स्मरण

[स्मरण] लखेटिएका बाहुनलाई शरण

- वैरागी काइँला, काठमाडौं

रातोपीरो अनुहार र ठाडा लामालामा जुँगा भएका हृष्टपुष्ट शरीरधारी मेरा ठूलाबाबु नरबहादुर नेम्बाङ प्रभावशाली व्यक्तित्वका धनी हुनुहुन्थ्यो । स्वभावले झोँक्की र हृदयले कोमल । हामी केटाकेटीले उपद्रो गर्दा परैबाट गुलेली सोझ्याएर हान्नुहुन्थ्यो, हामी खुत्रुक्क हुन्थ्यौँ । उहाँको निसाना हम्मेसी चुक्तैनथ्यो ।

त्यसबेलाको ड्रइङ रिसेप्सन रुम जे भने पनि घरकै सिकुवा हुन्थ्यो । सिकुवाको मूली बस्ने खाटमा उहाँ बस्नुहुन्थ्यो । लिम्बुवानका प्रख्यात सुब्बा उहाँ । आगे सुब्बा, सुब्बा, तिरुवा सुब्बा आदि अमाली सुब्बाका पनि स्तर हुन्थे । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा लिम्बुवानलाई अधीनस्थ (वि.स.१८३१) गरेपछि सेनवंशी राजाहरूका शासनकालमा लिम्बुवानलाई प्राप्त अधिकार कायमै रहने गरी दिइएको थियो । खालि लिम्बुवानले पृथ्वीनारायण शाहलाई राजा स्वीकार्नु परेको थियो । अहिलेको भाषामा भन्दा अत्यधिक स्वायत्तता थियो । यिनै सुब्बाका लामो कडीमा कडा र निर्भीक सुब्बा हुनुहुन्थ्यो मेरा माइला ठूलाबाबु । उहाँसँग सामुन्नेमा कुरा गर्न हाम्रा बाबु र काकाहरू हच्कन्थे ।

उहाँ शिक्षा र समाज सेवाप्रति पनि चासो राख्नुहुन्थ्यो । ठूलोबाबु र मेरा बाबुको अथक प्रयासमा सरकारले ००७ अघि नै सारताप मिडिल स्कुललाई स्वीकृित दिएको थियो । हाम्रो पौवागाउँसँग जोडिएको सारताप गाउँमा स्थापित मिडिल स्कुलमा अहिले १२ कक्षासम्म पढाइ हुन्छ ।

त्यतिबेलाको समाज सेवा भनेको बाटो बनाउने, बटुवा र कठिनाइमा परेकाहरूलाई सहयोग गर्नु नै थियो । ००८ तिरको एउटा घटना सम्झिन्छु । आठराईका लिम्बूहरूले कुमाई बाहुनविरुद्ध हिंसात्मक आन्दोलन चलाए र लखेटे । भनिन्छ, लिम्बूहरू राणा पक्षधर गोरखा दल(परिषद्) को उक्साहटमा आएर आन्दोलित भएका थिए । उनीहरूमाथि धेरै नै थिचोमिचो भएको थियो । दुवै हुन सक्छ ।

त्यहाँबाट विस्थापित कुमाई बाहुनहरूलाई हाम्रो गाउँमा आश्रय दिइएको थियो । तीन–चार सयको जमातलाई शरण दिने अभियानमा हाम्रा ठूलोबाबु, बाबु, काका र गाउँलेहरू लागेका थिए । अरूभन्दा हुनेखाने भएकाले त्यस अभियानको मुख्य अगुवाइ र खर्च ठूलोबाबुले नै गर्नुभएको थियो । झन्डै १५ दिनसम्म तिनीहरूको खाने–बस्ने व्यवस्था उहाँकै नेतृत्वमा भयो । गर्भवती महिला गाउँकै शरणार्थी शिविरमा सुत्केरी भएका थिए । पछि तिनलाई नेपाल सरकारले झापाको जयपुर–बुधबारेमा २२ सय बिघा वनक्षेत्र पुनर्वासका लागि खोलिदियो ।

