विचार

परदेसिएका पौरखी

- रामेश्वर खनाल, काठमाडौं

सन् २००८ को हिउँदमा एसियाली विकास बैंकद्वारा मनिलामा आयोजित बैठकको प्रस्तुतिपछि बैंकका एक महानिर्देशकले वक्ताहरूलाई विशेष दिवाभोजमा आमन्त्रण गरे । विशिष्ट व्यक्तिहरूको भोजनकक्षमा महानिर्देशक र म सँगै परेछौँ । त्यही बेला उनीसँग नेपालमा सञ्चालित बैंकका आयोजनाको कार्य सम्पादन, बैंकका नीति आदि विषयमा कुरा भयो । कुराकानीकै क्रममा उनले साँझको खानाका लागि आफ्नो घरमा नेपाली टोलीका सबैलाई आउने निम्तो दिए । खानापछि बैठकको दोस्रो सत्र सुरु हुनुअघि उनी मछेउ आए र साँझको निम्तो नबिर्सनू है भनेर सम्झाए । त्यो साँझ हामी बसेको होटलबाट बैंकको गाडीले मेट्रो मनिलाको आलिसान आवासीय क्षेत्रमा रहेको उनको निवासमा पुर्‍यायो ।

हामी तीन नेपाली र उनका साथी सर्कलका दुई परिवार त्यो साँझ पाहुना थियौँ । आधा घन्टाजति यताउति कुरा गरेपछि उनले हामीलाई खान बोलाउनुको भेद खोले, “मेरी पत्नीसँग परिचय गराउन आज तपाईंहरूलाई डाकेको हुँ ।” परिचय त उनले गाडीबाट हामी ओर्लनेबित्तिकै गराइसकेका थिए । के थप परिचय होला ? म मनमनै सोच्दै थिएँ । उनले थपे, “यिनी नेपाली मूलकी फिजियन हुन् । ल अब यिनीसँगै कुरा गर्नुस् ।” उनको नाम रहेछ, देउकी करका । उनकै चाहनामा हामीलाई बोलाइएको रहेछ । नेपाली भाषा पूरै बिर्सेको पछिल्लो पुस्ताकी देउकीलाई उनको हजुरबुबाले कुनै दोलखा नाम गरेको नेपालको ठाउँबाट फिजी आएको कुरा बताएका रहेछन् । उनको पछिल्लो नाम ‘खड्का’ बाट अपभ्रंश हुँदै करका भएको हो कि भनेर हामीले उनलाई भन्यौँ । देउकीका पुर्खा करिब १८० वर्षअघि ब्रिटिस–भारतका शासकहरूले ब्रिटिश उपनिवेशका मुलुकहरूमा कामदारका रूपमा लैजाँदा बिहार र उत्तरप्रदेशका मान्छेसँगै फिजी र अन्य मुलुकमा फैलिएका रहेछन् । फिजीमा मात्र करिब १० हजार नेपाली मूलका मानिस छन् भनिन्छ । कतिपय अन्तरसमुदाय बिहाबारीका कारण नेपाली पहिचान पूरै गुमाएका छन् ।

करिबकरिब त्यही समयदेखि नै कालीगण्डकी सेरोफेरोदेखि पूर्वी क्षेत्रको मध्य–पहाडी इलाकाबाट नेपालीहरू काम र आर्थिक उपार्जनका अवसरको खोजीमा आसाम, मेघालय, पूर्वी बंगाल (हालको बंगलादेश), म्यानमार, थाइल्यान्ड, मलेसियासम्म पुगेका छन् । यीमध्ये म्यानमारपूर्व हानिएका नेपालीहरू उतैका रैथाने भए । म्यानमार र भारतको उत्तरपूर्वी क्षेत्रमा बसोबास गरेका नेपाली संकटका खासखास बेलामा जत्थाका जत्था नेपाल फर्के । र, तीमध्ये धेरै नेपालभित्र नयाँ ठाउँमा बसोबास गरे, पुरानो ठाउँमा फर्केर प्राय: गएनन् ।

उता बसेका कतिपय नेपाली समुदायभित्रै बिहाबारी भए पनि नाम थर रुपान्तरण हुँदै नेपाली भनेर ठम्याउन गाह्रो पर्छ । थाइल्यान्डको फुखेतमा करिब तीन हजार नेपाली मूलका थाईहरू छन् भनिन्छ । नेपाली मूलका थाईहरूको संगठनका अध्यक्ष र सचिव हुन्, फानुपोंग लिम्बुप्रसेत्र्कुल र ओमजी खोदोमकुल । यी नामहरू अलि गहिरिएर केलाएपछि मात्र नेपाली हुन् कि जस्तो लाग्छ । नामहरू नचिनिने भएका छन् । थर अपभ्रंश हुँदै गुरुङ गुलुंग, पौडेल पौरियाल, पोखरेल पोखरियाल, खड्का करका, बस्नेत बसिनेत आदि भएका छन् ।

