विचार

जात सोध्नैपर्छ र ?

- सुरेन्द्र लाभ, काठमाडौं

बर्दियाको ठाकुरद्वारामा थियौँ हामी त्यस दिन । एक जनाले फ्याट्टै सोधे, “तपाईंको अनुहार चिनेजस्तो लाग्छ !” “कुनै पत्रिकामा हेर्नुभएको होला,” जवाफ आयो । “हो हो,” प्रश्नकर्ताले सम्झेछन्, “हो कान्तिपुरमा । तपाईंको नाम ?”

“चन्द्रकिशोर ।” अर्को जवाफ आयो । “ए हो हो,” प्रश्नकर्ताले फेरि सम्झे । पत्रकार चन्द्रकिशोरसँग हार्दिकतापूर्वक हात मिलाए । पाँच मिनेटमै अपनत्व स्थापित भयो । र, प्रस्ताव राखे, “आज दिउँसो जंगल घुम्न जाऊँ, मसँग हात्तीको व्यवस्था छ ।” “हेरौँला,” चन्द्रकिशोरले जवाफ फर्काउनासाथ फेरि प्रतिप्रश्न आयो, “चन्द्रकिशोर के ? पूरा नाम भन्नुहोस् न ?”

“म चन्द्रकिशोर मात्रै लेख्छु ।”

अझै पनि प्रश्नकर्ताको चित्त बुझेन । उनले कोट्याइरहे, “तैपनि केही त होला ।” ‘केही छैन’ भन्दा पनि चिया पिउने र खाजा खाने बेला एउटै प्रश्न गरिरहे, “पूरा नाम भन्नुस् न ।”

खासमा जात जान्न चाहिरहेका थिए प्रश्नकर्ता । एक्काइसौँ शताब्दीमा आएर पनि हाम्रो समाजको यो कस्तो रोग ! पहाडका कतिपय ठाउँमा अहिले पनि नाम र गाउँभन्दा पहिले थर सोध्ने चलन छ, मधेसतिर जात । केही वर्षअघिसम्म देहाततिर नवआगन्तुकसँग पहिलो प्रश्न गरिन्थ्यो, “तपाईं को ?”

प्रश्नकर्ताले न नाम जान्न चाहे, न त गाउँ । बरु जात जान्न खोजे । परिचय जातबाट प्रारम्भ हुन्छ । हिजोआज प्राय: प्रत्यक्ष रूपमा यस्तो प्रश्न सोधिन्न । तर, जात जान्ने इच्छा अहिले पनि प्रबल छ । मधेसी हो कि पहाडी, त्यो बुझ्ने चाहना तीव्र हुन्छ । कस्तो मनोविज्ञान हो यो ?

पेसाका आधारमा जातको वर्गीकरण भएको हो भने अब त नयाँनयाँ पेसा अस्तिवमा आइसकेका छन् । नयाँ किसिमबाट जातीय वर्गीकरण हुनुपर्ने होइन ? प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, मिल मालिक, मजदुर, किसान, सरकारी कर्मचारी र निजी क्षेत्रका कर्मचारीको छुट्टाछुट्टै जात । हामी त्यही पुरानै जातीय ढाँचामा किन अल्मलिइरहेका छौँ ? कहिलेकाहीँ त कतिसम्म देखापर्छ भने आफ्नै जातको वकिल ठूलो, आफ्नै जातको चिकित्सक सबभन्दा योग्य र आफ्नै जातको नेता सबैभन्दा उपयुक्त ।

एकातिर विश्वव्यापीकरण र अर्कोतिर जातीयकरणकै चक्रमा हामी फसिरहेका छौँ । मञ्चमा विश्वव्यापीकरणको व्याख्या गर्ने तर निर्वाचनको मञ्चबाट जातीय कार्ड खेल्न नचुक्ने । सीधासादा मतदाता जातीय नारामा अल्झेर आफ्नै जातका नेतालाई मत दिन्छन् । ठूल्ठूला प्राज्ञिक संगठनहरूमा पनि जातीय नारा नै सफल हुने गरेको छ । जातीयतन्त्रमा कसरी लोकतन्त्र फस्टाउन सक्छ ? यो राजनीतिक क्षेत्रभन्दा पनि मानवीय संवेदनाको प्रश्न बन्न जान्छ । जातीय उन्मादमा मानवता कुल्चिने गरेका उदाहरण थुप्रै छन् । समाजलाई यस्तो द्वन्द्वबाट जोगाउन धेरैले आफ्नो वा पारिवारिक थर छाड्ने गरेका छन् । पत्रकार चन्द्रकिशोरले त्यही गरेका हुन् ।

हुन त, नेपालदेखि भारतसम्म धेरैले आफ्नो जात र पहिचान जनाउने ‘थर’ छाडेका छन् । दक्षिण भारततिर यसलाई पूर्ण मानिँदैन । नामको पछाडि पिताको नाम र थर थप्नैपर्ने परम्परा छ । तर, प्रश्न उठ्छ, पिताको नाम थप्दा माताको किन नथप्ने ? र, संविधानले वर्जित गरेको जातपातलाई किन निरन्तरता दिने ? पासपोर्ट र भिसा लिँदा ‘फेमिली नेम’ को कोलम छुट्याइएको हुन्छ । अर्थात्, यो संसारभरिकै समस्या हो । संसार गलत छ भने यसको अर्थ होइन कि चन्द्रकिशोरजस्ता सबै गलत हुन् । व्यक्तिगत स्वतन्त्रताको कुरो पनि आउँछ । र, एउटा आदर्श स्थितिका लागि गरिएको यस्तो प्रयासलाई प्रशंसनीय मान्नुपर्ने हुन्छ ।

चन्द्रकिशोरको पूरा नाम हो, चन्द्रकिशोर झा । तर, उनी ‘झा’ लेख्दैनन् । उनको मनोविज्ञानको विश्लेषण गर्दा मैले के पाएँ भने झा लेख्दा बाहुनवादको गन्ध आउन सक्छ । अहिले तराईतिर पनि बाहुनलाई विभिन्न आरोप–प्रत्यारोप लगाइन्छ । बाहुन कुलमा जन्मनुमा के दोष ? तैपनि उनले झालाई त्याग गरे सामाजिक समरसताका लागि । तर, बेलाबखत यिनीसँग पूरा नाम सोधिन्छ । एउटा टिभी अन्तर्वार्ताको स्क्रोलमा यिनको नाम ‘चन्द्रकिशोर यादव’ लेखियो । जातीय चस्मा हाम्रो आँखाबाट हटिसकेको रहेनछ ।

चन्द्रकिशोरलाई त्यो दिनभरि दिक्क लाग्यो । अन्त्यमा उनले प्रश्नकर्तालाई भन्नुपर्‍यो, “मेरो पूरा नाम चन्द्रकिशोर नै हो । र, हामी हात्ती चढ्दैनौँ ।”

प्रकाशित: श्रावण १५, २०७५