नोटबुक

[नोटबुक] स्वातिका प्रश्नैप्रश्न

- सुरेशराज न्यौपाने, काठमाडौं

९ साउनको मध्यरातमा नयाँदिल्लीको मुर्निकाबाट गैरकानुनीमा रुपमा कुवेत र इराक पठाइने भन्दै एक महिनादेखि बन्धक बनाइएका १६ नेपाली महिलाको उद्धारको नेतृत्व गरेकी थिइन्, दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालले । स्वाति महिला तथा बालबालिकामाथि हुने हिंसा र चेलीबेटी बेचबिखनविरुद्धको अभियन्ताका रुपमा चिनिन्छिन् ।

गत वैशाखमा जम्मु र उत्तरप्रदेशलगायत भारतका विभिन्न राज्यमा बालिका र महिलाको बलात्कार र हत्या शृंखला बढ्दै गएपछि अपराधीलाई कडाभन्दा कडा कानुन ल्याउनुपर्ने माग राख्दै राख्दै उनी १० दिनसम्म अनशन बसेकी थिइन् । अनशनपछि भारत सरकारले १० वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड सजायसहितको कानुन ल्याएको थियो । परिचय अनुसार नै नेपाली चेलीलाई उद्धारपछि आश्रयस्थल पुर्‍याउने बन्दोबस्त नहुन्जेल आवश्यक कानुनी प्रक्रिया पूरा गर्न उनी आफैँ सक्रिय भइन् । सबै औपचारिक प्रक्रिया पूरा गरेपछि मात्र घरतर्फ लागिन् ।

त्यसक्रममा परिचय भएपछि उनले करिब आधा दर्जन प्रश्न तेस्र्याइन् मसित । नेपाली चेली किन दिल्लीलगायतका सहरमा पुर्‍याइन्छन् ? नेपाल सरकार के हेरेर बसेको छ ? सीमामा किन कडाइ गरिँदैन ? यिनीहरुलाई केही भएको भए कसले जिम्मेवारी लिन्थे ? स्वातिका तिखा प्रश्नका जवाफ मसँग थिएनन् । यी प्रश्न त सीधै नेपाल सरकारलाई नै सोधिनुपथ्र्यो ।

खाली खुट्टा सरर...

स्वातिको दसदिने अनशनलाई भारतीय सञ्चारमाध्यमले दिएको प्राथमिकताले मेरो ध्यान खिच्यो र अनशनस्थल राजघाट पुगेको थिएँ, ९ वैशाखमा । पाँच फिट अग्लो मञ्चमा शुभचिन्तकले घेरिएकी थिइन्, स्वाति । अनशनको अन्तिम अर्थात्, नवौँ दिन उनको अवस्था निकै नाजुक थियो । शरीर पूरै गलेको थियो । बोल्नसमेत निकै असहज थियो । तैपनि, सहयोगीमार्फत आफ्नो परिचय दिएपछि छोटो कुराकानी गर्न तयार भइन् । मञ्चमा जुत्ताचप्पल बर्जित भएकाले जुत्ता खोलेर उत्रिएँ । अनशन र मुद्दाबारे छोटो कुरा भयो ।

स्वातिसँग कुरा गर्न पाएर समाचारको खुराक पाएकोमा भन्दा पनि सकारात्मक अभियानप्रति ऐक्यबद्धता जनाउन पाएकामा म निकै खुसी थिएँ । तर, त्यो खुसी धेरै बेर टिकेन । मञ्चबाट तल झर्दा जुत्ता थिएन । निकै बेर खोज्दा पनि नभेटेपछि चोरी भयो भन्नेमा निश्चिन्त भएँ । सँगै गएका एक मित्रले भीडभाडमा मौका छोप्नेहरु जहाँ पनि हुन्छन्, कस्तो खल्लो भयो भन्दै सान्त्वना दिए ।

नहुनु भइसकेपछि चिन्ता गरिरहनुको कुनै अर्थ थिएन ।

ऊर्जा बैठकमा ऊर्जाविहीन

नेपाल र भारतबीच सम्पन्न ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि गठित द्विपक्षीय सचिव र सहसचिवस्तरीय समितिको पााचौँ बैठकको अन्तिम दिन साँझ ४.३० बजेतिर नयाँदिल्लीको अशोक होटल परिसर पुगेको थिएँ । बैठक टुंगिए पनि अन्तिम निर्णयमा दुवै पक्षको हस्ताक्षर बाँकी रहेको सूचना ऊर्जा मन्त्रालयका सचिव र प्रवक्ताद्वयबाट प्राप्त भयो । त्यसपछि होटलकै लबीमै कुरिबस्दा बीचमा निस्किएका ऊर्जा सचिव, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकसहितको टोली सूचना नदिई उम्कियो । अढाई घन्टा होटलकै लबीमा सुरक्षागार्डले मलाई नियालिरहेका रहेछन् । ७ बजेतिर आएर केरकार गर्न थाले । होटलमा कुनै कार्यक्रम नभएको र यसरी बिनाकाम लबीमा बस्न नपाउने भन्दै गर्जिए । मैले प्रतिवाद गर्नु उचित ठानिनँ । सीधै लबी म्यानेजरसँग कुरा गरेँ । ठीकै छ, अब एक घन्टा बस्नुस् भन्दै सुरक्षागार्डतर्फ इसारा गरे । तर, मैले त्यहाँ बस्न मन नलागेर आश्रयस्थल पुगेका बेला ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेको फोन आयो, “तपाईं हिँडिसक्नुभएछ, ऊर्जा क्षेत्रमा निकै महफ्वपूर्ण समझदारी भए नि ?” मेरा लागि त्यो बैठक पहिल्यै विशेष भइसकेको थियो ।

प्रकाशित: श्रावण २४, २०७५