समसामयिक

पौरखी प्रवासी

- बसन्त बस्नेत, काठमाडौं

मुगलानिनु भनेको दु:खै पाउनलाई हो भन्ने आम नेपाली ठहर लामो कालसम्म रह्यो । बसाइँ पढेर हुर्केको पुस्ताले बसाइँसराइ सह्राउने कुरै थिएन । रेडियो नेपालले मविवि शाह रचित गीत बजाइरहन्थ्यो, ‘नजाऊ छोडी यो देश, आमालाई रुवाएर ।’

उबेलाका गीत, कविताले जे–जे भन्दै गरे पनि पछिल्लो समय यहाँभन्दा सुविस्ताको आश गर्दै विदेसिनेहरू घटेनन् । भारत या समुद्रपारि पुग्ने नेपालीहरू कोही युद्धका लाहुरे भए, कोही कामदार । कोही छात्रवृत्ति पाएर पढ्न गए, कोही व्यवसायमा तरक्की गर्न । त्यसैले पछिल्लो पुस्तालाई मविवि शाहका राष्ट्रिय गानले पुगेन । नेपाली डायस्पोराले आफ्ना लागि नयाँ गीत छान्यो । कतिपय गैरआवासीय नेपालीले लगाउने टिसर्टहरूमा हामी देख्छौँ, ‘यु क्यान टेक मी आउट अफ् द कन्ट्री, बट् यु क्यान्ट टेक द कन्ट्री आउट अफ् मी ।’ अर्थात्, तिमी मलाई देशबाहिर लैजान सक्छौ, तर मेरो देशलाई मबाट बाहिर लैजान सक्दैनौ ।

खेतीपातीले जेनतेन धानेको निर्वाहमुखी अर्थतन्त्रबाट माथि उठ्ने हुँदा नेपाली जातिले प्रवासमा पनि दु:खै गर्‍यो । त्यसले अरूको जीवन बुझ्न सघायो । तिनको आँखाबाट आफूलाई हेर्न सिकायो । प्रवासको नौलो रहनसहनमा घुलमिल हुन सुरुमा पक्कै सजिलो थिएन । आपसका बसिबियाँलोदेखि एक्लै देखिने रातीका सपनाहरू मातृभूमिको मायाले लछप्पै भिजे होलान् । बिस्तारै उनीहरू उतैको हावापानीमा अभ्यस्त हुँदै गए । उता गएकाहरूमध्ये कति नेपाली एउटा अन्तरालपछि खुसी–खुसी देश फर्के । कतिका पिँढी दरपिँढी उतै रहेबसे, बिते ।

बसाइँसराइले सधैँ दु:ख मात्रै दिँदैन । यसले संसार सिकाउँछ । धेरै देश घुम्ने एक अग्रजले एउटा जमघटमा भनेका थिए, ‘सायद संसारका अधिकांश देशमा पुग्न सक्ने जातिमध्ये नेपाली पनि हुनुपर्छ । जुनै देशमा गए पनि यताका कोही न कोही भेटिन्छन् ।’

एक दशकअघि जोन डेनियल्सको वर्ड इन् फेभर अफ् रुटलेसनेस  पढ्न नपाउँदासम्म यो पंक्तिकार पनि विदेसिनु भनेको गलतै हो भन्ने मान्यतामा अडिग थियो । विदेसिनेहरूलाई ‘पलायनवादी’ ठान्ने आम प्रवृत्ति नै हो । डेनियल्स लेख्छन्, ‘बसाइँसराइ सधैँ खराब हुँदैन । यसले अरू मानिस र समाजलाई हेर्ने दृष्टि चौडा पारिदिन्छ । एकै ठाउँ बसिरहँदा माटोप्रतिको अपनत्व त बढ्ला, तर पृथ्वीको बृहत्तर सौन्दर्य चिन्ने क्षमता र मौका खेर जान सक्छ ।’