थाइल्यान्ड–म्यानमार सीमाको कन्चनबुरी क्षेत्रमा घर भई बैंककस्थित नेपाली दूतावासमा काम गर्ने नेपाली मूलका थाई सुवास गुलुंग आफ्नो पुर्खाको घर सिन्धुपाल्चोकतिर हो भन्थे । उनको एउटा गुनासो थियो, नेपालको पहाडबाट थाइल्यान्ड आएर पनि आफ्ना बाजे–बराजुले पहाड नै रोजे । ‘फाँटमा बसेको भए त अहिले हामीले यस्तो सानोतिनो जागिर खानु पर्दैनथ्यो ।’ यो भनाइ गुलुंगको मात्र होइन, फिजीकी देउकीको र पछिल्ला दस वर्षमा बैंककका सुपर मार्केट र रेस्टुराँहरूमा छ्याप्छ्याप्ती भेटिने नेपाली मूलका बर्मेलीहरूको पनि हो ।

पहिरो, खडेरीजस्ता प्राकृतिक विपत्तिले साहूको ऋण तिर्न नसकेर वा गाउँठाउँमा कुनै बात लागेर उठीबासमा परी नेपालबाट प्रवासी भएकाहरूले भेटेसम्म बसोबासका लागि पहाडी क्षेत्र र गुजाराका लागि खेती तथा पशुपालन रोजे । उनीहरूले रोजेको बसाइ र पेसाका कारण स्थानीय राजनीति, व्यापार र वृत्ति विकासमा नेपालीले ती मुलुकमा उल्लेख्य पहिचान बनाउन सकेका छैनन् । म्यानमार र थाइल्यान्डमा नेपालीहरू उच्च शिक्षामा कम पहुँच भएको सीमान्तीकृत वर्गमा दरिन्छन् ।

बंगलादेशमा ठूलो संख्याका नेपालीले धर्म परिवर्तन गरेर इस्लाम धर्म अँगाले भन्छन्, सिल्हेटतिरका नेपाली मूलका मानिसहरू । त्यसबेलाको नेपाली प्रवासनका अरू केही विशेषता छन् । पहिलो, उनीहरू धूमधामले दसैँ मनाउँछन् । नेपालमा बरु दसैँ मनाउने तरिका फेरियो, त्यताको दसैँ भने दुई शताब्दीअघि नेपालको पहाडी दसँैजस्तो हुन्छ । दोस्रो, बसाइँ सरेर जानेहरू कालीगण्डकी सेरोफेरोदेखि पूर्वी क्षेत्रको मध्य–पहाडी इलाकाका मात्र भेटिन्छन् । प्यूठान पश्चिम नेपालका र तराईका थारु तथा अन्य आदिवासीहरू त्यसरी बसाइँ सरेर गएको देखिँदैन । तेस्रो, प्राय: प्रवासी दक्षिणपूर्वतिर हानिए । पश्चिम र मध्यएसियाली मुलुकतिर गएको भेटिन्न ।

दोस्रो किसिमको नेपाली प्रवासी ब्रिटिस सेनामा गोर्खालीहरूलाई भर्ना गर्न थालेदेखि उदाए । नेपाली समाजमा लाहुरे भनेर चिनिने वर्ग हो यो । प्रथम विश्वयुद्धमा ब्रिटिस सेनामा रहेर करिब दुई लाख नेपालीले लडे । भनिन्छ, २० हजारले त्यसबेला वीरगति प्राप्त गरे । ब्रिटिस सेनामा राम्रो तलब पाउँथे र बेलाबेलामा बिदा । खासगरी दसैँ मनाउन युद्ध नभएका बेला गोर्खालीलाई सहजै बिदा मिल्थ्यो । यसले गर्दा यी प्रवासीको आफ्नो परिवार र गाउँठाउँसँग सम्पर्क भइरह्यो । यिनीहरूलाई पहाडको हावापानी र मनोरम बसाइको सम्झना रहिरह्यो र अवकाशपछि नेपाल आफ्नै थातथलोमा फर्के । यहाँसम्म कि सहरी क्षेत्रमा घरबास जोड्ने चासो पनि राखेनन् । भारत र दक्षिणपूर्वी एसियाका मुलुकहरू ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएपछि भारत र कतिपय अरू मुलुकले गोर्खाली सेनाको एउटा हिस्सालाई निरन्तरता दिए । त्यसपछिको अवधिमा लामो समय सैनिक सेवामा रहेकाहरूमध्ये केहीले आफ्नो बसोबास परिवारसहित उता सारे । बढी मात्रामा यस्ता परिवार उत्तरपश्चिम भारतमा भेटिन्छन् ।

