विदेशबाट

गैँडा कूटनीति

- नेपाल संवाददाता , काठमाडौं

नेपालले छिमेकी चीनलाई एक जोडी एकसिंगे गैँडा उपहारस्वरुप दिएको छ । रुद्र र रुपसी नाम गरेका दुई गैँडालाई २८ असारमा विज्ञहरूको टोलीसहित गोन्झाउमा सकुशल अवतरण गराइएको हो । थप अर्को जोडी गैँडा पनि छिट्टै उपहारस्वरुप पठाउने वचन प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ दूतावासमा आयोजित कार्यक्रममा दिइसकेका छन् ।

यसअघि नेपालले २२ गैँडा अन्य मित्रराष्ट्रलाई उपहारस्वरुप दिइसकेको छ । त्यसमध्ये अमेरिकाले ६ र भारतले ४ गैँडा प्राप्त गरिसकेका छन् । प्रधानमन्त्री ओलीको पछिल्लो भ्रमणमा चीनले हवाई मार्ग र रेलमार्ग निर्माण, इन्धन सञ्चयलगायतमा नेपाललाई सहयोग गर्ने जनाएको थियो । च्यानल न्युज एसियाले लेखेको छ, ‘यो लेनदेनको सम्बन्धले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।’

प्रकाशित: असार ३१, २०७५