खेलकुद

विश्वकप २०१८ : फ्रान्सविरुद्ध क्रोएसिया (म्याच प्रिभ्यु)

- पवन आचार्य, काठमाडौं

रुसको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा २१ औं संस्करणको विश्वकप फाइनल खेल्दै गर्दा फ्रान्स मनोवैज्ञानिक फाइदामा हुनेछ । दुई दशकको अन्तरालमा तेस्रोपटक महाकुम्भको फाइनल खेल्न लागेको फ्रन्सेली टोली प्रतियोगिताको फेवरेट समेत हो । आफ्नै भूमिमा भएको १९९८ को उपाधि उचालेको फ्रान्सले २००६ मा जर्मनी विश्वकपको फाइनल इटालीलाई सुम्पेको थियो । त्यसैले अन्डरडगको धब्बा मेटाउन प्रयासरत क्रोएसियाविरुद्धको खेलमा फ्रान्सले मौलिक आक्रामक प्रस्तुति दिनेमा कुनै शंका छैन । तर, हार नमान्ने टोलीको रुपमा कहलिएको क्रोएसियाविरुद्ध गोलका अवसर बुन्न फ्रान्सलाई पनि राम्रै संघर्ष गर्नुपर्नेछ । नकआउट चरणका तीनै खेलमा पछाडि परेको अवस्थालाई उल्टाएर नतिजा आफ्नो पक्षमा पारेको क्रोएसियालाई कम आँक्ने भूल फ्रान्सले गर्नेछैन ।

मिडफिल्डर ब्लेस माटुइडीको पुनरागमनले प्रशिक्षक डिडियर डेसच्याम्प्स खुशी छन् । बेल्जियमविरुद्धको खेलमा इडिन हाजार्डसँग ठोक्किंदा उनले चोट बोकेका थिए ।

क्रोएसियाली टोली पनि केही खेलाडीको चोटले पिरोलिएको छ । प्रशिक्षक ज्लाट्को डालिचले आज केही खेलाडीलाई विश्राम दिने मनस्थिति बनाएका छन् । विङ्गर ईभान पेरिसिच र सेन्टरब्याक डोमागोज भिडालाई मैदान ओराल्नेमा उनी द्विविधामा छन् । मार्सेलो ब्रोजोभिचले भने आज पहिलो ११ मा स्थान पक्का गर्ने सम्भावना प्रशस्त छ । इङल्याण्डविरुद्धको सेमिफाइनलमा पुरै १ सय २० मिनेट मैदानमा खटेका मिडफिल्डर ईभान राकिटिचले फाइनल जसरी पनि खेल्ने बताएक छन् । इङल्याण्डसँगको खेलअघि ज्वरोले थलिएका उनले भनेका छन्, ‘म एक खुट्टा गुमाएको अवस्थामा पनि फाइनल खेलेरै छाड्छु ।’

हेड टु हेड

–यसअघि क्रोएसियासँग भएका ५ भिडन्तमा फ्रान्स अपराजित छ । ३ खेल फ्रान्सले आफ्नो पक्षमा पारेको थियो । महत्वपूर्ण प्रतियोगितामा पनि फ्रान्स र क्रोएसिया २ पटक आमने सामने भइसकेका छन् ।
–सन् १९९८ मा भएको विश्वकपको सेमिफाइनलमा फ्रान्स १–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै २–१ ले विजयी भएको थियो । त्यतिबेला लिलियन थुरामले निर्णायक गोल गरेका थिए । फ्रान्सबाट १ सय ४२ क्याप जितेका थुरामको त्यो नै करिअरकै एकमात्र गोल थियो ।
–युरो २००४ को समूहगत चरणमा फ्रान्स र क्रोएसियाले २–२ गोलको बराबरी खेलेका थिए ।
–युरो २००४ पछि फ्रान्स र क्रोएसिया २०११ को मार्चमा मैत्रीपूर्ण खेलका लागि भिडे । सो खेल साँच्चै नै मैत्रीपूर्ण रह्यो । अर्थात् गोलरहित बराबरीमा सकियो ।

