अर्थ

नयाँ वित्तीय विवरणले लगानीकर्ता रणभुल्ल

- विजयराज खनाल, काठमाडौं

बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा यसअघि एकरूपता हुने गरे पनि अहिले फरक पद्धति अवलम्बन भएसँगै फरक–फरक देखिएका छन् । यसले लगानीकर्तालाई लगानी निर्णय गर्न समस्या भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले नेपाल फाइनान्सिङ रिपोर्टिङ स्ट्यान्डर्डमा आधारित भएर वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । फरक–फरक वित्तीय विवरणका कारण सेयर लगानीकर्ता भने रणभुल्लमा परेका हुन् ।

“अहिले केही द्विविधा देखिएको छ, लगानीकर्ता, बैंक र राष्ट्र बैंकसँग बसेर यसबारे थप स्पष्ट पार्नेछौँ,” हाथवे इन्भेस्टमेन्ट कम्पनीका विश्लेषक प्रकाश तिवारी भन्छन् ।

पहिले बैंकहरूले प्रकाशित गर्ने वित्तीय विवरणमा उल्लेख भएको नाफाबाट २० प्रतिशत रकम छुट्याएपछि लगानीकर्तालाई प्रतिफलका रूपमा बाँड्न योग्य रकम निस्कने गर्दथ्यो । तर, अहिले बाँड्न योग्य रकम खुलाएरै देखाउनुपर्ने व्यवस्था छ । यसमा पनि केही अन्योल छ । ग्लोबल आईएमई बैंकले नियामकीय व्यवस्था समायोजनपछि २ अर्ब १५ करोड रुपियाँ बाँड्न योग्य नाफा भएको उल्लेख गरेको छ भने गत वर्षको खुद नाफा १ अर्ब ९८ करोड रुपियाँ छ ।

खुद नाफाका आधारमा लगानीकर्ताले २० प्रतिशत रकम छुट्याएपछि बैंकले चुक्ता पुँजीको १७.८३ प्रतिशत नाफा बाँड्न सक्छ । तर, यदि ग्लोबलले देखाएको समायोजनपछिको नाफा सबै बाँड्न मिलेमा भने प्रतिफल दर २४ प्रतिशत हुन आउँछ । यसअघि पनि बैंकहरूले सञ्चितिमा रहेको बाँड्नयोग्य रकमबाट समेत थप प्रतिफल दिँदै आएका थिए ।

‘‘बैंकहरूको सोही अवधिको नाफाभन्दा समायोजनपछिको नाफा बढेमा वृद्धि भएको रकम भने बाँड्न नपाउने व्यवस्था छ,” नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल–बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना भन्छन् । ढुंगाना चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

एनआईसी एसियाले पहिले निकाल्दै गरेको र नयाँ दुवै व्यवस्था अनुसार वित्तीय विवरण प्रकाशित गरेको छ । नयाँ व्यवस्था अनुसार बैंकले ८५ करोड रुपियाँ रकम बाँड्न सकिने देखाएको छ । बैंकको गत आवको नाफा भने १ अर्ब ५२ करोड रुपियाँ छ । पुरानो व्यवस्था अनुसार हिसाब गर्ने हो भने लगानीकर्ताले गत वर्षकै नाफाबाट १५ प्रतिशत प्रतिफल पाउँछन् । तर, समायोजनका क्रममा ६७ करोड रकम घटाएको यो बैंकले ८५ करोड रुपियाँ मात्र बाँड्न मिलेमा लगानीकर्ताले १० प्रतिशत प्रतिफल पाउनेछन् ।

एभरेस्ट बैंकले भने गत आवको नाफा र समायोजनपछिको नाफा समान देखाएको छ । बैंकको नाफा २ अर्ब ७० करोड रुपियाँ छ । २० प्रतिशत छुट्याउदा बैंकले २६ प्रतिशत रसमायोजनपछिको पूरै नाफा बाँड्न मिलेमा ३३ प्रतिशत प्रतिफल दिन सक्ने अवस्था छ ।

सिटिजन्स बैंकले भने पुरानै ढाँचा अनुसार वित्तीय विवरण प्रकाशित गरेको छ । यस अनुसार १ अर्ब ४० करोड नाफा कमाएको बैंकले २० प्रतिशत रकम छुट्याएपछि १४ प्रतिशत प्रतिफल दिन सक्नेछ । बैंकहरूले चुक्ता पुँजीको दोब्बर नपुग्दासम्म अनिवार्य सञ्चिति रकममा वार्षिक नाफाको २० प्रतिशत रकम राख्नुपर्ने व्यवस्था यथावत् छ ।

प्रकाशित: श्रावण १८, २०७५