विदेशबाट

गोर्खा ब्रिगेडमा नेपाली महिला

- नेपाल संवाददाता , काठमाडौं

दुई सय वर्षभन्दा बढी पुरुष मात्र रहेको ब्रिटिस गोर्खा ब्रिगेडमा सन् २०२० देखि महिला पनि भर्ती हुन पाउने भएका छन् । यसका लागि अत्यावश्यक शारीरिक अभ्यास अर्को वर्षदेखि पोखरामा हुने र त्यहाँबाट छानिएका युवतीले बेलायतको क्याटरिक सहरमा विस्तृत प्रशिक्षण पाउनेछन् । प्रशिक्षणमा २५ किलो बालुवा भरिएको बाल्टिन बोकी पाँच किमि उकालोमा साइकल चलाउनेजस्ता अभ्यास हुनेछन् ।

सन् १८१५ देखि बेलायती ब्रिगेडमा गोर्खा भर्ती सुरु भएको हो । अहिले त्यहाँ विभिन्न तह तथा पदमा करिब तीन हजार गोर्खा कार्यरत छन् । त्यस समयदेखि सुरु भएको खुकुरी बोक्ने चलनलाई अहिलेका सेनाले पनि निरन्तरता दिइरहेका छन् । भारतीय समाचार संस्था पीटीआईले लेखेको छ, ‘बेलायती राजपरिवारनिकट रही गोर्खाले पुर्‍याइरहेको योगदानको साख महिलाले धान्न सक्नेमा शंकै छैन ।’

प्रकाशित: श्रावण १४, २०७५