खेलकुद

फुटबलमा रंगभेद

- पवन आचार्य, काठमाडौं

जर्मनीका आक्रामक मिडफिल्डर मेसुट ओजिलले ३० वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे । व्यावसायिक फुटबलरको हकमा ३० वर्षको उमेर सन्न्यासको उपयुक्त समय होइन । तर, फुटबल मैदानबाहिरको वातावरणले जर्मनीको जर्सी पहिरिन ओजिललाई अप्ठेरो पारिदियो । अन्तत: उनले राष्ट्रिय टोलीबाट हठात् अलग्गिने निर्णय गरे ।

जर्मनीबाट नखेले पनि इंग्लिस क्लब आर्सनलबाट व्यावसायिक फुटबललाई निरन्तरता दिने उनले स्पष्ट पारिसकेका छन् । रुस विश्वकपको पहिलो चरणबाटै जर्मनी बाहिरिएपछि टिमका सबै सदस्यहरू समर्थकको तारो बन्दै आएका छन् । यस क्रममा समर्थक र फुटबल संघले समेत ओजिलविरुद्ध नस्लवादी आरोप लगाएपछि मन भाँचिएका उनले अप्रत्यासित रूपमा सन्न्यास घोषणा गरेका हुन् ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एद्रोगानसँग खिचेको फोटोलाई लिएर ओजिलमाथि नस्लवादी आरोप लाग्यो । सोही तस्बिरलाई लिएर जर्मनीमा उनको कडा आलोचना भयो । जर्मनी र टर्कीबीचको सम्बन्ध राम्रो नरहेको स्थितिमा सार्वजनिक भएको तस्बिरले ओजिल जर्मनीप्रति इमानदार नरहेको प्रश्न खडा भयो । जर्मनीका म्यानेजर ओलिभर वियरहाफले त त्यतिबेला ओजिललाई टिमबाट हटाउनुपर्ने अभिव्यक्ति पनि दिए । त्यसका बाबजुद विश्वकप २०१८ खेल्ने टोलीमा ओजिल अटाए । तर, पूर्वविजेता जर्मनी विश्वकपको समूहगत चरणबाटै बाहिरियो । दोषको भागीदार ओजिल भए ।

ओजिलले ट्वीटरमार्फत सार्वजनिक गरेको अपिलमा आप्रवासी भएका कारण आफूलाई सदैव विभेद हुँदै आएको खुलाएका छन् । त्यसैले पनि जर्मनी टिमबाट फुटबल खेल्न असमर्थ रहेको उनले स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘जब म जित्छु, तब म जर्मन हुन्छु । र, जब म हार्छु, तब एक प्रवासी नागरिक हुन्छु ।’ ओजिल जर्मनीमै जन्मिए पनि उनी टर्किस मूलका हुन् । तीन पुस्ताअघि ओजिलको परिवार उत्कृष्ट जीवनयापनका लागि जर्मनी आएको थियो । टर्किस राष्ट्रपति एद्रोगानसँग खिचाइएको तस्बिरबारे पनि उनले स्पष्टीकरण दिएका छन् । ‘यो फोटो खिच्नुका पछाडि कुनै राजनीतिक कारण छैन । मैले आफ्नो पूर्वज जन्मिएको राष्ट्रको शीर्ष नेतासँग फोटो खिचेर सम्मान मात्रै प्रकट गरेको हुँ । यसमा कुनै गलत मनसुवा थिएन,’ उनले लेखेका छन् ।

मुस्लिम समुदायलाई प्रतिनिधित्व गर्ने भएकाले पनि आफूमाथि दुव्र्यवहार भएको उनको ठम्याइ छ । किनभने, टिम जर्मनीमा ओजिलका अलावा अन्य खेलाडी पनि आप्रवासी छन् । उनी भन्छन्, “अन्य खेलाडीलाई जर्मन–पोलिस भनेर कहिल्यै सम्बोधन गरिँदैन । तर, मलाई सधैँ किन टर्किस–जर्मन भनिन्छ । किनभने, म मुस्लिम समुदायबाट हुँ । त्यसैले उनीहरू यस्तो गर्दैछन् । मेरो जन्म जर्मनीमै भएको हो । तर, उनीहरू मलाई जर्मन स्वीकार्न किन हिचकिचाउँछन् ?”