यो सत्य हो, देश बनाउन कस्सिनुपर्ने बेलामा हामीलाई आवश्यक पर्ने कतिपय क्षमतावान् मस्तिष्कहरू उपलब्ध छैनन् । तीमध्ये कोही अमेरिका, युरोपमा पहिलो विश्व खोज्दै ‘भासिए’ । कमजोर आयस्ता हुनेहरू कोही खाडी, कोही भारत, बर्मा या एसियाली देशहरूमा श्रम गर्न गए । राज्यले आफ्नो भागको क्षति बेहोरिरहेको छ, थातथलो छाडी गएका आफ्ना पौरख र प्रतिभाहरूलाई ‘ब्रेन ड्रेन’ हुन दिएकामा ।

तर, चित्र यत्तिमै पूर्ण हुन्न । हरेक मानिस आफैँमा विश्वनागरिक पनि हो । जसले आफ्नो पढाइ र तोकिएको जिम्मेवारी पूरा गरी स्वदेश फर्किए, तिनलाई सलाम छ । जसले अन्यत्र रहेबसेर, त्यतैको नागरिक भएर नेपाली पहिचानको सुवास फैलाए, तिनलाई पनि अभिवादन छ । नेपाली पहिचान भनेको नागरिकता मात्रै होइन, जसलाई मेची महाकालीका ७७ जिल्लाभित्र समेट्न सकियोस् । बाहिर बसेर पनि नेपाली मौलिकता र सहिष्णुताको समष्टिलाई माया गर्नेहरू नेपाली हुन् ।

प्रवासमा रहेर नेपाली जातिको सुनाम फैलाउन आ–आफ्नो क्षेत्रबाट योगदान दिने १९ पौरखीहरूमाथि नेपालको यो वार्षिकोत्सव विशेषांक प्रस्तुत छ । प्राज्ञिक क्षेत्र, अनुसन्धान, व्यापार, उद्योग, कला, साहित्य, सिनेमा, संगीत, फेसनजस्ता क्षेत्रमा दुर्गम उचाइसम्म अग्लिने यी अनुहार हेर्दा थाहा लाग्छ, नेपाली जाति अब सीमापारिबाट आएको श्रमिक मात्रै रहेन । ऊ त्यहाँको अब्बल र अगुवा बनिसक्यो । श्रम, पसिनाले आफ्नो भाग्य अजमाउन गएका गुमनाम नेपालीप्रति हाम्रो हृदयमा त्यत्तिकै न्यानो छ ।

यीमध्ये कतिपय प्रवासी नेपालीहरूको समुदाय या संस्थासँग जोडिएका छन्, कतिपय आफ्नै कर्मको संसारमा । यस्ता अरू थुप्रै नाम हुन सक्छन् । तिनीहरूलाई खोज्ने, भेट्ने नेपालको यो सानो प्रयास मात्रै हो । यो खोजी आगामी दिनमा अझै जारी रहनेछ ।

उत्रो अपेक्षा केही छैन । प्रवासी नेपालीले सकेछन् भने मातृभूमिको उन्नतिमा यथासक्दो इँटा थपिरहून् । नसके पनि त्यतैबाट नेपाली जातिको सुवास फैलाइरहून् । आखिर तनलाई जतासुकै लगे पनि मनभित्रको मूलदेशलाई आफूबाट बाहिर लैजान कहाँ सकिन्छ र ! १९७४ एडीको गीतै छ नि, ‘जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो ।’

स्टार अर्थशास्त्री

कानुनका सौर्य

चमत्कारी चिकित्सक

मस्तिष्कमा मंगल, मनमा नेपाल

सपना महाप्रबन्धक

चार देशका विज्ञ

खजानाको खोजीमा

अब्बल आर्किटेक्ट

ईरीको कथा

रूप थरीथरीका

बहुमुखी व्यवसायी

जमिनमुनिका ज्ञाता

विज्ञान यात्रा

अन्तर्राष्ट्रिय शोभा

फेसनका टाकुरा

लुनाको उडान

घुमिफिरी चीन

रुबीको चमक

अंग्रेजीको कमाल

यी पनि अब्बल : 

नीति निर्माण तहमा

मल्लिकाको दृष्टि

असफलतालाई गुरु थापेर

आप्रवासी उपमेयर

जो बलिउडमा उदाए

प्रकाशित: श्रावण १६, २०७५