खेलकुद

विश्वकप २०१८ : ब्राजिल विरुद्ध बेल्जियम (म्याच प्रिभ्यु)

- पवन आचार्य, काठमाडौं

जोगोबोनितो अर्थात सुन्दर खेलको हिमायती ब्राजिल बेल्जियमको स्वर्णीय पुस्तासँग कजान एरिनामा मध्यरात पौने १२ बजे भेट्दा छैठौ पटक विश्वकप उचाल्ने सपनालाई नयाँ आकार दिने योजनामा हुनेछ । समूहगत चरण नकआउट चरणमा बलिया प्रतिद्धन्द्धिको सामना नपरेको बेल्जियमको आक्रमणको सहि मानेमा परीक्षण ब्राजिलसँग हुनेछ । हुनत् बेल्जियम जारी विश्वकपमा सर्वाधिक १२ गोल गर्ने टोली हो तर  ब्राजिली डिफेन्डरलाई चिर्न रेड डेभिल्सलाई फलामको चिउरा हुनेछ । ब्राजिलले खलेका ४ खेलमा मात्रै एक गोल खाए बापत् उसको रक्षा पक्ति कत्तिको जब्बर छ भन्ने प्रमाण पेश भईसकेको छ । तर मिडफिल्डर कासिमिरोको प्रतिबन्ध उसका लागि टाउको दुखाई हुन सक्छ । प्रशिक्षक तीतेले उनको स्थानमा आज फर्नान्डिन्होलाई उतार्ने स्पष्ट पारिसकेका छन् । लेफ्ट ब्याक मार्सेलो जो अघिल्लो खेलमा अनुपस्थित थिए उनी पनि आज मैदान ओर्लने छन् । यसको अर्थ हुनेछ । फिलिपे लुईस आज पहिलो रोजाईको ११ मा पर्ने छैनन् । वीङगर डगलस कोस्टा पनि चोटमूक्त भईसकेका छन् । तर उनी पहिलो ११ मा पर्ने नपर्ने यकिन छैन ।

बेल्जियमलाई खेलाडिको चोटले खासै पिरोलेको छैन ।  तर वीङगर अदनान यानुजाई आजको खेलमा ओर्लने नओर्लने चाँहि पक्का भईसकेको छैन । प्रशिक्षक रोबर्टो मार्टिनेजलाई पहिलो रोजाईको ११ उतार्न त्यति अप्ठेरोपर्ने छैन । तर ब्राजिलका वीलीयन र फिलिप काउटिन्होको दायाँबायाँबाट हुने आक्रमण रोक्न भने चुस्त रणनीति बनाउन आवश्यक छ ।

हेड टु हेड

–ब्राजिल र बेल्जियमले यसअघि ४ खेलमा एकअर्कालाई प्रतिद्धन्द्धि पाएका थिए । पहिलो पटक सन् १९६३ मा ब्रसेल्समा भएको मैत्रीपुर्ण खेलमा बेल्जियम ५–१ ले विजयी भयो । त्यसयताका सबै ३ खेलमा ब्राजिल विजयी रहँदै आएको छ ।
–विश्वकपमा भने यी दुईबीच सन् २००२ को राउण्ड अफ १६ मा भेट भएको थियो । जसमा ब्राजिलले २ शून्यले जित निकाल्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा रिभाल्डो र रोनाल्डोले गोल गरे । ब्राजिलले त्यो खेल मात्र हैन, त्यो संस्करणको विश्वकप पनि जित्यो ।

ब्राजिल

–ब्राजिल लगातार सातौं पटक विश्वकपको क्वाटरफाईनल खेल्दैछ । ब्राजिलले मात्रै दुईपटक विश्वकपको क्वाटरफाईनलमा हार बेहोरेको छ । सन् २००६ मा फ्रान्ससँग र २०१० मा नेदरल्याडस्सँग पराजित भएको थियो ।
–सेलेकाओको विश्वकपमा भएको पछिल्लो ६ पराजय सबै यूरोपेली टोलीसँग छ । त्यसैले बेल्जियमसँग ऊ सतर्क भएर खेल्न चाहन्छ ।
–युरोपेली टोलीलाई विश्वकपको नकआउट चरणमा ब्राजिलले पराजित गरेको भनेको सन् २००२ मा जर्मनीलाई हो । ब्राजिल १५ खेलसम्म अपराजित छ । ११ मा जीत र ४ मा बराबरी गरेको ब्राजिलले मात्रै ४ गोल खाएको छ ।
–प्रशिक्षक तीतेको कमानीमा ब्रजिलले २५ मध्ये २० खेल आफ्नो पक्षमा पारेको छ । १९ खेलमा क्लीनसीट राख्न सफल भएको छ । ब्राजिलीयन स्ट्राईकर नेयमार टिमले १९ खेलमा गरेको २० गोलमा प्रत्यक्ष संलग्न छन् । ११ गोल उनले आफ्नो नाममा लेखाए बाँकी ९ मा एसिस्ट गरे ।

बेल्जियम

–बेल्जियमले पछिल्ल्ला दुई संस्करण विश्वकपमा दक्षिण अमेरिकी टोलीसँग हार बेहोर्दै टुङ्ग्याएको थियो । सन् २००२ मा ब्राजिल र २०१४ मा अर्जेन्टिनासँग पराजित भएपछि रेड डेभिल्सको विश्वकप यात्रामा पूर्णविराम लागेको थियो ।
–आजको जितले रेड डेभिल्सलाई सन् १९८६ पछि विश्वकपको सेमिफाईनलमा पहिलोपटक पुर्‍याउनेछ । त्यतिबेला पनि बेल्जियमले विश्वकपमा १२ गोल गरेको थियो ।
–रोबर्टो मार्टिनेजको टोली २३ खेलमा अपराजित छ । १८ मा जित र ५ मा बराबरी खेलेको छ बेल्जियम टोलीले ।
–तर विश्वकपका पछिल्ला १० खेलमा पहिलो हाफमा गोल गर्नबाट चुकेको बेल्जियमका लागि आज अग्रता बनाउन चूनौती छ ।
–आजको जितले बेल्जियम विश्वकपमा लगातार ५ खेल जित्ने किर्तिमान बनाउन सक्छ । विश्वकपका ९ मध्ये ८ खेल बेल्जियमले आफ्नो पक्षमा पारेको छ ।
–विश्वकपको नकआउट चरणमा सर्वाधिक १२ क्लिनसीट राख्ने एकमात्र टोली बेल्जियम हो । ती १२ खेलमा बेल्जियमले २८ गोल गरेको छ ।

 

 

प्रकाशित: असार २२, २०७५