खेलकुद

विश्वकप २०१८ : इङल्याण्डविरुद्ध क्रोएशिया (म्याच प्रिभ्यु)

- पवन आचार्य, काठमाडौं

आधुनिक फुटबलको जन्मदाता इङल्याण्ड विश्वकप फुटबल दोस्रोपटक उचाल्ने संघारमा छ । तर, त्यसका लागि सेमिफाइनलमा कठिन प्रतिद्वन्द्वी क्रोएशियालाई पन्छाउनुको विकल्प ऊसँग छैन । महाकुम्भमा ५२ वर्षपछि फाइनल प्रवेश गर्ने अवसरलाई गुमाउने पक्षमा इङलिस फुटबलकै स्वर्णिम मानिएको पुस्ता छैन । यस्तोमा प्रशिक्षक गारेथ साउथगेटलाई हौसाउने समाचार पनि छ । त्यो के भने इङलिस टोलीका सबै २३ खेलाडी पूर्णत: फिट छन् । स्वीडेनविद्धरुको खेलमा चोट बोकेका जेमी भार्डी र जोर्डन हेण्डरसन पनि पूर्णत: फिट छन् । अर्कोतर्फ मस्कोको लुज्निकी रंगशालामा उत्रिँदै गर्दा क्रोएशिया भने चोटग्रस्त खेलाडीका कारण पिरोलिएको छ । पहिलो रोजाईका राईट ब्याक सेमी भर्साल्को आजको म्याचमा अनुपस्थित हुने पक्का भइसकेको छ । क्रोएशियन गोलपोष्ट सम्हाल्ने ड्यानियल सुवासिचले पनि रुसविरुद्धको खेलमा ह्यामस्ट्रिङको चोट बोकेका थिए ।

तर प्रशिक्षक ज्लात्को डालिच केही खेलाडीको अनुपस्थितिले क्रोएशियन टिमलाई कम आँक्न नमिल्ने बताउँछन् । सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको क्रोएशिया नयाँ अध्याय कोर्न चाहन्छ । प्रशिक्षक डालिचको दाबी त के पनि छ भने विश्वकपको फाइनल पुगिसकेको फ्रान्स र आज भिड्न लागेको इङल्याण्डभन्दा उनको टोली धेरै बलियो छ ।

हेड टु हेड

–फुटबलको मुख्य प्रतियोगितामा इङल्याण्ड र क्रोएशिया मात्रै एकपटक आमने सामने भएका छन् । सन् २००४ को् यूरो कपको समूहगत चरणमा इङल्याण्डले क्रोएशियालाई ४–२ ले हराएको थियो ।
–यी दुई टोलीबीच समग्रमा हुन लागेको यो आठौं स्पर्धा हो । इङल्याण्डले ४ पटक खेल आफ्नो पक्षमा पार्दा क्रोएशियाले २ मा जित आत्मसात गरेको छ । एक खेल बराबरीमा सकिएको थियो ।
–इङल्याण्डविरुद्ध क्रोएशियाले निकालेको पछिल्लो जित सन् २००७ मा थियो । वेम्बलीमा भएको खेलमा क्रोएशिया ३–२ ले विजयी भएपछि यूरो २००८ खेल्ने इङल्याण्डको सपना चकनाचुर भएको थियो ।
–यी दुई टोली र बुधबारबीच अनौठो संयोग छ । यी दुईले खेलेका पछिल्ला ६ म्याच पनि बुधबारै भएका थिए ।

क्रोएशिया

– क्रोएशिया दोस्रोपटक विश्वकपको सेमिफाइनल खेल्दैछ । विश्वकपमा पहिलोपटक सहभागिता जनाउने क्रममा सन् १९९८ मा क्रोएशिया अन्तिम ४ मा पुगेको थियो ।
–नकआउट चरण र क्वार्टरफाइनलमा पेनाल्टी शुटआउटमा विपक्षी टिमलाई पराजित गरेर विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने क्रोएशिया दोस्रो राष्ट्र हो । यसअघि सन् १९९० मा अर्जेन्टिनाले यस्तो आँकडा निकालेको थियो । त्यतिबेला अर्जेन्टिनाले नकआउट चरणमा युगोस्लाभिया र क्वार्टरफाइनलमा इटालीलाई हराएको थियो ।
–विश्वकपका नकआउट चरणका ६ खेलमध्ये क्रोएशिया सन् १९९८ को सेमिफाइनलमा फ्रान्ससँग मात्रै पराजित भएको थियो ।
–युरोपेली टोलीसँग विश्वकपका क्रोएशियाको जितको आँकडा बलियो छ । उसले ५ खेलमा जित हात पार्दा मात्रै २ पटक युरोपेली टोलीलाई नतिजा सुम्पिएको छ ।
–सन् २०१७ को सेप्टेम्बरमा टर्कीसँग १–० ले पराजित भएयता क्रोएशियाले प्रतिस्पर्धात्मक ९ खेलमा एउटैमा हारको स्वाद चाखेको छैन ।
–रुस विश्वकपमा क्रोएशियाले गरेको १० गोलमा ८ खेलाडीको नाम छ । बेल्जियममात्र यस्तो टिम हो जसका ९ खेलाडीले जारी विश्वकपमा गोल गरेका छन् ।

इङल्याण्ड

–इङल्याण्ड विश्वकपमा तेस्रोपटक सेमिफाइनल खेल्दैछ । सन् १९६६ मा पोर्चुगललाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको इङल्याण्ड १९९० मा पश्चिम जर्मनीसँग पेनाल्टी शुटआउटमा पराजित भएको थियो ।
–थ्री लायन्सको उपनाम पाएको टोलीले मुख्य प्रतियोगिताका ३ सेमिफाइनल खेल गुमाएको छ । १९९६ को युरो र १९९० को विश्वकपमा जर्मनीलाई नतिजा सुम्पेको इङल्याण्डले १९६८ को युरो युगोस्लाभियालाई सुम्पिएको थियो ।
–इङल्याण्डले जारी विश्वकपमा कुल ११ गोल गरिसकेको छ । यो गोल संख्या इङल्याण्डले सन् १९६६ मा विश्वकप जित्न पर्याप्त थियो ।
–सन् १९८२ यता इङल्याण्डले विश्वकपमा युरोपेली प्रतिद्वन्द्वीलाई हराउन सकेको छैन । ८२ मा इङल्याण्डले फ्रान्स र चेकोस्लोभाकियालाई पराजित गरेको थियो ।
–सन् २०१४ को ब्राजिल विश्वकपका २ खेल गुमाएयता पछिल्ला ३० प्रतिस्पर्धात्मक खेलमा इङल्याण्डले २२ वटामा जित हात पारेको छ । ६ खेल बराबरीमा सकिएका थिए ।
–इङल्याण्डका ह्यारी केन ६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीको पहिलो नम्बरमा छन् । पछिल्ला ९ विश्वकपमध्ये सन् २००२ मा ब्राजिलका रोनाल्डोले सर्वाधिक ८ गोल गरेका थिए ।
प्रकाशित: असार २७, २०७५