साहित्य

[निबन्ध] चुरुस

- नयनराज पाण्डे, काठमाडौं

मनबहादुर चुरोटका पुरानै अम्मली हुन् । पहिलापहिला सुल्पामा तमाखु भरेर खाए ।

कुनै बेला बिँडी पनि खाए । अचेल चुरोट पिउँछन् । एक दिन कसैले सोध्यो, “मनबहादुर दाइ, तपाईंलाई सबैभन्दा मीठो लाग्ने कुरा के हो ?”

उनले एक सेकेन्ड पनि अबेर नगरी जवाफ दिइहाले, “चुरुस !”

हो, उनलाई चुरोटजति मीठो कुनै परिकार लागेन । उनलाई चुरोटजति उपयोगी वस्तु केही लागेन । उनलाई चुरोटजति भरपर्दो कोही लागेन । चुरोटले उनलाई सुखमा पनि र दु:खमा पनि साथ दियो । चुरोटले रोग लाग्दा सन्चो बनायो । दमले सास बटारिँदा चुरोट नै ओखती भयो । पेट मडारिँदा चुरोटले निको पार्‍यो । अनिदो रातमा चुरोटले नै मीठो निद्रा दियो उनलाई । पीर पर्दा चुरोटले नै मन हलुका बनायो । अनि, किन नभनून् उनले, “मेरो त जिन्दगी नै चुरुस हो ।”

के मनबहादुरको मगज बिग्रेको छ ?

नत्र उनले किन भन्छन्, “चार–पाँच सय वर्ष नै भयो होला, मैले चुरुस खान थालेको ।”

तर, उनी बहुलाएका हुँदै होइनन् । गाउँमा बस्ने सबैको तीनपुस्ते थाहा छ उनलाई । सबै घरको सुखदु:ख थाहा छ उनलाई ।

को कहिले जन्मियो, को कहिले मर्‍यो ? कसले कुन गाउँकी, कसकी छोरीसित बिहे गर्‍यो ? कसकी छोरी कुन गाउँका कसका छोरासित बिहे गरेर गई ? कसकी छोरी कति वर्ष भयो माइत नआएकी ? कसकी बुहारी कति वर्षपछि माइती गइन् ? गाउँमा पहिला कोसित कति मुरी फल्ने खेत या कति मानो बिउ जाने बारी थियो ? कसले कति मुरी मार्सी फलाउँथ्यो र कसले कति भेडा पालेको थियो ? ककसले, कहिले, कुनकुन साहूसित सापट लिए र ऋण तिर्न नसकेर कोको घरबार बेचेर सुकुम्बासी भए र कोको नफर्किने गरी इन्डियामा कुल्ली र दरबान बन्न गए ? को–कहिले मुग्लान भासियो ? कुन नेताले कति सालमा कुन चुनाव जितेको ? कुन नेता चुनाव जितेपछि गाउँ नै फर्किएर नआएको ? यति सबै कुरा सम्झने मान्छेलाई के बहुला भन्न सकिन्छ ? अहँ, सकिन्न ।

तर, उनले चार–पाँच सय वर्षदेखि चुरुस खाइरहेछु भन्ने कुरा फेरि पनि असंगत र बहुलट्ठी किन लाग्छ ?

तपाईं उनीसित सोध्नूस्, “तपाईंले चार–पाँच सय वर्षदेखि चुरुस खाइरहेको कुरा त मैले पत्याइनँ दाइ ।”

