खेलकुद

विश्वकप २०१८ : इङल्याण्डविरुद्ध बेल्जियम (म्याच प्रिभ्यु)

- पवन आचार्य, काठमाडौं

ब्राजिल विश्वकप सन् २०१४ को समूह चरणबाटै बाहिरिएको इङल्याण्ड सामू ५२ वर्षपछि महाकुम्भको फाइनल खेल्ने अवसर थियो । तर कमजोर मिडफिल्ड र रक्षापंक्ति चुस्त हुन नसक्दा क्रोएशियाले इङलिस फुटबलर र समर्थकको त्यो सपना चकनाचुर पारिदियो । इङल्याण्डका अघि अब प्लेअफमा बेल्जियमलाई हराएर तेस्रो स्थान हात पार्ने बाहेक अर्को बिकल्प छैन । घरेलु भूमिमा सन् १९६६ मा भएको विश्वकप उचालेयता सोही स्तरको सफलता फुटबलका अन्य महत्वपूर्ण प्रतियोगितामा हात पार्नबाट असफल थ्री लायन्सले रुसमा सेमिफाइनलसम्मको यात्रा तय गर्नु आफैंमा ठूलो सफलताको हो । प्लेअफमा तेस्रो स्थान हासिल गरे त्यो बोनस हुने छ ।

अर्कोतर्फ बेल्जियम पनि सेमिफाइनलमा फ्रान्ससँग बेहोरेको हारमा मलहम लगाउने पक्षमा छ । यस्तोमा समूहगत चरणमा १–० ले  हराइसकेको इङल्याण्डलाई प्रतिद्वन्द्वी पाउँदा पनि रेड डेभिल्स खुशी छैन । कारण विश्वकपमा पहिलो हुनका लागि पुगेका टोलीहरु तेस्रो स्थानको भिडन्तमा रमाउने कुरै भएन । बेल्जियम वा इङल्याण्ड दुबैले यो खेललाई मात्र प्रतिष्ठाको लडाइँ बनाएका छन् ।

सेन्ज्ट पिटर्सबर्गमा राति पौने ८ बजे मैदान उत्रिंदा बेल्यिजम डिफेण्डर थोमस मुनिएरको पुनरागमनले हौसिने छ । एक म्याचको प्रतिबन्धका कारण उनले फ्रान्ससँगको सेमिफाइनल भिडन्त गुमाएका थिए । प्रशिक्षक रोबर्टो मार्टिनेजले आज टिममा केही परिवर्तन गर्ने सङ्केत गरेका छन् । तर, सर्वाधिक गोलकर्ताको सूचीमा इङल्याण्डका ह्यारी केनभन्दा मात्रै २ गोलले पछि रहेको रोमेलु लुकाकुलाई पहिलो रोजाईमा उतार्नुको बिकल्प उनीसित छैन ।

इङलिस प्रशिक्षक गारेथ साउथगेट किरन ट्रिपियरको चोटले पिरोलिएका छन् । त्यसैले उनी टिममा परिवर्तन गर्ने मुडमा छन् । तर, धेरै परिवर्तन गर्दा समूहगत चरणमा बेहोरेको हार उनले अझै बिर्सेका छैनन् ।

हेड टु हेड

–बेल्जियम र इङल्याण्ड रुस विश्वकपमा भिड्न लागेको यो दोस्रो अवसर हो । समूहगत चरणमा बेल्जियम १–० ले विजयी भएको थियो ।
–समूहगत चरणको सो खेलअघि इङल्याण्डले बेल्जियमविरुद्ध खेलेको २१ खेलमा १५ मा जित हात पारेको थियो । १ खेल बेल्जियमले जित्दा ५ म्याच बराबरीमा सकिएका थिए ।
–सन् २००२ पछि एउटै विश्वकपमा दुईपटक भिड्ने इङल्याण्ड र बेल्जियम पहिलो हुन् । यसअघि सन् २००२ को विश्वकपमा ब्राजिल र टर्कीले पनि एउटै विश्वकपमा दुईपटक एकअर्कालाई प्रतिद्वन्द्वी पाएका थिए ।

