराज खनाल, काठमाडौं

कर्जाको ब्याजदर खासै कमी नआएका कारण बढ्न नसकेको सेयर बजारलाई बैंक तथा वित्तीय संस्थाको नाफाले टेवा दिन सकेन । अधिकांश बैंक तथा वित्तीय संस्थाको मुनाफामा सामान्य वृद्धि र केहीमा अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएपछि बजारमा सकारात्मक प्रभाव पर्न नसकेको हो ।

साताभरमा नेप्से परिसूचक १० अंकले घटेको छ । गत बिहीबार ११९१ बिन्दुमा रहेको नेप्से घटेर ११८० बिन्दुमा आएको हो । असार पहिलो सातादेखि नेप्से ११८१ देखि १२२४ को सीमाभित्र रहेर तलमाथि गरिरहेको छ । बजारले ११७५ को पुरानो उच्च बिन्दुमा टेवा खोजिरहे पनि पाउन सकेको छैन ।

वित्तीय विवरण प्रकाशित गरेका अधिंकाश बैंक तथा वित्तीय संस्थाहरूको सेयर मूल्य नेटवर्थको दोब्बरसमेत पुग्न सकेको छैन । केही कम्पनीको सेयर मूल्य नेटवर्थ मूल्यभन्दा पनि तल छ । नेप्सेले समेत पहिलो पटक बजारमा कारोबारमा आउने कम्पनीका लागि नेटवर्थको तीन गुणासम्म मूल्य तोकिदिने गर्छ । कम्पनीहरूले प्रिमियम मूल्य तोकेर नयाँ सेयर (एफपीओ) जारी गर्दासमेत नेटवर्थका आधारमा पाँच गुणासम्म मूल्य तोक्न सकिने व्यवस्था छ । तर, बजारमा नेटवर्थ मूल्यभन्दा पनि कममा सेयर कारोबार भइरहेको छ ।

बजारमा बैंकहरूको प्रतिसेयर मूल्य नेटवर्थ मूल्य आसपास रहेकाले बजार बियरिस ट्रेन्डमा नै रहेको संकेत गरिरहेको छ । कतिपय अवस्थामा भने सेयरको मूल्य अवमूल्यन भएको समेत यसले संकेत गर्छ ।

बैंकहरूको प्रतिसेयर आम्दानीमा वृद्धि नदेखिएकाले पनि सेयर मूल्य बढ्न सकेको छैन । यही कारण बजार पनि ओरालो लागेको छ । गत वर्षहरूमा २५/३० रुपियाँको दरमा प्रतिसेयर आम्दानी हुने गरेको थियो । यसले कम्तीमा कम्पनीले २०/२२ प्रतिशत लाभांश दिने सम्भावना देखिन्थ्यो । हालको आम्दानीले उक्त दरमा प्रतिफल बाँड्न नसकिने देखिएको र कम्पनीहरूले बोनस सेयरको तुलनामा नगद लाभांशमा जोड दिने सम्भावना लगानीकर्ताले देखेका छन् । यही कारण बजारमा सुधार हुन नसकेको हो ।

प्रतिसेयर आम्दानी घटेकै कारण बैंकहरूको मूल्य आम्दानी अनुपात पनि घट्दै गएको छ । यस्तो अनुपात २० देखि ३० प्रतिशतको हाराहारीमा रहनु सही मानिन्छ । यो सूचकले कम्पनीले एक रुपियाँ कमाउँदा लगानीकर्ताले त्यो कमाइका लागि कति रुपियाँ हालिरहेका छन् भन्ने संकेत गर्छ । २० भन्दा मुनि मूल्य आम्दानी अनुपात हुँदा कम्पनीको सेयर मूल्य अवमूल्यन भएको हुन सक्ने मानिन्छ । वित्तीय अवस्था खराब रहेका कम्पनीको मूल्य आम्दानी अनुपातसमेत कम हुने गर्छ ।

प्रकाशित: श्रावण २५, २०७५