जवाफमा उनी थोते गिजा देखाएर खितित्त हाँस्नेछन् र भन्नेछन्, “साँचो कुरा पत्याउने जमाना अब कहाँ छ र ? हो, मैले चार–पाँच सय वर्षदेखि नै चुरुस तानिरहेको छु । दलमर्दन शाहले नुवाकोटका सेनापतिको टाउको काट्दा पनि मैले चुरुस तानिरहको थिएँ । ११ सय गोर्खाली सेना मकवानपुर चढाइ गर्दा पनि म चौतारोमै बसेर सुल्पा तानिरहेको थिएँ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्न सुरु गर्दा पनि मैले चुरुस तानिरहेको थिएँ । उनले कीर्तिपुर हान्दा पनि म यही गाउँको चौतारोमा बसेर चुरुस तानिरहेको थिएँ । मैले चुरुस तान्दातान्दै नेपालको सिमाना टिस्टादेखि किल्ला काँगडासम्म पुगेको हो । मैले चुरुस तानिरहेकै बेला जंगबहादुर जन्मिएको खबर पाएको हुँ । कोतपर्वका बेला पनि मैले चुरुसै खाइरहेको थिएँ । सुगौली सन्धिका नाममा नेपालको ठूलो भूभाग अंग्रेजलाई सुम्पँदा पनि मैले चुरुसै खाइरहेको थिएँ । कहिले ब्रिटिस लाहुरे भएर, कहिले भारतको सिपाही बनेर नेपालीहरु अनेक–अनेक लडाइँमा मरिरहेको खबर आइरहँदा पनि म चुरुसकै धूँवा उडाइरहेको थिएँ ।”

के उसो भए मनबहादुर चार–पाँच सय वर्ष बाँचिसके ? यसको जवाफ भने कसैसित छैन गाउँमा । किनभने, हरेक पुस्ताले जब गाउँमा आँखा उघार्‍यो, उसले त्यति बेलादेखि नै मनबहादुरलाई देखेकै हो । गाउँका हजुरबुबासरहका बूढापाकाले पनि भन्छन्, “मेरो बाजेले पनि मनबहादुरका अनेक किस्सा सुनाइरहन्थे । उनले उतिबेला पनि चुरुस खान्थे रे ।”

“मैले चुरुस तान्दातान्दै सात सालअघि कांग्रेसले क्रान्ति गर्‍यो । मैले चुरुस खाइरहकै बेलामा पञ्चायती व्यवस्था आयो । मैले चुरुस पिउँदापिउँदै बहुदल आयो । जनयुद्धका नाममा सेना र माओवादीबीच गोली हानाहान हुँदा पनि मैले चुरुस नै सल्काइरहेको थिएँ । राजा वीरेन्द्रको वंश सखाप हुँदा पनि म त चुरुसकै कस लिइरहेको थिएँ । मैले भर्खर चुरुस सल्काएर एक दुई सर्को तान्न मात्र के भ्याएको थिएँ, नेपालमा गणतन्त्र घोषणा भइहालेको थियो ।”

वाह ! क्या गजबका कुरा सुनाउँछन् मनबहादुरले ।

                                                                                                    …

तर, मनबहादुरले झूटो भने बोलेकै होइनन् । नेपालको इतिहाससित उनको चुरुसको साइनो गाँसिएको ठीक साँचो हो । उनी नेपालका हरेक परिवर्तनका पक्का साक्षी हुन् । उनले धूँवा उडाइरहेकै ठाउँ वरपरबाट इतिहासका अनेक घटनाक्रम नदीझैँ सलल्ल बगेर गएका हुन् भन्ने कुरामा कसैले कुनै शंका व्यक्त नगर्दा हुन्छ ।

अचम्म भने लाग्छ, चार–पाँच सय वर्षअघि जन्मिएका मनबहादुरले आफ्नो जीवनकालमा अनेक राजनीतिक उतारचढाव देखे र भोगे । मान्छेमान्छेबीचको असमानता र विभेद हटाउने नाममा भएका अनेक परिवर्तन र लडाइँहरु देखे । परिवर्तनसँगै देशमा अनेक स्वादिला परिकारहरु पनि त आएकै हुन् । विभिन्न कम्पनीका बियर र रक्सी पनि त आएकै हुन् । मान्छेको जिब्रोमा हस्तक्षेप गर्ने अनेक चकलेट र बिस्कुटहरु पनि त आएकै हुन् । तर, उनलाई चुरुस मात्रै किन मीठो लागेको ? चुरुस मात्रै किन प्रीतिकर लागेको ?

अनि कसैलाई सोध्न पनि मन लाग्ला, “उहिलेदेखि अहिलेसम्मका कुनै राजा या नेताले किन उनलाई साथ नदिएका ? किन कोही आफन्त बनेर उनको दु:खदर्दमा साथ दिन नआएका र किन चुरोटलाई मात्र उनले आफ्नो सुखदु:खको साथी ठान्न बाध्य भएका ?”

