समसामयिक

एउटा महँगो भाषण

- जनक नेपाल, काठमाडौं

कतिपयले तामाङलाई हटाउन चाहने बालुवाटारको ‘कानुनविद् समूह’ले ओलीलाई उक्साएर राजीनामा गर्न बाध्य पारेको आरोप लगाएका छन् ।

तामाङको भाषण अंश
‘ ... युएस बंगला एयर दुर्घटनामा हुँदा २१ जना डाक्टरहरू यही हाम्रो विमानस्थलमा बिते, कति मार्मिक छ कुरा ।आज म कथा खोल्छु, बंगलादेशमा कयौँ चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु– उसले कहीँ न  कहीँ आफूलाई बेच्नैपर्छ । मैले सुनेको छु, यति मार्मिक छ कथा । उनीहरूले खोलेका छन् कथा । हामी हाम्रा छोरीलाई विदेश पढ्न पठाउँछौँ, तर उसले आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको अवस्था छैन । त्यसैले सबैले यो मुलुकमा एमबीबीएस पढ्न पाउनुपर्छ भन्दा हामी प्लेकार्ड बोकेर निस्कन्छौँ, पाइँदैन, हुँदैन भनेर ।’

एसईई उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै पढ्न प्रेरित गर्न उदाहरणका रूपमा दिएको एउटा गैरजिम्मेवार भाषण कानुनमन्त्री शेरबहादुर तामाङलाई महँगो साबित भयो । राजधानीको एक विद्यालयमा ४ साउनमा दिइएको त्यो मन्तव्यमा उनले बंगलादेशमा मेडिकल शिक्षा लिइरहेका छात्राहरूलाई लान्छित गरे । सामाजिक सन्जालमा फैलिएको उक्त भिडियोको चर्को विरोधपछि ६ साउनमा उनले माफी त मागे । तर, विरोध त्यत्तिमै साम्य भएन । अन्तत: प्रधानमन्त्री केपी ओली स्वयंले ८ साउनमा तामाङलाई राजीनामा गराउनुपर्‍यो ।

प्राडा गोविन्द केसीको अनशनले सरकारविरुद्ध विपक्ष र नागरिक अगुवाको मोर्चाबन्दी थियो । त्यसैमा विधेयकको बचाउ गर्ने निहुँमा आएको तामाङको बोलीले सरकारलाई एकाएक रक्षात्मक बनाइदियो । सामाजिक सन्जाल र मिडियामा थामिनसक्नु आलोचना भएपछि सत्तारुढ नेकपा नेतृत्व उनलाई राजीनामा गराउने निर्णयमा पुग्यो । “मेरो मनसाय गलत थिएन, तर अभिव्यक्ति गलत भइदियो । म आफ्नै बोलीको परिबन्दमा परेँ,” तामाङ भन्छन्, “पार्टी नेतृत्वको सल्लाहमा राजीनामा दिएँ ।”

तामाङको अभिव्यक्तिले एकातर्फ बंगलादेशमा मेडिकल शिक्षा लिने नेपाली विद्यार्थीलाई चोट पुर्‍यायो भने अर्कोतर्फ त्यहाँका मेडिकल कलेज र सरकारकै आपत्ति आउने स्थिति थियो । तामाङलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्री ओली बंगलादेशको सम्भावित कूटनीतिक आपत्तिबाट जोगिएका छन् ।

बंगलादेशमा पढ्ने छात्रामा भावनात्मक चोट लागेको महसुस भएपछि नैतिकताका आधारमा राजीनामा दिएको तामाङ बताउँछन् । तर, उनले भनेझैँ यो राजीनामा सहजै आएको भने होइन । विवादास्पद भाषण भाइरल भएपछि ७ साउनमा प्रधानमन्त्री ओलीले तामाङलाई बालुवाटार डाके । मन्त्री तामाङ बालुवाटार पुग्दा त्यहाँ नेकपाको सचिवालय बैठक बसिरहेको थियो । बैठकपछि राती ९ बजे प्रधानमन्त्री ओलीले तामाङलाई छुट्टै भेटेर विकल्प सोधेका थिए । पत्नी तथा प्रदेश १ की सांसद उषाकला राईसहित गएका तामाङले आफ्नो मन्तव्यको भिडियो देखाउँदै ‘मानवीय गल्ती भएको’ भन्दै बचाउको सामान्य कोसिस गरेका थिए । प्रधानमन्त्री सामुन्ने उनी भक्कानिएर रोए पनि । ओलीले तामाङको छोटो मन्त्रीकालको प्रशंसा त गरे, सँगै पार्टी, सरकार र स्वयं उनकै हितका लागि पनि राजीनामा गर्न निर्देश गरे । “धेरैले मलाई प्रधानमन्त्रीले बचाउनुभएन भन्छन् । तर, म भन्छु राजीनामा गर्न सल्लाह दिएर बचाउनुभयो,” तामाङ भन्छन्, “यो कुनै गुट वा जातिविशेषसँग जोडेर गरिएको विश्लेषणजस्तो होइन, परिस्थितिले निम्त्याएको राजीनामा हो ।”

