खेलकुद

घर फिर्ती : नामी टिम विश्वकपबाट बाहिरिनुका कारण

- पवन आचार्य, काठमाडौं

रुस विश्वकप सुरु हुँदा डिफेन्डिङ च्याम्पियन जर्मनीले उपाधि रक्षा गर्ने धेरैको अनुमान थियो । प्रशिक्षक जोचिम लोउले पनि टिम पुन: च्याम्पियन बन्ने दाबी गरेका थिए । तर, समूहगत चरणको अन्तिम खेलमा एसियाली राष्ट्र दक्षिण कोरियासँग २–० को स्तब्धतापूर्ण नतिजा निकाल्दै जर्मनी विश्वकपबाट बाहिरियो ।

विश्वकपको इतिहास केलाउने हो भने उपाधि रक्षा गर्नु त्यति सहज देखिएको छैन । ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार विश्वकप जिते पनि त्यो कीर्तिमान अरू टोलीले दोहोर्‍याउन सकेका छैनन् । ब्राजिलको त्यो कीर्तिमानपछि भएका १३ वटा प्रतियोगितामा साविकका विजेतामध्ये सन् १९९० मा अर्जेन्टिना र सन् १९९८ मा ब्राजिलबाहेक अरू क्वार्टरफाइलनभन्दा अगाडि जान सकेका छैनन् ।

अर्जेन्टिना

अर्जेन्टिनाको प्रदर्शनलाई लिएर सामाजिक सञ्जालमा ‘जोक’ बनिसकेको छ । फ्रान्ससँग नकआउट चरणमा पराजित हुँदै घर फिरेको अर्जेन्टिनाबारे कुनै पत्रकारले ब्राजिलका फुटबल लिजेन्ड पेलेलाई सोधेछन्, ‘अर्जेटिनाको यो टिमलाई सबैले हराउन सक्छन् ?’ पेलेले उत्तर दिएछन्, ‘यो टोलीलाई त १९७० को ब्राजिलियन टोलीले पनि १–० ले हराउन सक्छ ।’ पत्रकार अचम्भित हुँदै सोधेछन्, ‘१९७० को त्यस्तो बलियो टोलीले मात्र १–० ले हराउने भनेपछि अर्जेन्टिना बलियो नै मान्नुहुन्छ ?’ पेलेले हाँस्दै भनेछन्, ‘१९७० को टिमका सदस्यहरू अहिले ७० वर्षमाथिका भइसके नि । त्यसैले हामी १ भन्दा बढी गोल गर्न सक्दैनौँ ।’

हुन पनि अर्जेन्टिनाले यो विश्वकपमा आफूलाई दाबेदारका रूपमा उभ्याउने प्रदर्शन गरेन । छनोट चरण पार गर्ने बेला नै अनेक व्यवधान झेल्नुपरेको अर्जेन्टिनाले रुसमा समर्थकलाई निराशा ज्यादा र उत्साह कम सञ्चार गर्‍यो । समूहगत चरणको पहिलो खेलमा आइसल्यान्डसँग अंक बाँडेको अर्जेन्टिना दोस्रोमा क्रोएसियासँग पराजित हुन पुग्यो ।

अन्तिम खेलमा नाइजेरियालाई हराउँदै प्रि–क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले फ्रान्ससँगको खेलमा सर्गियो अग्युरोलाई लामो समय बेञ्चमा सीमित राख्यो । लियोनल मेसीलाई फल्स नाइनमा खेल्न पठाउँदा मिडमा प्लेमेकरको अभाव खड्किएको थियो । त्यसमाथि हरेक खेलमा नयाँ–नयाँ रणनीति अपनाएर खेल्दा अर्जेन्टिनी टोली केही अलमलिएजस्तो देखिन्थ्यो ।

त्यसो त छनोट चरणमा मात्रै १९ गोल गरेको अर्जेन्टिना दक्षिण अमेरिकी समूहमा सबैभन्दा कम गोल गर्ने टोली थियो । अर्जेन्टिना यति थोरै गोल गरेर विश्वकपमा छनोट भएको सन् १९९८ पछि पहिलो घटना थियो । गोल गर्ने भोक खेलाडीमा नहुँदा विश्वकै नामी स्ट्राइकर मेसीको अन्तिम विश्वकप बिर्सनलायक बन्न पुग्यो ।

जर्मनी

समूहगत चरण पार गर्न नसकेपछि डिफेन्डिङ च्याम्पियन जर्मन टोलीका सदस्य पत्रपत्रिकाको तारो भएका छन् । जर्मन पत्रिका बिल्डले विश्वकप फुटबल इतिहासकै शर्मनाक दिन भनेर लेख्यो । डाइ वेल्टले लज्जास्पद शीर्षक राखेर समाचार छाप्यो । अरू पत्रिकाले जित्न नजान्नेहरू भनेर पनि समाचार छापे ।

