ब्लग

[नोटबुक] बिचौलियाबाट सत्तोसराप

- जनक नेपाल, काठमाडौं

भनिन्छ, प्रकाशित समाचारको परीक्षण पाठकले गर्छन् । हरेक समाचार रिपोर्ट प्रकाशनपछि एउटा रिपोर्टरकहाँ दुईथरी प्रतिक्रिया आउँछन् । एउटाले प्रशंसा गर्छ, अर्कोले आलोचना गर्छ वा असन्तुष्टि पोख्छ । ठूलै कुरा पर्दाफास गरिएछ भने ढाकछोप गर्न खण्डनपत्र नै आउला । कुनै मानवीय त्रुटि वा तथ्य नै गलत भएछ भनेगल्ती सच्याइन्छ, माफी मागिन्छ । यो नै पत्रकारिताको धर्म हो । अघिल्लो साता इजलास सपिङ स्टोरीका केही पात्रको प्रतिक्रियाभने त्यसरी आएन ।

आइतबारे बैठक भेटाउन म हतारमै अफिस जाँदै थिएँ । खल्तीमा निरन्तर मोबाइल थर्किरह्यो । अफिस नै पुगेर कलब्याक गर्नुपर्ला भनेर ट्राफिक जाममा पनि फोन हेरिनँ । अफिस पुगेर लिफ्ट चढ्दै गर्दा मैले कुनै अपरिचित ल्यान्डलाइनबाट आठ मिस्डकल आएको देखेँ ।

कार्यकक्षमा पुगेर कलब्याक गर्न नम्बर डायल गर्दै थिएँ, अर्को फोन आयो । उनी नारायण दाहाल रहेछन्, जसलाई न्याय क्षेत्रका बिचौलियाका रुपमा रिपोर्टमा चित्रण गरिएको थियो । झन्डै स्वीकारोक्ति भावको उनको भनाइसमेत त्यसमा थियो । फोन उठाउनासाथ उनी छाडा गालीगलौजमा उत्रिइहाले ।

मैले रिपोर्टमा उनको खास असन्तुष्टि के हो भनेर पटक–पटक सोधेँ । आफूलाई बिचौलिया भनिएकामा दाहालको कुनै टिप्पणी थिएन । कामु प्रधानन्यायाधीश दीपककुमार जोशीकी छोरीको मगनीमा खटनपटनको प्रसंगमा पनि कुनै आपत्ति रहेनछ । पूर्वप्रधानन्यायाधीश रामकुमार श्रेष्ठले बिचौलिया भन्दै अदालत प्रवेशमा रोक लगाएको विषयमा झन् आपत्ति हुने कुरै भएन । अर्का पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्मासँगको भित्री सम्बन्धबारे उनले उल्टै गर्व गरे । दाहालको एउटै आपत्ति हलेसी महादेवको मन्दिरको भजनकीर्तनमा थियो । उनले त्यहाँ पाइलै नटेकेको दाबी गरे । र, त्यही निहुँमा देवीदेउता भाकल गर्दै सराप दिए, ‘मेरो श्राप खेर गएको छैन, अब तेरो परिवारको कोही न कोही छिट्टै मर्छ ।’

उनको सरापले मलाई रत्तिभर तर्साएन । किनभने, झन्डै दुई दशकको पत्रकारिताले भ्रष्ट, अपराधी र बिचौलियाको गाली खाने र धम्की पचाउन अभ्यस्त भइसकिएको छ । बरु दाहालको सराप–धम्कीले अदालतभित्र चर्चित एउटा ब्ल्याकमेलिङ प्रकरणको सम्झना गरायो ।