प्रधानमन्त्रीको भेटपछि तामाङले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई आफूले राजीनामा दिनेबारे जानकारी गराए । शीर्ष नेताहरूले ‘गलत बेला पर्नुभो, पार्टीले भविष्यमा उचित मूल्यांकन गर्नेछ’ भन्ने आश्वासन दिएका छन् । ८ साउनमा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै तामाङले राजीनामा दिए । यो सिंगो प्रकरणमा उनको कसैप्रति गुनासो छैन । तर, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको ट्वीटप्रति भने तामाङ असन्तुष्ट छन् । पार्टी प्रणालीविपरीत आएको ट्वीटले आफ्नो राजीनामाको आधार बनाइदिएको उनी बताउँछन् । “प्रवक्ताले पार्टी निर्णय सार्वजनिक गर्ने हो, उहाँले एक्लै निर्णय गरिदिनुभयो,” तामाङ भन्छन्, “पार्टी विधिविपरीत भए पनि मैले उहाँको सम्मान गरेँ र नैतिकताका आधारमा राजीनामा दिएँ ।”

त्यसै त, विपक्षी र केसी समर्थकहरू पार्टी एकता तयारीका बेला ओली र दाहालले बीएन्डसी मेडिकल कलेजका विवादास्पद सञ्चालक दुर्गा प्रसार्इंको घरमा मार्सी चामलको खाना खाएको विषयलाई उछालिरहेका थिए । नेकपा समर्थक प्रसार्इंको त्योभन्दा आपत्तिजनक अभिव्यक्तिले हलचल मच्चाइरहेका बेला कानुनमन्त्री तामाङबाट आएको त्यो टिप्पणीले सरकार र पार्टी दुवै पछि हट्ने स्थितिमा पुगे । अझ, सरकारकै एक सदस्यको हैसियतमा तामाङले यस्तो भनेपछि सरकारविरोधी भावना भड्किने नै भयो । हुँदाहुँदा नेकपासम्बद्ध नेतृहरूले समेत मन्त्रीलाई फिर्ता बोलाउन माग गरेका थिए । भिडियो भाइरल हुनासाथ वरिष्ठ नेता नेपालले फोन गरेर ‘के बोलेको यस्तो’ भन्दै तामाङलाई झपारेका थिए । भोलिपल्ट ७ साउन बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा कुनै पनि नेताले तामाङको बचाउ गरेनन् ।

कानुनमन्त्री तामाङलाई राजीनामा गर्न लगाएर प्रधानमन्त्री ओलीले मुख्यत: तीन सन्देश दिन खोजेका छन् । पहिलो, उनी जनभावनाको कदर गर्छन् । मर्यादाबाहिर जान खोज्ने आफ्नो मन्त्रिपरिषद्का जोकोहीलाई छाड्दैनन् । दोस्रो, केसी अनशन प्रकरणमा सरकारप्रति बढ्दो असन्तुष्टिलाई मत्थर पार्ने एउटा अस्त्र तामाङको राजीनामा बन्यो । तेस्रो, स्थायी सरकारका अरू मन्त्रीहरू पनि हेरफेर भइरहन सक्छन् । विश्लेषक श्याम श्रेष्ठ भन्छन्, “एउटा विवादले सही अवतरण गर्‍यो । तर, जनताको त्योभन्दा चर्को प्रतिक्रिया केसीको मुद्दा छिट्टो सुल्झाऊ भन्ने छ । त्यसमा भने ढिलाइ भएकै हो ।”  त्यसै पनि, संविधानको धारा ८० को उपधारा २ ले जुनसुकै मन्त्रीलाई पदमुक्त गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएकै छ ।

कतिपयले तामाङलाई हटाउन चाहने बालुवाटारको ‘कानुनविद् समूह’ ले ओलीलाई उक्साएर राजीनामा गर्न बाध्य पारेको आरोप लगाएका छन् । प्रधानमन्त्रीलाई भेटेपछि बालुवाटारले तामाङलाई प्रधानमन्त्रीले भेट्न चाहेको खबर गर्‍यो । त्यसमा विरोधी गुट र मन्त्रीका आकांक्षी सांसदहरूको समेत भूमिका रहेको बताइन्छ ।

प्रकाशित: श्रावण १४, २०७५