राज्यहरूबीच सहज आवागमनमा नियन्त्रण, पासपोर्ट र भिसाको प्रबन्ध हुन थालेपछि काम र अवसरको खोजीमा नेपालीहरूको गन्तव्य भारत मात्रै रह्यो । सन् १९६० पछि १९९० सम्म भारत भएर समुद्रको यात्रा गरेर अरू देशमा बसोबास गर्न पुगेका नेपालीहरू छैनन् भने पनि हुन्छ । त्यो अवधिमा खुला आवागमन भएकाले मौसमी रोजगारीका लागि होस् वा लामो समय काम गर्ने उद्देश्यले नेपाली जाने मुलुक भारत मात्र रह्यो । यीमध्ये कतिपय भारतका विभिन्न राज्यमा स्थायी बसोबास गरेका छन् । भारतमै जन्मेको नयाँ पुस्तामध्येका केहीले आफ्नो पहिचान स्थापित गर्ने क्रममा छन् । अघिल्लो पुस्ताले गरेको निम्न स्तरको कामभन्दा राम्रो सफेदपोशी रोजगारी, व्यवसाय र मानव क्षमताका अरू विधामा उनीहरू अगाडि आउँदै छन् ।

०४६ को राजनीतिक परिवर्तनले नेपाली शासन प्रणालीलाई उदार बनायो । विदेश भ्रमणका लागि राहदानी दिने प्रबन्ध खुकुलो भयो । सोभियत संघको विघटन र विश्व राजनीतिमा शीतयुद्धको अन्त्य पनि त्यही समयमा भयो । निश्चित मुलुकहरूमा मात्र भ्रमण गर्न पाउने गरी नियन्त्रित रूपमा जारी गरिने नेपाली राहदानी पनि सबै मुलुकको भ्रमणका लागि खुला गरियो । यसले तीनवटा बाटो नेपालीलाई खोलिदियो ।

पहिलो, नेपालीहरू लाभदायी कामको खोजीमा भारतबाहेकका मुलुकहरू पहिल्याउन थाले । ०४७ देखि ०५५ सम्म सुस्त गतिमा खाडी मुलुकमा काम गर्न जाने नेपालीको संख्या बढ्यो । नेपालमा सशस्त्र द्वन्द्व चर्किंदै जाँदा ०५५ पछि दैनिक ठूलो संख्यामा युवाहरू खाडी मुलुक र दक्षिणपूर्वी एसियाका मुलुकमा कामको खोजीमा जान थाले । एकाएक म्यानपावर एजेन्सी व्यवसाय नेपालमा ठूलो व्यवसायका रूपमा उदय भयो ।

दोस्रो, उच्च शिक्षाका लागि आफ्नै खर्चमा रुस, पश्चिमा मुलुक र खासगरी अमेरिका तथा अस्ट्रेलिया जाने विद्यार्थीको संख्या प्रत्येक वर्ष बढ्दै गयो । विकसित मुलुकमा पढ्न जाने मात्र होइन, विगतमा सरकारी छात्रवृत्तिमा विकसित मुलुकमा विशिष्ट प्रकृतिको उच्च शिक्षा हासिल गरेर नेपालमा सरकारी सेवामा रहेका वा आफ्नो पेसा व्यवसाय गरेका नेपालीहरू एकपछि अर्को गरेर विकसित मुलुकमा रोजगारी खोज्दै गए । कतिपय दक्ष सरकारी कर्मचारी वैदेशिक अध्ययन तालिममा गएका बेला उतै हराए ।

तेस्रो, क्यानाडा, अमेरिका, अस्ट्रेलिया र बेलायतजस्ता मुलुकले डिभी वा पीआरको नामबाट होस् वा लगानीको रकम देखाउन सक्नेलाई नागरिकता दिने स्किमबाट होस् वा दक्ष जनशक्तिलाई सहजै स्थायी प्रवेशाज्ञा दिने प्रबन्ध गरेर होस्, आप्रवासमा त्यही बेला लचकता देखाए । एकातिर मुलुकमा सशस्त्र द्वन्द्व र अस्थिरता, अर्काेतिर समुद्रपार अवसरै–अवसर ! ०५० पछि नेपालबाट ठूलो संख्यामा दक्ष जनशक्ति पलायन हुन थाल्यो ।

