विचार

ब्रेक्जिटको नेपाली बाछिटा

- विश्वास हमाल, काठमाडौं

जुन महिनाको त्यो रात बेलायत मात्र होइन, पूरै युरोप निदाएको थिएन । युरोपियन युनियन (इयू) भित्र बस्ने कि अलग्गै हुने भन्ने महत्त्वपूर्ण चुनाव ‘ब्रेक्जिट’ को नतिजा आतुरका साथ कुर्दै रातभर जाग्राम बसेको थिएँ म पनि । युरोपको अर्कै देशमा बसेर भर्खरै बेलायत बसाइ सरेकाले मैले यो चुनावी चहलपहललाई चाख दिएर सञ्चार माध्यमहरूमा पछ्याइरहेको थिएँ । बिहान ७ बजे सुरु भएर राती १० बजे सकिएको चुनावको नतिजा मध्यरातबाट आउन सुरु गरेको थियो । बेलायतका चार देश इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डबाट जब नतिजा आउन थाले, वातावरण झन् तातो हुँदै थियो ।

आर्थिक, राजनीतिक र ऐतिहासिक कारणबाहेक बेलायतमा रहेका ३० लाखभन्दा बढी युरोपियन नागरिक र अन्य युरोपियन मुलुकमा रहेका १० लाख बेलायती नागरिकको जीवनसँग सोझै जोडिएको थियो यो चुनाव ।

अन्त्यमा कसैले नसोचेको नतिजा आयो मध्यरातमा । बेलायतबासीले इयूबाट अलग हुने निर्णय गरे । पक्षमा करिब ५१ प्रतिशत भोट खस्यो । यो एउटा अप्रत्यासित मात्र नभई अकल्पनीय नतिजा थियो । नसोचेको नतिजाले मेरो निद्रा उडाएको थियो । त्यसको भोलिपल्ट जुन २४, २०१६ मा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिए । पाउन्डको भाउ निकै तल झर्‍यो । आमसञ्चारदेखि सामाजिक सन्जाल अनि इन्टरनेटभरि खैलाबैला मच्चियो । ठीक त्यसैबेला पोर्चुगलमा रहेका नेपाली साथीले निकै आत्तिएको स्वरमा फोन गरेर भने, “बर्बादै पार्‍यो यार ।”

लन्डनमा आफ्नो जवानी सकेर अहिले पोर्चुगलमा बेलायत फर्कने सपना बुनेका मेरो साथीका लागि त्यो चुनावी नतिजाले ठूलो झट्का दियो । आर्थिक मन्दी लागेका बेला विदेशी विद्यार्थीलाई भिसा खुकुलो पारेको मौका छोपेर ऊ बेलायत छिरेको थियो धेरै वर्ष पहिले । बागबजारको ट्युसन सेन्टरजस्तो लन्डनको तीनकोठे कलेजमा भर्ना भएको थियो ।

लन्डनमा उसले कहिल्यै एक्लो अनुभव गरेन रे । यहाँको चहलपहल, रौनक र जीवनशैलीमा छिट्टै भिज्यो ऊ । ख्यालख्यालमै ६ वर्ष बिताएछ उसले आफ्नो प्रिय सहरमा । नेपालबाट आउँदा भर्ना भएको कलेज सरकारले खारेज गरिदियो । २ वर्षको ट्युसन फीसहित समय पनि बर्बाद भयो । फेरि अर्को कलेजमा झुन्ड्यिो । न पढाइ सक्यो, न त राम्रोसँग कमाउन । तैपनि, ऊ दु:खी थिएन ।

के दिएन यो सहरले उसलाई ! जिन्दगीको अर्थ सिकायो, केही पाउन्ड दियो, केही नयाँ साथी बनायो । संघर्ष गरेको, नयाँ जीवन सुरुआत गरेको अनि नयाँ साथी भेटेको ठाउँको आफ्नै महत्त्व हुन्छ । भन्छन्, धेरै बसेपछि माटोसँग पनि नजानिँदो किसिमले निकटता बढ्छ रे । सायद त्यस्तै सम्बन्ध थियो होला लन्डन र मेरो साथीको । आर्सनल फुटबल क्लबको ठूलो समर्थक रहेको ऊ, त्यही सुरक्षा गार्डको काम पाउँदा निकै खुसी भएको थियो । लन्डनको पूर्व प्लम्स्टेडदेखि पश्चिमको हन्स्लो अनि सेन्टरल लन्डनको ग्रीनविचसम्म कोठा सर्‍यो ऊ । यो सहरको चप्पाचप्पा थाहा छ भन्थ्यो । हरेक नेपाली कार्यक्रममा जाने र सबैसँग सजिलै घुलमिल हुन सक्ने खुबीले नेपाली समुदायमा उसको छुट्टै नाम थियो । कसैलाई काम अनि कोठा चाहिएको खण्डमा उसले आफ्नो सोमालियनदेखि पाकिस्तानी साथीको नेटवर्क प्रयोग गरेर सकेसम्म सहयोग गथ्र्यो । एक किसिमले आफ्नो अलग्गै दुनियाँ बनाइसकेको थियो उसले लन्डनमा ।