सबै न्यायाधीशहरु इजलासमा देखिएझैँ शान्त, भद्र र चरित्रवान कहाँ हुन्छन् र ! त्यसमाथि, बिचौलियाहरु ‘श्रीमान्को पनि त मन हुन्छ नि’ भन्दै उक्साउँदा रहेछन् । न्यायिक मर्यादाको घेराभित्र उकुसमुकुस त्यस्ता न्यायाधीशहरु मौका पाउनासाथ अति उच्छृंखल र असभ्य ढंगले प्रस्तुत हुँदा रहेछन् । केही त्यस्ता स्त्रीलम्पट र मदिराप्रेमी न्यायाधीशलाई बिचौलियाले नराम्रोसँग जालमा फसाएको पाइयो । उनीहरुका अश्लील हर्कतको भिडियो उतारिएको रहेछ । तिनै भिडियो युट्युबमा हालिदिन्छु भन्दै ब्ल्याकमेलिङ गरेपछि बिचौलियाले चाहे अनुसारको फैसला गर्न बाध्य हुँदा रहेछन् । न्यायाधीशलाई नै काम, लोभ, मोह जालमा फसाएर ब्ल्याकमेलिङ गरिरहेका बिचौलिया वर्गका एक सदस्य दाहालले पत्रकार तर्साउनु कौनै ठूलो बात भयो र !

उपप्रमुखका आँसु

स्थानीय सरकारको एक वर्ष झन्डै अन्योलमै बित्यो । आँट र अनुभव हुनेले राम्रै पनि गरे । तर, धेरैजसो जनप्रतिनिधि आपसी कलहमै अल्झिएका छन् । धनुषा हंसपुरकी उपमेयर रेणु झा तालाबन्दीमै उत्रिइन् । मेयरको विरोधमा उनी अनशनसमेत बसिन् । गणेशमान चारनाथकी उपमेयर मीनाकुमारी यादवले माइन्युट नै च्यातिदिइन् । सुनसरी दुहबीकी उपमेयर सुनिता दाहाल साहले वडाध्यक्षमाथि हातपात गरिन् । बाँके राप्तीसोनारीका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीबीच बोलचालसमेत छैन ।

गाउँघरका सिंहदरबारभित्र हुर्किएको प्रमुख–उपप्रमुख द्वन्द्वको अन्तर्य जान्न मन लागेर विवादमा तानिएका केही उपप्रमुखसँग मैले फोन सम्पर्क गरेँ । उनीहरुले कलहको बेलिबिस्तार लगाए । प्रचार गरिएजस्तो गाडी नपाएकै, कर्मचारी राख्न नदिएकै वा कमिसन नपाएर मात्र कलह उत्कर्षमा पुगेको रहेनछ । प्रमुखहरुको हेपाहा प्रवृत्ति मुख्य कारण रहेछ । उपप्रमुखको क्षेत्राधिकारका काममा पनि प्रमुखले हस्तक्षेप गर्दा रहेछन् । केहीले त उपप्रमुख पदले नै पीडा दिएकोसम्म भन्न भ्याए । प्रमुखका व्यवहार सुनाउँदा–सुनाउँदै रेणु र खत्री त फोनमै रोए । मलाई गत वर्ष रानीपोखरी पुन:निर्माण विवादमा पत्रकार सम्मेलनमै रोएकी काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीको सम्झना आयो । आफैँ कलहमा फसेका स्थानीय सरकारसँग जनताले के धेरै आशा गर्नु ?

लेनिनवादी गृहमन्त्री

नेकपाको दुई तिहाई बहुमतको सरकारमा प्रधानमन्त्री केपी ओलीपछि चर्चामा छन्, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ । ३३ केजी सुन तस्करी काण्ड छानबिन होस् वा सिन्डिकेट अन्त्य, माइतीघर मण्डला निषेधित क्षेत्रदेखि गैसस नियन्त्रणसम्मका निर्णय उनले गरे । १ साउनदेखि त यातायात कम्पनी दर्ता गरेर सिन्डिकेट पूर्णत: अन्त्य गर्ने उनको घोषणा थियो । तर, एउटै निर्णयमा टिक्न सकेनन् ।

यसले माओवादीको जनयुद्धकालीन रणनीतिको स्मरण गराएको छ । त्यसबेला पनि माओवादी आफूलाई थोरै अनुकूल हुनासाथ पूर्वनिर्णयबाट ‘बहादुरीपूर्वक’ पछि हट्थ्यो । अनि, सैद्धान्तिक जामा लगाउँदै भन्थ्यो, ‘दुई कदम अगाडि, एक कदम पछाडि’ त लेनिनकै रणनीति हो । पूर्वमाओवादी नेता बादलले त्यही लेनिनवादी प्रवृत्ति दोहोर्‍याएका हुन् कि !

प्रकाशित: श्रावण १०, २०७५