प्रश्न सोध्यो, मनबहादुर थोते हाँसो छर्छन् र फेरि चुरोट तान्छन् । अनि, बुङबुङ धूँवा उडाउँछन् । उनको मुखबाट उडेको धूँवा उनकै शिरको ब्रह्माण्डमा गोलगोल घुमिरहन्छ । त्यही धूँवाबाट निर्माण हुन्छ एउटा विराट शून्य ।

के युगौँदेखि मनबहादुर हराइरहेको शून्य त्यही हो ?

                                                                                              …

“म चुरुस खाइरहेकै बेलामा पृथ्वीनारायण शाह आए र भने, हिँड् मने उपत्यका हान्न जाऊँ । बहादुर शाह आए र भने, हिँड् मने, हामी मिलेर नेपाल ठूलो बनाउन जाऊँ । एक सर्को चुरुस तानेको मात्र के थिएँ, भीमसेन थापा आए र भने, हिँड् मने मलाई नेपालको मुख्तियार बन्नु छ, तँ उपत्यका आइज र मलाई ९३ जना भाइभारदारको हत्या गर्न सहयोग गर् । म चुरुस खाँदाखाँदै जंगबहादुर आए र भने, हिँड् मने कोतमा आफन्तहरुलाई सिध्याउन जाऊँ । मैले चुरुस सल्काइरहेकै बेला विश्वेश्वरप्रसाद कोइराला आए र भने, मनबहादुर, तिमी पनि मसँगै क्रान्तिमा हिँड । मैले चुरुस खाइरहेकै बेला प्रचण्ड आएका हुन् र मलाई जनयुद्धमा लाग भनेकै हुन् । म नेपालका हरेक लडाइँ र हरेक क्रान्तिमा सहभागी भएको छु ।”

त्यसपछि उनले आफ्नो जिउबाट कमिज फुकाल्छन् र देखाउँछन् अनेक चोट । गोली र छर्राका अनेक घाउ । निधारमा देखाउँछन्, लात्ती र घुस्साका प्रहारले बनेका अनेक रङका दागहरु ।

लाग्छ, मनबहादुरले नपाएको कुनै चोट छैन । लाग्छ, मनबहादुरले नसहेको कुनै प्रहार छैन । लाग्छ, मनबहादुर नियतिका अनेक चोटपटक सहने मान्छेका रुपमा उभिएका इस्पात हुन् । लाग्छ, फलाम या वर्षांैदेखि अनेक यामका हावाहुरी र वर्षात सहिरहेका अग्राख हुन् ।

                                                                                             …

उनी चुरोटको धूँवा उडाउँदै बसिरहेका थिए । उनका छोरा आए र भने, “अब हामी खाद्यको चामल लिन लाइन बस्न जान्छौँ ।”

फेरि एक दिन नातिहरु आए र भने, “अब हामी पैसा कमाउन खाडी जान्छौँ ।”

छोराहरु खाद्यको चामलका लागि लाइन बस्न गएदेखि र नातिहरु खाडी गएदेखि उनको खेतले मार्सी फलाउन छाड्यो । नाति त खाडी हिँडिहाल्यो, छोरो भने खाद्यको चामलको रक्सी बनाएर खान थाल्यो । मनबहादुरले भात खान, पाउन छाडे र झन् बढ्ता चुरोट खान थाले । गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ भनेर जनता जगाउँदै हिँडेका पनातिहरु एकदिन मनबहादुरनिर आए र उनको खाट हटाउँदै भने, “यहाँ टिभी राख्नुपर्छ र भारतबाट आउने कौन बनेगा करोडपति हेर्नुपर्छ ।”

त्यसपछि मनबहादुरले ढाड टेकाउने गरेको भित्तोमा टिभी झुन्डियो र सुनाउन थाल्यो, ‘सारे जहाँ से अच्छा हिन्दोस्ताँ हमारा..’