पछिल्लो कालखण्डमा यी तीन किसिमका प्रवासी नेपालीमध्ये कामदारका रूपमा खाडी मुलुक तथा दक्षिणपूर्व एसियाली मुलुकमा गएका नेपालीहरू सेवाको सर्त बमोजिम नेपाल नफर्की धर पाउँदैनन् । यस्ता धेरै मुलुकले परिवार लैजाने वा सँगै राख्ने अनुमति दिँदैनन् । कमाएको रकम नेपाल पठाउन कुनै छेकबार गर्दैनन्, जसले गर्दा यिनीहरूले निर्धारित काम गर्ने र कमाएको रकमसहित नेपाल फर्कने बाहेक उता पौरख देखाउने सम्भावना त्यति छैन । तथापि, केहीले स्थानीयसँग मिलेर उतै व्यवसाय सुरु गरेका छन्, जुन ख्यातिको उच्चतासम्म पुगेको देखिँदैन ।

०४६ पछि आफ्नै खर्चमा उच्च शिक्षा अध्ययन गर्न गएकाहरूमध्ये फर्कनेको संख्या एकदम कम छ । ०४६ अघि छात्रवृत्तिमा पढ्न गएकामध्ये उतै हराउनेको संख्या एकदम कम हुन्थ्यो । करिबकरिब त्यस्तै स्थिति छ, ०४६ पछि फर्कने विद्यार्थीहरूको । यीमध्ये पछिल्लो पुस्ता उतै जन्मे, हुर्के, बढे । पछिल्लो पुस्तालाई नेपाल गरिब, पिछडिएको विपन्न मुलुकजस्तै लाग्छ । पछिल्लो एक दशकमा स्काइप, भाइबर, फेसटाइमजस्ता व्यक्तिगत सञ्चारका माध्यम विकसित भएकाले नेपालमा रहेका आफ्ना बाजेबज्यैसँग कुरा गर्दागर्दा नेपालीसम्म बोल्न सक्छन् । तर, नेपाली संस्कृति धेरैलाई अनौठो लाग्ने भएको छ । यिनीहरूमध्ये धेरै कम मात्र नेपाल फर्कन तयार छन् । यिनीहरू जहाँ–जुन विधामा काम गर्दै छन्, त्यहाँ राम्रै पहिचान बनाएका छन् । चिकित्साशास्त्र, इन्जिनियरिङ, अर्थशास्त्र, अन्तरिक्ष विज्ञानजस्ता विधामा उनीहरूको अन्तर्राष्ट्रिय ख्याति समाचार बन्दा प्रवासी नेपालीलाई भन्दा नेपालमा दु:खजिलो गरेका नेपालीमा बढी खुसी छाउँछ ।

विदेशमा उच्च शिक्षा हासिल गरेर केही समय नेपालमा आई काम गरेका र राम्रो अवसर पाएर वा खोजेर विदेशमा गएका प्रवासी नेपाली धेरै मुलुक र क्षेत्रमा अग्र पंक्तिमा रहेका देखिन्छन् । यिनीहरू आफू मात्र होइन, पछिल्लो पुस्ताकाले पनि विभिन्न क्षेत्रमा पौरख देखाउँदै छन् । यीमध्ये कतिपयले नेपालको उद्योग–व्यवसायमा लगानी गर्दै छन् ।

डीभी परेर वा पीआर वा खोजेर परदेसिएकामध्ये अलि उमेर घर्किएर गएकाहरू एउटा अनौठो मझेरोमा छन् । नेपालमा रहँदा जे–जति सामाजिक सम्मान, ख्याति, पेसागत दक्षता थियो, त्यो सब विदेशमा बेकाम भयो । उता गएर आफूलाई स्थापित गर्ने उमेर र धैर्य पनि छैन । खुरुक्क फर्कन केटाकेटीको शिक्षा–दीक्षाको चिन्ता रहन्छ ।

कोरिया, भारत, चीनजस्ता मुलुकले प्रवासी गैरआवासीय नागरिकको सीप र लगानीलाई आकर्षण गर्न सकेका कारण पनि ती देशले उच्च दरको आर्थिक वृद्धि हासिल गरे । नेपालको सन्दर्भमा दक्ष, विदेशमा राम्रो ओहदामा काम गरेका वा सफल व्यवसाय सञ्चालन गरेका कतिपय प्रवासी नेपालीहरूले नेपाल फर्कने र नेपालमै आफ्नो खुबीको प्रयोग गर्ने प्रयत्न नगरेका होइनन् । बेलाबेलामा एकदमै सानो संख्यामै भए पनि सरकारको आमन्त्रणमा केही व्यक्ति विदेशको आकर्षक अवसर छाडेर आए । व्यक्ति त आए तर, विदेशमा उनीहरूले जुन प्रणालीमा काम गरे, त्यो प्रणाली आउन सक्दो रहेनछ । राजनीतिक पहिचान र सम्बन्धका आधारमा काम हुने, सहयोगीभन्दा अल्झाउने सार्वजनिक प्रणालीले गर्दा नेपालमै फर्केर पौरख देखाउने प्रवासी नेपालीको संख्या बढेको छैन ।

प्रकाशित: श्रावण १७, २०७५