फ्रान्स

–तीनपटक भन्दा बढी विश्वकपको फाइनलमा पुग्ने फ्रान्स छैटौं टोली हो । जर्मनी सर्वाधिक ८ पटक, ब्राजिल र इटाली ६–६ पटक, अर्जेन्टिना ५ पटक फाइनलमा पुग्दा नेदरल्याण्ड्सले पनि ३ पटक विश्वकपको फाइनल खेलेको छ ।
–फुटबलको महत्वपूर्ण प्रतियोगितामा फ्रान्सले फाइनल खेल्न लागेको यो छैटौं अवसर हो । युरोपेली च्याम्पियनसिपको फाइनल फ्रान्सले ३ पटक खेलिसकेको छ । पछिल्ला ५ फाइनलमध्ये फ्रान्सले ३ वटामा जित हात पारेको छ ।
–विश्वकपको फाइनलमा फ्रान्सले गरेको ४ मध्ये ३ गोल सेट पिसबाट निस्किएको थियो । २ वटा गोल कर्नरमार्फत् हुँदा एउटा पेनाल्टीबाट सम्भव भएको थियो ।
–जारी विश्वकपकमा गोल गर्ने ५ खेलाडीमध्ये फ्रान्सका ३ डिफेण्डर छन् । बेन्जामिन पभार्ड, राफेल भारान र स्यामुअल उमटिटी फ्रान्सेली डिफेण्डर हुन् जसले रुस विश्वकपमा आफ्नो नाममा गोल लेखाइसकेका छन् ।
–पछिल्लोपटक फ्रान्सका ३ जना डिफेण्डरले विश्वकपमा गोल गर्दा सन् १९९८ मा उसले ट्रफी आफ्नै घरमा राखेको थियो ।
–पेनाल्टी शुटआउटलाई छाड्ने हो भने विश्वकपका नकआउट चरणका १४ खेलमा फ्रान्सले एउटैमा मात्र हार बेहोरेको छ । ११ खेल फ्रान्सले आफ्नो पक्षमा पारेको थियो । २ खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । सन् २०१४ को क्वार्टरफाइनलमा भने फ्रान्स जर्मनीसँग १–० ले पराजित भएको थियो ।
–फ्रान्सले आज विश्वकप उचाले प्रशिक्षक डिडियर डेसच्याम्प्स खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्नेछन् । यसअघि मारियो जागालो र फ्राञ्च बेकनबरले यो उपलब्धि हासिल गरेका थिए ।
–किलियन एमबापेले आज गोल गर्न सके उनी विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिन एजर खेलाडी हुने छन् । यसअघि पेलेले टिन एजमै विश्वकपको फाइनलमा गोल गरेर कीर्तिमान बनाएका छन् । सन् १९५८ मा पेलेले ६ गोल गरेका थिए । एमबापेले जारी विश्वकपमा ३ गोल गरिसकेका छन् । आज गोल नगरे पनि एमबापे पेलेपछि विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाडी बनसकेका छन् ।

क्रोएसिया

–विश्वकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो क्रोएसिया ।
–पहिलोपटक फाइपनल खेलेर पनि उपाधि उचाल्ने राष्ट्र फ्रान्स र स्पेन हुन् । फ्रान्सले १९९८ र स्पेनले २०१० मा पहिलो फाइनलमै राष्ट्रलाई विश्वकप दिलाएका थिए । क्रोएसिया पनि आज इतिहास दोहर्‍याउन चाहन्छ ।
–नकआउट चरणका सबै खेलमा पछि पर्नका बाबजुद विश्वकपको फाइनल पुग्ने एक्लो टोली हो क्रोएसिया ।
–क्रोएसियाले पछिल्ला ३ खेल अतिरिक्त समयसम्म खेलेको छ । आजको खेल पनि अतिरिक्त समयमा धकेलिए क्रोएसियाले एउटै विश्वकपमा लगातार ४ खेल अतिरिक्त समयसम्म खेल्ने कीर्तिमान बनाउने छ ।
–क्रोएसियाले जारी प्रतियोगितामा १२ गोल गरेको छ । आत्मघाती गोललाई समेत गन्ने हो भने क्रोएसियाबाट ७ खेलाडीले गोल गरिसकेका छन् ।
–जापानसँग २००६ मा गोलरहित बराबरी खेलेयता क्रोएसियाले विश्वकपका पछिल्ला १० खेलमा गोल गरेको छ ।
–क्रोएसियाले रुसमा खाएको ५ मध्ये ४ गोल सेट पिसमा सम्भव भएको थियो । एउटा पेनाल्टी, थ्रो ईन, र डाइरेक्ट तथा इनडाइरेक्ट फ्रि–किकमा क्रोएसियाले गोल खाएको छ ।
–क्रोएसियाले जारी प्रतियोगितामा ९९ वटा फउल खेलेको छ । उसका खेलाडीले १४ वटा पहेंलो कार्ड पाइसकेका छन् ।

यी दुईबीचको खेल लुज्निकी रंगशालामा राति पौने ९ बजे सुरु हुनेछ ।

प्रकाशित: असार ३१, २०७५