स्मरण

[स्मरण] फिल्मी गानाले ढाड खुस्कियो

- वैरागी काइँला, काठमाडौं

उतिबेला यातायातको साधन घोडा मात्रै थियो । मेरो बुबाको नाम मात्र डबल सुब्बा नभएर जीउडाल पनि डबल नै थियो । त्यसैले उहाँलाई टाढाको बाटो लरतरो ज्यानको घोडाले बोक्नै नसक्ने । पाँचथरदेखि मधेस अथवा इलामदेखि मधेससम्म घोडामै आउजाउ गर्नुहुन्थ्यो बुबा । डबल आङको डोमा नामक ग्यामु रङको भोटेघोडा थियो बुबाको । त्यो घोडा इलाम बस्दा फुक्यो भने अथवा पानी खुवाउन लगियो भने जबरजस्ती गरेर पनि बजारमा मुखराम मारवाडीको गद्दीमा पुगिहाल्थ्यो र दाना नदिउन्जेल उभिरहन्थ्यो । साहूले धानको दाना खान दिएपछि बल्ल लगेको ठाउँतिर जान मान्थ्यो । बूढो भइन्जेल बाँच्यो डोमा । परिवारको सदस्य थियो त्यो । सारतापको घरबारीमा बाँस झ्याङको फेदमा उसलाई सद्गत गर्‍यौँ पछि । झन्डै विसं ०४० सम्म नै हामीले पनि पाँचथरदेखि इलामसम्म र इलामदेखि झापा तलमाथि गर्दा घोडा नै प्रयोग गर्‍यौँ ।     

इलामबजार पूर्व नेपालको विकसित बजार मानिन्थ्यो पहिले । जंगबहादुर राणाले साइनोमा ज्वाइँ पर्ने गजराज थापालाई इलामको बडाहाकिम बनाएर पठाएपछि उनले नै इलामबजारको पश्चिम पाटोमा ठूलो चियाबगान लगाएका थिए, विसं १९०८ तिर । काठमाडौँबाट नेवार व्यापारी– अवाले, श्रेस्तेदार र कालीगढहरू पनि लगेका थिए भन्ने पछि काठमाडौँका मन्दिरहरूका शैलीमा बनेका भीमसेनथान, माइथान, नारायणथान आदि र हिटीधाराले बताउँछन् ।

मेरा पिताजी आफ्ना दाजुभाइभन्दा लवाइ–खुवाइ मात्र होइन, विचार र जीवनशैलीमा पनि निकै आधुनिक हुनुहुन्थ्यो । हरेक राजनीतिक परिवर्तनले सामाजिक र सांस्कृतिक जीवनशैलीमा प्रभाव पार्दो रहेछ । ००७ को जनक्रान्तिपछि लाउने वस्त्रमा पनि परिवर्तन आयो । भारतका नेताहरूले लाउने जवाहर कोट तथा सेरवानी कोट उदाहरण हुन् । त्यसरी नै पञ्चायतकालमा नेपालभित्र विद्यमान भारतविरोधी वातावरणमा घरमा बस्दा धेरैजसो नेता वा मानिस लुंगी लगाएका देखिन्थे । पहिरिने पोसाकमा समसामयिक राजनीतिको छाप ब्रान्डजस्तो टाँसिएको हुन्छ कि ? नेपालका ठूला नेताहरूले लगाएको देखेर अरूले जस्तै मेरा पिताजीले पनि सेरवानी सिलाउनुभयो र मलाई पनि सिलाइ दिनुभयो । ०१० मा सिलाएको सेरवानीले धेरै वर्ष थाम्यो । कालो रङको त्यो सेरवानी–कोट पछि दार्जिलिङमा पढ्दा पनि लगेँ । साहित्यकार र समालोचक (पछि राजनेता) मित्र गुमानसिंह चामलिङसँग चिनजान र मित्रता भएपछि उनले समेत त्यो सेरवानी लगाए ।

उसबेला मनोरन्जनका साधन उति थिएनन् । अड्डा छुट्टी भएपछि हाकिम र कर्मचारीहरू बजारका चियापसलमा क्यारमबोर्ड खेल्थे । समयले खानपिन, लुगाफाटासँगै भाषामा पनि प्रभाव पार्दै थियो । उनीहरूले क्यारमबोर्ड खेल्दा बहुप्रयोग गर्ने अंग्रेजी शब्द ‘चानस’ थियो । 

‘चानस नै नदिने’, ‘चानस नै दिएनन्’ जस्ता शब्दावली प्रयोग हुन्थे । ००८/००९ तिर मुक्तिसेनाका जीओसी तथा बडाहाकिमहरू बाहिर गएर इलाम फर्कंदा माईथान फेदीको सानो टुँडिखेलमा १०–११ तोपको बढाइँ पनि खान्थे । बजार बीचमा भीमसेन थानको मन्दिरछेउमा नाम्सालिङका ढकालहरूका लामा र ठूला घर थिए । ती घरमा दार्जिलिङबाट जेनेरेटर ल्याएर फिल्म देखाउने काम पनि जनक्रान्तिका अगुवाहरूले गरे । मैले त्यसै हलमा पहिलोचोटि हिन्दी सिनेमा हेरेँ । हिरो दिलीपकुमार र हिरोइन नर्गिस थिए क्यार । फिल्म थियो दिदार । म घोडा कुदाउँदै हिरोले गाएको गीतको बोल अझै सम्झन्छु– ‘ओ ओ ओ बचपनके दिन भुला न देना...।’

एक दिन कसको छोरो यही गीत गाउँदै घोडालाई पानी खुवाउन लाँदा लगाम हातबाट खुस्काएर बाँसघारीमा जोडले पछारिएछ । हामी घोडालाई डोर्‍याएर पानी खुवाउन लैजाँदै गर्दा “ए हाँसुले, पाँडुले हो, ‘ ओ... बचपन के दिन भुला न देना’ गाउँदै जालाऊ र पछारिएर हाड खुस्केला नि !” जेठा मामा पदमबहादुर देवानले पछिसम्म गिज्याउनुहुन्थ्यो । इलामबजारमा बसोबास थालेपछि निजी तवरमा स्कुल सञ्चालन गरी अंग्रेजी शिक्षाअनुकूल पठनपाठन गराउने पहिलो शिक्षक हुनुहुन्थ्यो पदमबहादुर देवान । राम्रो चित्रकार उहाँ । पत्रपत्रिका पढ्न रुचि राख्ने जेठा मामाका लागि उहाँले नियमित रूपमा धर्मयुग, इलेस्ट्रेटेड विक्ली र अन्य पत्रिका मगाइदिनुहुन्थ्यो । तिनमा बनारसबाट प्रकाशित हुने नेपाली पत्रिका युगवाणी पनि थियो । घरवरिपरि बारमा कलमी गरेको नीलकाँडामाथि १०–१५ वटा टोपी आफैँ धोएर लहरै सुकाउनुहुन्थ्यो । माइजू मायादेवी सुब्बाकहाँ छात्राहरू ट्युसन पढ्न आउँथे । निकै किताब प्रकाशित छन् उहाँका ।

प्र स्तुति : रमण घिमिरे

प्रकाशित: श्रावण ३, २०७५