विश्वकपको समूहगत चरणबाटै टोली बाहिरिएला भन्ने नसोचेका जर्मन समर्थकका लागि मात्रै होइन, अन्य फुटबल समर्थकलाई पनि त्यो समाचार पत्यारिलो थिएन । १९३९ पछि जर्मनी पहिलोपटक विश्वकपको समूहगत चरणबाटै बाहिरिएको घाउको खाटा बस्न निकै समय लाग्ने निश्चित छ । किनभने, जर्मन पत्रिकाहरूले दक्षिण कोरियासँग पराजित भएको दिनलाई फुटबल इतिहासकै कालो दिन भनेर परिभाषित गरेका छन् ।

राइनसेन पोस्टले ५ हजार जर्मन समर्थकबीच गरेको अनलाइन सर्वेक्षणले पनि उनीहरूका लागि विश्वकप जर्मन टोलीको बहिगर्मनसँगै सकिएको देखाएको छ । ४२ प्रतिशतले जर्मनीबिनाको विश्वकपलाई दर्शकका रूपमा निरन्तरता दिने बताए भने २० प्रतिशतले विश्वकप हेर्ने सम्भावना घटेको बताए । साप्ताहिक स्ट्रेनले गरेको सर्वेक्षणमा २५ प्रतिशत जर्मन समर्थकले अब बेल्जियमलाई समर्थन गर्ने मनसाय बनाएको उल्लेख गरे ।

१५ प्रतिशतले क्रोएसिया र १० प्रतिशतले इंग्ल्यान्डलाई समर्थन गर्ने आशय जनाए । यी दुई सर्वेक्षणमा जर्मनीको हारका कारण टोलीमा रहेका बूढा र थकित खेलाडीलाई औँल्याइएको छ ।

स्पेन

सन् २०१० को विश्वकप विजेता स्पेन ब्राजिलमा भएको अघिल्लो संस्करणको विश्वकपको पहिलो चरणबाटै बाहिरिएको थियो । यसपटक पनि टिकीटाकाको जादू लामो समय चलेन । नकआउट चरणमा आयोजक रुससँग पेनाल्टी सुट आउटमा ३–४ ले पराजित भएसँगै विश्वकपमा स्पेनको खराब प्रदर्शनले निरन्तरता पायो ।

त्यसो त विश्वकप सुरु हुनु केही अघि मात्रै स्पेनले आफ्ना नियमित प्रशिक्षक हुलेन लोपेतेगीलाई बर्खास्त गरेर सनसनी मच्चाएको थियो । त्यसको प्रभाव टोलीमा नराम्ररी परेको स्पेनी डिफेन्डर सर्गियो रामोसले बताएका छन् । मार्का पत्रिकामा प्रकाशित उनको पत्रमा भनिएको छ, ‘प्रशिक्षकको बर्खास्तगीपछि हामी नराम्ररी झस्किएका थियौँ । सम्हालिन केही समय लाग्यो । तर, त्यतिबेलासम्म निकै अबेर भइसकेको थियो ।’ उनले शर्मनाक हारपछि पनि आफू लज्जित नभएको र स्पेनलाई कप्तानी गर्न पाउँदा गर्व लागेको उल्लेख गरेका छन् ।

हुन पनि रुसका विभिन्न मैदानमा स्पेन रानो हराएको माहुरीजस्तो देखिन्थ्यो । समूहगत चरणमा स्पेनले आत्मसात् गरेको एक मात्र जित इरानविरुद्ध थियो । पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको स्पेनी टिममा अटाएका खेलाडीबारे समेत आलोचना हुन थालेको छ । युवा खेलाडीलाई मौका नदिइएको भनेर स्पेनमै फुटबल संघको आलोचना भइरहेको छ ।

पोर्चुगल

युरो कप– २०१६ को विजेता पोर्चुगल यसपटक नवौँ टोलीका रूपमा विश्वकप उचाल्ने ध्याउन्नसहित रुस पुगेको थियो । तर, प्रि–क्वार्टरफाइनलमा उरुग्वेसँग पराजित भएपछि उसको सपना पनि तुहिन पुगेको छ । प्रतियोगितामा ४ गोल गरेका क्रिस्टियानो रोनाल्डोले उरुग्वेविरुद्धको निर्णायक खेलमा गोल गर्न सकेनन् । फलत: टोलीको रुस बसाइ छोट्टियो ।

रोनाल्डोले पोर्चुगलको प्रदर्शन स्थिर रहेको दाबी गरे पनि रुसमा त्यसको छनकसम्म देखिएन । पोर्चुगलको यात्रा रुसमा लम्बिएको भए रोनाल्डो गोल्डन बुटको दाबेदार हुन सक्थे । तर, अब पोर्चुगलमा उनको भविष्यलाई लिएर समेत विभिन्न टीकाटिप्पणी सुरु भइसकेका छन् । पोर्चुगलका मिडफिल्डर बर्नाडो सिल्भा रोनाल्डो टिममा आवश्यक रहेको तर्क गर्छन् । तर, कतारमा २२औँ संस्करणको विश्वकप हुँदा रोनाल्डोको उमेर ३७ वर्ष पुगिसक्छ । यस्तोमा उनी टिममा अटाउनेमा शंका छ । सिल्भा भन्छन्, ‘विश्वकपबाट बाहिरिएको पीडामै रहेकै बेला आगामी दिनमा टिममा को अटाउँछन् भन्नु निकै हतारो हुन्छ ।’

प्रकाशित: असार २४, २०७५