त्यतिबेला समान स्तरका अथवा हित्त र चित्त मिलेका व्यक्तिबीच मीत लगाउने चलन थियो । ठूलोबाबुले चारखोला इलाम फाकफोक गाउँका जितबहादुर थापासँग मीत लगाउनुभएको थियो । त्यहाँ फाकफोक खोला बग्छ । बर्खा लागेपछि खोला उर्लेर आउँदा वारिपारि गर्न कठिनाइ हुन्थ्यो । अनि, हाम्रा ठूलाबाबु सुब्बा नरबहादुरले आफ्ना मीतको अनुरोधमा फाकफोक खोलामा पुल हालिदिनुभएको थियो । त्यसबेला जनस्तरबाट एउटा पुल हाल्नु ठूलो सामाजिक कार्य थियो ।

त्यस कालखण्डमा गाउँमा एउटा सुब्बाको शिक्षा र चेतना के नै हुँदो हो र ? उनीहरूको बौद्धिक भूमिका कति नै हुँदो हो ? मेरो मनमा प्रश्न उब्जिन्छ अहिले पनि । ००७ को जनक्रान्तिपछि इलामतिरबाट स्थानीय जनसरकारका माथिल्लो तहका व्यक्तिहरू पाँचथर र ताप्लेजुङसम्मको निरीक्षणमा जाँदा होला, हाम्रो गाउँमा आएका थिए । जनसरकारका प्रमुख– नरेन्द्रनाथ बाँस्तोला, मिलिटरी गभर्नर बीबी चेम्जोङ, मेजर सन्तोषकुमार राईलगायत १०/१५ जना बढीको दौडाहा टोली थियो । उनीहरू हाम्रा ठूलोबाबुकहाँ पाहुना लाग्न आए । किनभने, अरूले त त्यत्रो जमातलाई खाने–बस्ने प्रबन्ध गर्नै सक्दैनथे । कसैले ब्रेनगन, कसैले थ्री नट थ्री, कसैले मार्टिन यान्ड्री राइफल बोकेका थिए, कसैले पिस्तोल भिरेका थिए । जनक्रान्तिका लागि बीपी कोइरालाहरूले बर्माबाट ल्याएका हतियार हुँदा हुन् ती ।

त्यसबेला नरेन्द्रनाथ बाँस्तोलाले हाम्रा ठूलोबाबुलाई एउटा साह्रै अप्ठेरो प्रश्न गरेका थिए, “अब भन्नूस सुब्बासाब, तपाईं राष्ट्रिय कांग्रेस कि प्रजातन्त्र कांग्रेस ?” अब के भन्ने ? उहाँले निकै बेर जुँगा मुसार्दै सोचेजस्तो गरिरहनुभयो । उहाँका जुँगा बाघको जस्तो आकाश फर्केका थिए । कुन कांग्रेसको नाम लिँदा सही हुने हो, सायद निक्र्योल गर्न समय लिनुभएको होला । निकै बेर घोत्लिएपछि भन्नुभयो, “मलाई प्रजातन्त्र कांग्रेस मन पर्छ ।” उहाँका कुरा सुनेर सबैले जोडजोडले थपडी मारे । हामी पनि खुसी भयौँ । यसलाई म ठूलोबुबाको चलाखी मात्र त भन्दिनँ । प्रजातन्त्र ल्याएर विश्वेश्वरले सक्ने भयो, राजा नै मास्ने भयो भन्ने हल्लाले सारा जिल्ला पिटिएका बेला समग्रमा प्रजातन्त्र कांग्रेस भन्नु समयानुसारको विवेक र ज्ञानचाहिँ माइला ठूलाबाबुमा रहेछ भन्ने म अहिले अनुमान गर्छु ।

प्र स्तुति : रमण घिमिरे

प्रकाशित: श्रावण १०, २०७५