बेल्जियम

–बेल्जियमले विश्वकपमा दोस्रोपटक तेस्रो स्थानको प्लेअफ खेल्न लागेको हो । सन् १९८६ को मेक्सिको विश्वकपमा तेस्राृे स्थानका लागि भएको भिडन्तमा बेल्जियम फ्रान्तसँग अतिरिक्त समयमा ४–२ ले पराजित भएको थियो ।
–विश्वकपको नकआउट चरणमा सर्वाधिक खेल बिना क्लिन सिट खेल्ने कीर्तिमान बेल्जियमको नाममा छ । नकआउट चरणमा खेलेका १४ खेलमा बेल्जियमले क्लिन सिट कायम गर्न सकेन । अरु टोलीले नकआउट चरणका सात खेलमा मात्रै क्लिन सिट कायम गर्न नसकेको तथ्याङ्क छ ।
–विश्वकपमा सन् १९९० मा स्पेन र इङल्याण्डसँग पराजित भएयता बेल्जियमले युरोपेली टोलीसँग लगातार हार बेहोर्नु परेको छैन ।
–प्रशिक्षक रोबर्टो मार्टिनेजको नेतृत्वमा बेल्जियमले खेलेको २६ म्याचमा मात्रै २ वटामा पराजयको मुख देखेको छ । सन् २०१६ मा मार्टिनेजले प्रशिक्षणको नेतत्व लिएयता बेल्जियमले स्पेन र जारी विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग मात्र पराजित भएको छ ।
–जारी विश्वकपमा सर्वाधिक गोल गर्ने टिममा बेल्जियम पर्छ । रेड डेभिल्सको नाममा १४ गोल छ ।
–युरोपेली च्याम्पियनसिपको छनोटमा सन् २०१० मा जर्मनी र टर्कीसँग पराजित भएयता बेल्जियमले प्रतिस्पर्धात्मक खेलमा लगातार हार बेहोर्नु परेको छैन ।
–फिफाको सबै पाँच कन्फेडेरसनमा आवद्ध टोलीलाई यसै विश्वकपमा हराउने श्रेय बेल्जियमलाई मात्रै छ ।

 इङल्याण्ड

–इङल्याण्डले पनि विश्वकपमा दोस्रोपटक तेस्रो स्थानको प्लेअफ खेल्न लागेको हो । १९९० को विश्वकपमा तेस्रो स्थानका लागि भएको भिडन्तमा इङल्याण्ड इटालीसँग २–१ ले पराजित भएको थियो ।
–रुस विश्वकपमा इङल्याण्डले १२ गोल गरिसकेको छ । इङल्याण्डले विश्वकपमा गरेको यो नै अहिलेसम्मकै सार्वधिक गोल हो ।
–फुटबलको महत्वपूर्ण प्रतियोगितामध्ये ४ वटा सेमिफाइनलमा हार्ने इङल्याण्ड एक्लो टोली हो । थ्री लायन्सले १९६८ को युरोको सेमिफाइनलमा नतिजा युगोस्लाभियालाई सुम्पेको थियो । १९९० को विश्वकपमा पश्चिम जर्मनी, युरो १९९६ मा जर्मनीलाई र जारी विश्वकपमा क्रोएशियालाई इङल्याण्डले सेमिफाइनलको नतिजा सुम्पेको छ ।
–विश्वकपमा चौथो म्याच जित्ने सुरमा इङलिस टोली छ । आफ्नै भूमिमा भएको १९६६ को विश्वकप जित्दा टोलीले ५ वटा म्याच आफ्नो पक्षमा पारेको थियो ।
–आत्मघाती गोललाई गणना नगर्ने हो भने इङल्याण्डबाट जारी विश्वकपमा गोल गर्ने खेलाडीको संख्या ६ छ । १९५४, १९९८ र २००२ को विश्वकपमा इङलिस टोलीबाट ५ जना खेलाडीले गोलमा आफ्नो नाम लेखाएका थिए ।
–विश्वकपमा इङल्याण्डले खेलेको खेलमध्ये १० वटाको नतिजा अतिरिक्त समयमा धकेलिएको छ । जर्मनी र इटालीको हकमा यो संख्या इङल्याण्डभन्दा १ बढी छ ।
–विश्वकपको एउटै प्रतियोगितामा इङलिस फुटबलरले ६ भन्दा बढी गोल गर्न सकेका छैनन् । ह्यारी केनले जारी विश्वकपमा व्यक्तिगल गोल संख्या ६ पुर्‍याएका छन् । यसअघि १९८६ मा ग्यारी लिनेकरले ६ गोल गर्दै गोल्डन बुट आफ्नो नाम गरेका थिए । आजको खेलमा गोल गर्न सफल भए केन विश्वकपमा सर्वाधिक गोल गर्ने इङलिस खेलाडी बन्नेछन् ।
–इङलिस टोलीले जारी विश्वकपमा गरेको १२ मध्ये ९ गोल सेट पिसबाट निस्केको छ । यो संख्या एउटै टिमले एउटै विश्वकपमा गरेको गोलमध्ये सन् १९६६ पछिकै अधिक हो ।
प्रकाशित: असार ३०, २०७५