मनबहादुरले चुपचाप टिभी हेरिरहे र चुरोटको धूँवा उडाइरहे ।

बाँझो खेत देखेर मन दुखाएका मनबहादुर एक दिन कस्सिए । उनी कोदालो बोकेर खेततिर लागे । खेत खने, सम्याए । सदरमुकामबाट बिउ किनेर ल्याए र चुरोट उडाउँदै फलाए केही मुरी धान ।

उनी ओठमा चुरोट च्यापेर धान काट्दै थिए, उनका अगाडि ठिंग उभिन आइपुगे अनेक रङका विदेशीहरु । कोट–पाइन्ट लगाएका विदेशी र तिनका एजेन्टहरु । तिनले धान माडिरहेका मनबहादुरका हात च्याप्प समाते र भने, “तैँले हाम्रो देशको बिउले फलाइस् यो धान । हामीलाई रोयल्टी चाहिन्छ ।”

मनबहादुरले दुई चार चुरोट दिएर फकाउन खोजे परदेशीहरुलाई । मानेनन् तिनीहरु । तिनीहरुले मनबहादुरको खेत कब्जा गरे । उनीहरुले लगे सबै धान । र, जाने बेलामा भने, “तिमीलाई आवश्यक पर्‍यो भनेफेरि हाम्रो बिउ किन्न आउनू । फेरि धान फलाउनू । फेरि हामीलाई रोयल्टी तिर्नू ।”

मनबहादुर जिल्ल परे र चुपचाप चुरोट उडाए । फेरि धूँवाको चक्कर बन्यो उनको शिरमाथिको ब्रह्माण्डमा । उनले त्यही ब्रह्माण्डमा उल्टोपुल्टो अनेक बल्ड्याङ खाए र फेरि आफ्नै गाउँको जमिनमा पछारिए ।

केहीअघि केही सुकिलामुकिला आए र चुरोट खाइरहेका मनबहादुरसित भने, “हामी तपाईंको घरसम्मै ल्याइदिन्छौँ समानता ।”

मनबहादुरले उनीहरुले भनेकै कागजातमा ल्याप्चे लगाइदिए ।

केही दिनपछि फेरि अर्कोथरी आए र भने, “हामी तपाईंको आँगनसम्मै समृद्धि ल्याइदिन्छौँ ।”

मनबहादुरले चुरोट तानीतानी तिनका कागजातमा पनि ल्याप्चे लगाइदिए ।

मनबहादुरका हत्केला हेर्ने हो भने देखिनेछन् चुरोटले पहेँलिएका औँलाहरु, कठोर श्रमले पारेका ठेलाहरु र कहिले पृथ्वीनारायण शाह, कहिले भीमसेन थापा, कहिले जंगबहादुर, कहिले बीपी बाबु र कहिले कमरेड प्रचण्डका आदेशमा लगाएका अनेकन ल्याप्चेका दागहरु ।

अचम्म नमान्नूस्, बस् यति कुरो बुझ्नूस्, एउटै मनबहादुरको उमेर चार–पाँच सय वर्ष भएको हैन । ती त पुस्तौँदेखि समान दु:ख, समान पीडा र समान समस्या भोग्दै आएका मनबहादुरका अनेक पुस्ता हुन् । अनेक रुप हुन् । अनेक संस्करण हुन् । नियति नफेरिएपछि नाम किन फेर्ने ? नियतिले अनेक मनबहादुरलाई एउटै मनबहादुर बनाएको छ ।

(गरिबहरुलाई नामले कहाँ चिनिन्छ  ? तिनीहरु त नियतिले चिनिन्छन् ।)

इतिहास फेरियो, भूगोल फेरियो, राजनीति फेरियो । मनबहादुरको के फेरियो ?

यही प्रश्न मनबहादुरलाई सोधियो भने उनले उसरी नै आफैँले सल्काएको चुरोटबाट उडेको धूँवाको ब्रह्माण्डमा हराउँदै जवाफ दिनेछन्, “केही फेरिएन । बस्, मैले पिउने गरेको चुरुसको नाम फेरियो हजुर ।” 

प्रकाशित: श्रावण २४, २०७५