स्मरण

[स्मरण] इमानसिंह चेम्जोङको नोटबुक

- वैरागी काइँला, काठमाडौं

दसैँताका बुबाले मधेसबाट पहाड घर आउँदा एउटा पुस्तिका ल्याउनुभएको थियो । लिम्बू र नेपाली लिपि भएको त्यो सानो वर्णमाला । तर, मैले त्यसको लिम्बू लिपि र भाषा बुझिनँ । ००७ को क्रान्ति चरमोत्कर्षमा पुगेको थियो । इलाम बजारको पुछार तिल्केनीको सिरानमा वरपीपलको चौतारो थियो । उच्च ओहदाका कर्मचारी खटिएर इलाम आउँदा या सरुवा भएर जाँदा स्वागत र बिदाइ स्थल त्यही चौतारो हुन्थ्यो । अघिपछि बिगुल बजाउँदै आएका इलामका बडाहाकिम विज्ञानशमशेरले त्यही चौतारामा आएर नेपाली कांग्रेसका क्रान्तिकारीसमक्ष आत्मसमर्पण गरे ।

उतिबेला इलाममा प्रसिद्ध उक्ति थियो, ‘नरम चाना भुत्ले साग, खै खै ल्याऊ नर्सिङ ट्वाक ।’ नरम चाना भनेको सुँगुरको मासु, भुत्ले साग भनेको कुखुराको मासु अनि नर्सिङ ट्वाक भनेको खोयाबिर्के, रक्सी । बाहुन, क्षत्री त्यसबेला सबैले लुड्याए, नरम चाना, भुत्ले साग र नर्सिङ ट्वाक । कट्टरताबाट उदारताउन्मुख सामाजिक रुपान्तरणको संकेत थियो त्यो ।

लिम्बू अगुवाले मिलेर त्यही बेला सिक्किम देशबाट एक सरकारी राजस्व अधिकृतका रुपमा कार्यरत इमानसिंह चेमजोङलाई नेपालमा झिकाए । उनलाई झिकाउनेमा डबल सुब्बा खड्गबहादुर नेम्बाङ, देउमान आङदम्बे, रामबहादुर नेम्बाङ र नरबहादुर नेम्बाङ थिए ।

मैले पहिलोपटक इमानसिंहलाई ००८ भदौमा भेटेको हुँ, इलाममा पढ्दा । मेरा बुबाले उनलाई आफ्नै ससुराली नजिक मालापथमा एउटा डेराको प्रबन्ध गरिदिनुभएको थियो । बुबाले उनको हेरविचार गर्न मेरो साहिँला दाजु भूविक्रम नेम्बाङलाई खटाउनुभएको थियो । उनले इलामलाई केन्द्र बनाएर लिम्बूवानका सबै थुमको भ्रमण गरे र लिम्बू लिपि, भाषा, संस्कृति र किरात इतिहास खोजी गरे । त्यतिबेला उनले पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, चैनपुर, सुनसरी, मोरङ र झापा जिल्लाका उत्तरी क्षेत्र डुले ।

यिनी लिम्बू लिपि, भाषा तथा संस्कृति–इतिहासका ठूला विद्वान् थिए । उनले लिम्बू भाषाको शब्दकोश, मुन्धुम, व्याकरणका साथै इतिहास–संस्कृतिका पुस्तक लेखेका छन् । मैले पौवाको घरमा देखेको किताब भने कालेबुङमै हुँदा सन् १९३१ मा बाजवीर थुलुङसँग लिथो गरी छापिएको रहेछ ।  २९–३० पृष्ठको त्यो किताब निसिगेक याक्थुङ सपला (दोस्रो वर्णमाला) लिथो प्रविधिमा छापिएको थियो ।

कोलकातामा उच्च शिक्षा अध्ययन गर्दा उनलाई एक अंग्रेजले ‘लिम्बू जाति कुनै संस्कृति र भाषा–लिपि नभएको जंगली जाति हो’ भनेर अपमान गरेछ । त्यसैको इखले लिम्बूमाथिको अनुसन्धानमा लागेछन् । पछि सिक्किममा शिक्षक भएर आएपछि र राजस्व अधिकृत भएर काम गर्ने सिलसिलामा लिम्बू इतिहास सम्बन्धी व्यापक अनुसन्धान गरेर किरात इतिहास (१९४८) प्रकाशित गरे ।

भारतको दार्जिलिङ सीमा भएकाले उता गई पढेर आएका नरेन्द्रनाथ बास्तोला, गोविन्दप्रसाद सिंह, तेजबहादुर प्रसाईंजस्ता उदीयमान युवा इलाममै थिए । इमानसिंह नेपाल आएपछि ००९ तिर स्वायत्त लिम्बूवानका लागि उनकै अध्यक्षतामा तेजबहादुर प्रसाईं महामन्त्री र लीलाराज आङदेम्बे सचिव भएको ‘अखिल लिम्बूवान सुधार संघ’ स्थापना भयो । संघ पूर्वी नेपालमा मात्र होइन, नेपालभरि नै प्रभाव छाड्न समर्थ भयो । पृथ्वीनारायण शाहले विसं १८३१ मा ‘तुम्याङ याकहाङ’ का सन्तान भनेर लिम्बूहरूलाई सम्बोधन गर्दै ‘...तिमीहरु हाम्रा भारदारहरुसँग सामेल रही मद्दत सघाई हिजो आफैआफ आपुङ्गी बसी आयेबमोजिम त्यो मुलुक सम्भार गरी जिमीभूमि रहिन्ज्याल तिम्रा शाखासन्तानतक भोग्य गर ...’ भन्ने लालमोहर बमोजिमको अधिकार दिएका थिए । र, त्यो अधिकार कटौती गरिनुहुन्न भन्ने माग लिएर इमानसिंह धेरै पटक काठमाडौँ गएका थिए ।

यिनी एउटा नोटबुक र कलम बोकेर गाउँगाउँ पैदल घुम्थे र स्थानीयसँग लिम्बू भाषाका शब्द र तिनका अर्थ संकलन गर्थे । उनले लिम्बू जातिको जन्म, बिहेबटुलो, चाडवाडदेखि मृत्युसम्मका संस्कार–संस्कृति अनि स्थान, नाम र वनस्पति सम्बन्धी शब्द यसरी नै संकलन गरे । सिक्किममा हुँदै किरात इतिहास लेखिसकेका यिनले नेपाल आएपछि किराती लोककथा, किरात मुन्धुम, लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश, लिम्बू व्याकरण, किरात जातिको संस्कृति र इतिहास, विजयपुरको संक्षिप्त इतिहास आदि महत्वपूर्ण कृति प्रकाशित गरे । यिनी लिम्बू जातिको समग्र अध्ययन गर्ने एक मात्र यस्ता विद्वान् थिए, धेरै विदेशी विद्वान्ले उनकै सहयोगमा लिम्बू भाषा–संस्कृतिको अनुसन्धान गरेका हुन् ।

प्रस्तुति : रमण घिमिरे

प्रकाशित: श्रावण १८, २०७५