ब्लग

[नोटबुक] ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ –२

- सन्तोष आचार्य, काठमाडौं

कुनै बेला बीपी कोइरालाले ‘गुड ब्वाय’ भनेका थिए, शेरबहादुर देउवालाई । लोकतन्त्रका लागि देउवाले भोगेको सास्तीबारे धेरै कांग्रेसी जानकार नै छन् । ‘सत्तालाई सधैँ प्रश्न गर’ भन्ने स्कुलिङबाट आएका हुन् देउवा । तर, उनलाई समेत प्रश्न गरेको मन परेन/पर्दैन । प्रधानमन्त्री भएका बेला एक टेलिभिजन कार्यक्रममा आमसरोकारसँग जोडेर सोधिएको प्रश्न उनलाई मन परेन । उनले जवाफमा भने, ‘तपार्इं बढ्ता बोल्दै हुनुहुन्छ ।’ प्रश्न गरेको मन नपराउने कांग्रेस सभापति देउवाको पार्टीलाई निर्वाचनमा मतदाताले देखाइदिए । कांग्रेस पछारियो ।

एमाले र माओवादी गठबन्धनको चाँदी कटाइ भयो ‘राष्ट्रवाद र समृद्धि’ को उडनखटोला चढेर आयो, केपी ओली नेतृत्वको सरकार । नेकपा एमाले र नेकपा माओवादी एकाकार भए । दुई तिहाईको दम्भ पलायो । कमरेडहरुको कार्यशैलीमाथि प्रश्न ? यो त सोच्नै नसकिने भयो । हिजो देउवा कार्यशैलीको आलोचना गर्दा मजस्ता पत्रकारहरु एमाले भयौँ । अहिले नेकपा नेतृत्व सरकारको कार्यशैलीको आलोचना गर्दा कांग्रेस हुनैपर्ने भयो । के अब नेपालमा कुनै पनि राजनीतिक दल वा उसका कुनै भ्रातृसंस्थामा आबद्ध नभएका पत्रकारहरु निरपेक्ष हुन नपाउने ? आस्था एउटा कुरा हो र आबद्धता अर्को । तर, के हामी व्यावसायिक हुनै नसक्ने भयौँ ? कतै देउवाले जस्तै यो सरकारले पनि ‘तपार्इं बढ्ता बोल्दै हुनुहुन्छ ?’ को दोस्रो संस्करणको अभ्यास गरिरहेको हो ? आखिर सिक्वेलको जमाना जो छ ।

ओलीको उचाइकरण

देशको ताजा खबर कस्तो छ भने कि त यता छ्यापछ्याप्ती इसाईकरण भइरहेको छ कि त उचाइकरण । इसाईकरणले व्यक्तिले मान्दै आएको धर्म परिवर्तन गराउँछ । व्यक्तिको छविलाई ८८४८ अर्थात्, सगरमाथाको टुप्पोभन्दामाथि लैजाने प्रयास उचाइकरणले गराउँछ । उचाइकरणका लागि सत्ताले सधैँ अति सस्तो दरमा लिलिपुट कामदार खोज्छ । हिजो पञ्चायत होस् वा कांग्रेस, सबैले त्यही गरे । सत्ताले सधैँ प्रलोभनको चास्नीमा चुर्लुम्म डुबाइदिन्छ । उचाइ बढाउने ठेकेदारी यस्तै लिलिपुटहरुलाई दिन्छ । उचाइकरणमा जो–जो बाधक बन्छन्, उनीहरुको थुतुनो थुत्ने वा उस्तै परे चार इन्च घटाइदिने दस वर्षीय विद्यावारिधिवाला टोली नेकपाभित्र छँदैछ ।

 अहिले प्रधानमन्त्री ओली ‘वाइड बडी’ वालालगायतका मन्त्रीहरुलाई साथमा लिएर राष्ट्र निर्माणको सुन्दर सपना देखिरहेका छन् । यसैले उनीहरुको सपना खलबल्याउन हुँदैन भनिएको छ । उनीहरु सपनालाई विपना बनाउन निश्चित विधि, प्रक्रिया र प्रणालीको थिति बसाउन खोजिरहेका छन् रे  ! यसलाई ओली अधिनायकवाद भनिहाल्नुहुँदैन भन्ने उनीहरुको जिकिर छ । बीपी र महेन्द्रभन्दा प्रयोगशालामा प्रमाणित भइसकेको ओलीको राष्ट्रवाद कति इन्च अग्लो हो, लिलिपुटहरु सर्भे गर्दैछन् । समकालीन राजनीतिक नेतृत्वमा ओलीको देशप्रेम यति बढी छ कि त्यति हनुमानको छातीभित्र राम–प्रेम पनि थिएन । बालुवाटारबाट बजारभरि छरिएका लिलिपुटहरुका मुद्दा र गुण–दोषका आधारमा टिप्पणी गर्ने जति सबै ओली विरोधी हुन् । टिप्पणी गर्ने र स्वतन्त्रता खोज्ने चिन्तनले ओलीको समृद्धिको सपनामा प्रहार गर्छ, यसले उनको उचाइ बढाउने अभियानमा धक्का पुग्छ भन्न थालिएको छ । बुझ्नुपर्ने कुरा के हो भने अस्वाभाविक रुपमा गरिने देवत्वकरणले मानिसलाई दानवीकरणको बाटोमा लैजान्छ ।

गाजलको कोठा

दोषरहित कोही हुँदैन । निश्चय नै ओलीमा पनि त्यसको अंश छ नै । ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको त्यागलाई सलाम गर्नैपर्छ । आफ्नो क्षमता र धैर्यको बलमै उनले पार्टी नेतृत्व गरे । दोस्रोपटक सरकारको नेतृत्व गरिरहेका छन् । ओलीको भर परेरै जनताले मत दिएका हुन् । निराश जनताले ओलीमा नायकत्वको छवि देखे, जुन आपैँmमा अस्वाभाविक थिएन । तर, देश बनाउने क्रममा बांगो बाटो हिँड्न थालेपछि ओली र उनका केही मन्त्रीको कार्यशैलीमाथि जनताले गरेको सचेतनासहितको टिप्पणीबाट आक्रोशित हुनु गलत हो । सत्ता भनेको गाजलको कोठाजस्तो हो, जहाँबाट केही अपवाद छाडेर धेरैजसो बेदाग फर्किन सक्दैनन् । यो सरकार बनेको ५ महिना पनि भएको छैन, तर पनि प्रधानमन्त्री र अरु केही मन्त्रीहरु आलोचित हुन थालिसकेका छन् । धुपध्वाँरले बढाउने कृत्रिम उचाइभन्दा रचनात्मक आलोचना गर्ने मुख सधैँ सुन्दर हुन्छ, प्रधानमन्त्रीज्यू !

प्रकाशित: श्रावण ३, २०७५