त्यो आरोपको जर्मन क्लब बार्यन म्युनिखका अध्यक्ष उली होइनेस भने खण्डन गर्छन् । “उनले पछिल्ला ४ वर्षमा राम्रो फुटबल खेल्न सकेका छैनन् । उनी फिल्डमा क्रस फाल्नेबाहेक अन्य काम गर्दैनन् । ओजिल अहिले राम्रो–नराम्रो प्रदर्शनलाई फोटोको कारण देखाएर मेटाउने प्रयास गर्दैछन् । वास्तवमा त्यो होइन,” उनले थपे, “आर्सनलसँग खेल्दा हामी जहिले पनि ओजिललाई निशाना बनाउँछौ किनभने उनी सबैभन्दा कमजोर खेलाडी हुन् ।”

जर्मन फुटबल संघले ओजिललाई लगाएको सबै नस्लभेदी आरोपको खण्डन गरेको छ । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघले ओजिलको प्रशंसा गरेको छ । यद्यपि, टर्किस राष्ट्रपतिसँग खिचेको उक्त फोटोले केही गम्भीर प्रश्न खडा गरेको संघको भनाइ छ । संघले जर्मन नागरिकले देखाएको चासोलाई सम्बोधन गर्नु आफ्नो कर्तव्य भएको स्पष्ट पारेको छ ।

विभेद र भेदभावविरुद्धको च्यारिटी किक ईट आउटले ओजिलले भोगेको रंगभेदी र नस्लभेदी व्यवहार अत्यन्त दुखद र अपमानजनक भएको टिप्पणी गरेको छ । सम्भावना बोकेका एक खेलाडीमाथि भएको दुव्र्यवहारले उसको अन्तर्राष्ट्रिय करिअर नै समाप्त पार्नु खेदजनक भएको उसको टिप्पणी छ ।

भावनात्मक विभाजन

जर्मनी आफैँ पनि पश्चिम र पूर्व एकीकरण भएर बनेको देश हो । राजनीतिक कारणले लामो समय दुई चिरा भएका पूर्व र पश्चिम जर्मनी भौगोलिक रूपमै एक भए । तर, अहिले एकपटक फेरि जर्मनी विभाजित भएको छ । अहिलेको विभाजन बढी भावनात्मक छ । यी सबैको केन्द्रीय पात्रका रूपमा छन्, ओजिल । ओजिलको सन्न्यास र सन्न्यासका कारणले जर्मनी विभाजित बनेको हो । केहीले ओजिलको कदमलाई सही ठहर्‍याएका छन् । अर्काथरी भन्छन्, ओजिल गलत छन् ।

ओजिल गलत छन् भन्नेहरूचाहिँ उनको टर्कीसँगको सम्बन्धलाई लिएर आलोचना गर्छन् । जबकि, उनलाई सही मान्नेहरू विश्व विजेताका रूपमा रुस पुगेको टोली पहिलो चरणबाटै घर फर्किएको विषयलाई मोड्न ओजिललाई अचानो बनाइएको तर्क गर्छन् ।

ओजिलका हजुरबुबा कामका क्रममा टर्की आए । ओजिलचाहिँ जर्मनीमै जन्मिएका हुन् ।  ओजिललाई अझै पनि आफ्नो पुर्खा टर्कीको भएकामा गर्व छ । विश्वकपअघि उनले टर्कीका राष्ट्रपतिसँग तस्बिर पनि खिचाए । विश्वकपबाट जर्मनी के बाहिरियो, यही निहुँमा उनको चर्को आलोचना भयो । उनले भने, “मेरो दुइटा मुटु छ । एउटा जर्मन र अर्को टर्किस ।’

यो भनाइ सार्वजनिक भएलगत्तै जर्मन समर्थक विभाजित भएका हुन् । केही जर्मनले  स्वीकारे– समाजमा अझै केही त्रुटि छ, आप्रवासीलाई हेर्ने जर्मन नजर परिवर्तन भएको छैन । अझै पनि आप्रवासी जर्मनलाई दोस्रो दर्जामै राखिन्छ । त्यसैले पनि ओजिलले यसपल्ट मुख खोल्न बाध्य भए । जर्मन समाज अझ उदार हुनुपर्छ । मुलुकको विविधतामा गर्व र खुसी मान्नुपर्छ ।

अनुदार जर्मनहरूको तर्क अर्कै छ । उनीहरू भन्छन्, ‘जर्मनीमा ओजिलजस्ता धेरै छन्, जसले जर्मनीबाट सबथोक पाए । तर, उनीहरूले त्यसको ऋण तिर्न खोज्दा भने जर्मनीभन्दा आफ्नो पुर्खाको देश सम्झिने गर्छन् ।’ जर्मनीले धेरै आप्रवासीलाई आफ्नो मुलुक भित्र्याएकामा यो समूहमा आक्रोश छ । उनीहरूको तर्क छ– जर्मन हौ भने जर्मनजस्तै रहनुपर्छ । यस्तो अतिवादी सोच पाल्नेहरू पनि कम छैनन् जर्मनीमा ।

अपमानजनक व्यवहार

रुस विश्वकपबाट ब्राजिल बाहिरिएपछि त्यसको दोष फर्नान्डिन्होलाई लगाइयो । कारण, बेल्जियमविरुद्धको नकआउट खेलमा उनको आत्मघाती गोलका कारण टिम पराजित भएको निष्कर्ष समर्थकहरूले निकाले । ३३ वर्षीय यी खेलाडीलाई रंगभेदी आरोप लगाइयो, सामाजिक सञ्जालमा उनको ज्यान लिने धम्की पनि आयो । सामाजिक सञ्जालमा उनी र उनकी श्रीमतीलाई बाँदरको रूप दिएर विभिन्न टीकाटिप्पणी भए । स्थिति कतिसम्म भयानक भयो भने उनकी आमाले केही समयका लागि आफ्नो इन्स्टाग्राम  एकाउन्ट नै बन्द गर्नुपर्‍यो ।