अमेरिका, अस्ट्रेलिया र क्यानडाजस्तो ठूलो देश होइन बेलायत । क्षेत्रफलको हिसाबले सानो तर जनसंख्या निकै धेरै भएकाले यहाँको सरकार जसरी हुन्छ, आप्रवासी संख्या कम गर्ने कुरामा तल्लीन हुन्छ । अझ इयूभित्रको ‘फ्री मुभमेन्ट अफ लेबर’ भएपछि त घाँडो भएको थियो यो सरकारलाई । २७ वटा युरोपियन देशका नागरिक कुनै कागजातबिना सीधै आएर स्थायी रूपमा बेलायतीसरह बस्न पाउँथे । पहिला ठीकै भए पनि पोल्यान्ड, रोमानिया, पोर्तुगल, बुल्गेरियाजस्ता आर्थिक रूपमा कमजोर मानिने राष्ट्रबाट हजारौँको संख्यामा बेलायत छिरेपछि एकथरी बेलायतबासीलाई यो कुरा अपाच्य भयो । त्यसको एक मात्र विकल्प थियो, इयूबाट निस्कनु । आजको रात त्यसको खुसियाली मनाउँदै थिए बेलायतबासी, जसले इयू छाड्ने पक्षमा भोट गरेका थिए ।

आर्थिक मन्दीका बेला लाखौँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई आकर्षित गरेर उनीहरूले ल्याएको मुद्राबाट केही राहत बटुलेपछि बेलायत सरकारले अनेक बहानामा धमाधम आफ्नो देश फर्काउँदै थियो । आफैँले अनुमति दिएको कलेज खारेज गर्ने, विद्यार्थीले काम गर्न पाउने घन्टा कटौती गरिदिने, भिसा नवीकरण नगरिदिनेजस्ता समस्याले धेरैलाई घर न घाटको बनाएको थियो । त्यही घानमा मिसिएको थियो मेरो साथी ।

ऊ नेपाल फर्कने अवस्थामा पनि थिएन । न पढाइ पूरा गर्न सक्यो, न त कमाउन नै । नेपाल जान पटक्कै मन छैन भन्थ्यो । बेलायत बस्न उसले अर्को कलेज भर्ना हुन खोज्यो, काम खोजेर भिसा परिवर्तन गर्न खोज्यो । केही नलागेर लाखौँ तिरेर नक्कली बिहे गर्ने प्रयास पनि गर्‍यो । लुकेर काम गरेर मुस्किलले जोडेको केही पैसा पनि वकिललाई बुझाउँदा सकियो । अन्त्यमा केही उपाय नलागेपछि अरू हजारौँ विद्यार्थीजस्तै ऊ पनि लाग्यो, बंगलादेशी मानव तस्करको सहारा लिन । लन्डन छाड्ने दिन भावुक हुँदै भनेको थियो, “केही छैन, भाग्यले साथ दिए ५ वर्षमा युरोपियन नागरिकको रातो पासपोर्ट बोकेर फेरि फर्कन्छु ।”

लन्डनबाट १ सय ४० किमि टाढाको डोभर बन्दरगाहबाट पानीजहाजभित्र ठूलो ट्रकमा लुकी फ्रान्स छिरेको थियो ऊ । त्यहाँबाट बस चढी स्पेन हुँदै पोर्चुगलको लिस्बन सहर पुग्यो । लिस्बनमा उसले केही समस्या भोग्नुपरेन । बेलायतबाट भिसा सकिएर आएका उसका धेरै साथीहरू त्यहाँ पुगिसकेका थिए । त्यही हजारौँको भीडमा ऊ थपियो, जहाँ उनीहरू आफ्ना बेलायती सुखदु:खका दिनका कुरा गर्थे ।

उसको एक मात्र सपना थियो, छिटोभन्दा छिटो पोर्चुगलको पासपोर्ट बनाउने । जसले पूरै २८ वटा इयू देशमा बस्न र काम गर्ने अधिकार दिलाउँथ्यो । अनि, भोलिपल्ट आफूलाई मन पर्ने देश बेलायत फर्कने । तर, त्यो सोचेजस्तो सजिलो थिएन । सबै चीज भनेजस्तो भए मात्रै पनि कम्तीमा ५ वर्ष लाग्थ्यो । बेलायतमा दु:ख भोगेर गएको उसलाई लिस्बनको कठिनाइले छोएन । अरू सयौँ नेपालीले जस्तै जसोतसो गुजारा चलाएर बस्यो । मुस्किलले महिनाको ३–४ सय यूरो पाउने काम गर्‍यो ।

अहिले उसले पोर्चुगलको स्थायी कार्डसमेत पाइसक्यो । सुरुसुरुमा कामको चक्करमा केही महिनाका लागि बेल्जियम पनि बस्यो काम गर्न । अनि, अरू ३–४ महिना जर्मनीतिर हल्लियो ।

ब्रेक्जिटको नतिजाले बेलायतमा बसेका ३० लाख युरोपेली नागरिकभन्दा बढी छट्पटिएको मेरो साथी अहिले पोर्चुगलको राहदानी बनाउने प्रक्रियामा छ । ब्रेक्जिट चुनावको दुई वर्षसम्म बेलायतले इयूबाट निस्कने प्रक्रियाको ठोस कदम नचाले पनि, इयूमा रहने अन्तिम दिनको भने टुंगो लागेको छ । २०१९ मार्च अन्तिम सातासम्म बेलायत र इयूले सबै प्रक्रिया पूरा गरेर एकअर्काबाट अलग हुनुपर्नेछ ।

प्रकाशित: श्रावण २३, २०७५