फुटबलमा रंगभेदी र नस्लवादी आरोप लगाउने घटनाक्रम यसअघि पनि भएकै हुन् । सबैभन्दा चर्चित घटना बार्सिलोनाका राइटब्याक ड्यानी आल्भेससँग सम्बन्धित छ । ला लिगा अन्तर्गत भिया रियालसँगको खेलका बेला ब्राजिली डिफेन्डरले कर्नर किक प्रहार गर्न लाग्दा दर्शकदीर्घाबाट केरा फालियो । उनले त्यो केराको एक टुक्रा खाए र कर्नर किक प्रहार गरे । स्पेनमा काला वर्णका खेलाडीलाई जिस्काउँदा र होच्याउँदा बाँदरको संज्ञा दिने गरिन्थ्यो । त्यो केरा त्यसैको प्रतीक थियो । पछि स्पेनी फुटबल संघले भिया रियालको घरेलु मैदानमा भएको घटनालाई लिएर क्लबलाई १५ हजार डलर जरिवाना तिराएको थियो ।

क्वीन्स पार्क रेन्जर्सका खेलाडी एन्टोन फर्डिनान्डलाई चेल्सीका कप्तान जोन टेरीले गरेको गाली पनि निकै चर्चित छ । उनले एन्टोनलाई गाली गर्दा रंगभेदी शब्दको प्रयोग गरे । तर, पछि अदालतसम्म पुगेको उक्त घटनामा ४ दिनपछि टेरीले सफाइ पाएका थिए ।

सन् २०११ मा लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेलका दौरान उरुग्वेका लुइस स्वारेज र फ्रान्सेली प्याट्रिस एभ्राबीच भनाभन चल्यो । खेलका दौरान निकै पल्ट लिपुरलका स्वारेजले एभ्रालाई रंगभेदी गाली गरेर उनलाई चिढ्याएको भिडियो फुटेजमा देखियो । स्वारेजलाई त्यतिबेला ९० हजार डलर जरिवाना र ८ म्याचको प्रतिबन्ध लाग्यो ।

सन् २००४ मा स्पेन र इंग्ल्यान्डबीच भएको मैत्रीपूर्ण खेलमा स्पेनी प्रशिक्षक र खेलाडीले बेलायती काला वर्णका खेलाडीप्रति गरेको अपमानजनक व्यवहार पनि चर्चित छ । इंग्लिस खेलाडी यास्ले योङ र सन राइट फिलिप्सको खुट्टामा बल पर्दा दर्शकदीर्घाबाट बाँदरको जस्तो आवाज निकालेर उनीहरूको अपमान गर्ने काम भएको थियो । सोही वर्ष स्पेनी प्रशिक्षक लुइस आरागोनेसले फ्रान्सविरुद्धको खेलमा होसे एन्टोनियो रेएसलाई हौस्याउने क्रममा थियरी हेनरीलाई काला तारा भनी सम्बोधन गरेका थिए ।

एसी मिलानका खेलाडी केभिन प्रिन्स बोटेङले प्रिसिजनको मैत्री खेलमा प्रो पार्सियासँग खेल्दा घानाका यी खेलाडीविरुद्ध रंगभेदी नारा उरालियो । त्यसपछि उनले मैदानको बीच भागबाटै बल विपक्षी समर्थकतिर प्रहार गरे । रंगभेदी नारा कम नभएपछि उनी मैदानबाट बाहिरिए । रेफ्रीले खेल रोके र सबै खेलाडी मैदानबाहिर आए । एक खेलाडीप्रति भएको दुव्र्यवहारविरुद्ध सारा टोली खडा भएको यो नै पहिलो घटना थियो ।

फुटबल विश्वकै चर्चित खेल हो । तर, क्रिकेटलाई भद्र खेल भनिन्छ । नियममा खेलाडीविरुद्ध कुनै पनि अपमानजनक व्यवहार गर्न नपाइए पनि मैदानबाहिर खासै नियम लागू हुन सकेको छैन । फुटबल आफैँमा त्यसै चर्चित भएको होइन, यसलाई खेल्ने खेलाडीका कारण यो चर्चाको शिखरमा छ । तर, आलोचना र दुव्र्यवहारका कारण एउटा खेलाडीले आफ्नो खेल करिअर नै समाप्त पार्नु र त्यसैका आधारमा दर्शकसमेत विभक्त हुनु दुखद पक्ष हो । खेलमा हल्का धक्कामुक्कालाई जायज मान्न सकिएला । तर, विभेदकारी र नस्लभेदी नारा स्वीकार्य हुन सक्दैन । किनभने, विश्वको लोकप्रिय खेलमा झेल कसैका लागि पनि सह्य हुँदैन ।

प्रकाशित: श्रावण १४, २०७५