अर्थ

टेवा बिन्दु छोएर फर्कियो नेप्से, मौद्रिक नीतिको आशा

- विजयराज खनाल, काठमाडौं

यस साताको सेयर बजार परिसूचक गत साताभन्दा २५ अंक बढेर १२२४ मा आएको छ । गत साता ११९८ मा बजार बन्द भएको थियो । कारोबारको पहिलो दिन आइतबार एकै दिन १४ अंकले घटेको बजार त्यसपछिका तीन दिन लगातार अन्तरदिनको कारोबारमा ११७५ मा टेवा पाएर बढ्ने प्रयासमा रह्यो । बुधबारबाट बजारमा राष्ट्र बैंकले सेयर धितोमा कर्जाको सीमा बढाउन लागेको समाचार फैलिएपछि बजार बढ्न बल पुगेको थियो ।

“११७५ बिन्दुमा पुगेर नेप्से पटकपटक बढ्ने प्रयासमा रह्यो तर सकिरहेको थिएन, सकारात्मक खबरले ‘ट्रिगर’को काम गर्‍यो”, एक विश्लेषक भन्छन् । मौद्रिक नीतिमा वाणिज्य बैंकलाई धितोपत्र दलालको अनुमति दिन लागिएको खबरसमेत सार्वजनिक भएको छ । राष्ट्र बैंकले आगामी साता मौद्रिक नीति सार्वजनिक गर्ने सम्भावना छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्य रहेकाले यसको ठूलो प्रभाव पर्ने गर्छ ।

यस साता सेयर बजारमा १ अर्ब रुपियाँ बराबरका नयाँ सेयर थपिएका छन् । ६ बैंक तथा वित्तीय संस्थाको बोनस र हकप्रद सेयर बजारमा थपिएका हुन् । ओम डेभलपमेन्ट, सूर्योदय लघुवित्त, देव: विकास, मञ्जुश्री फाइनान्स, कर्णाली डेभलपमेन्ट र आरएमडीसी लघुवित्तको हकप्रद र बोनस सेयर सूचीकृत भएको हो । सातामा सर्वाधिक कारोबार हुनेमा नेपाल इन्स्योरेन्स, प्राइम कमर्सियल बैंकलगायत रहेका छन् । १० बराबर ६ को अनुपातमा हकप्रद प्राप्त गर्ने अन्तिम दिन (बुक क्लोज) २१ असारमा रहेकाले कम्पनीको सबैभन्दा धेरै रुपियाँको सेयर कारोबार भएको हो ।

कारोबार भएको सेयर संख्याका आधारमा समेत अग्रस्थानमा रहेको प्राइम कमर्सियलमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । प्राइम तेस्रो त्रैमासिकमा १ अर्बमाथिको नाफा गर्ने पछिल्लो पुस्तामध्येको बैंक हो । अहिले बैंकको मूल्य सोही समयका बैंकहरूको मूल्य बराबर आएको छ ।

आरएसआई सूचकमा डब्लु आकृति

सेयर बजार परिसूचकको आरएसआइ सूचक बजार अधिक बिक्री क्षेत्रबाट सन्तुलनमा आएको संकेत गरिरहेको छ । मंगलबार १५.९ विन्दुमा रहेको नेप्सेको आरएसआई सूचक बढेर ४६.१७ मा आएको छ । गत साताको मंगलबार पनि नेप्से यो सूचकको स्केल १६.४ बिन्दुमा रहेको थियो । यससँगै आरएसआई सूचकको रेखामा पनि डबल बटम अर्थात् अंग्रेजी अक्षरको डब्लु आकृति बनेको छ । यसले बजार बढ्न थप सहयोग पुग्ने संकेत गर्छ ।

वियरिस मनोविज्ञान अझै

गत एक महिनामा नेप्सेको उच्च, न्यून र अन्तिम बिन्दुका आधारमा निकालिएको पीभटको मान १२३५ छ । बजार बन्द हुँदा १२२४.४१ बिन्दुमा नेप्से आएको छ । पीभट बिन्दुभन्दा तल नेप्से रहेकाले लगानीकर्तामा वियरिस मनोविज्ञान हट्न बाँकी रहेको संकेत गर्छ । बढ्दो क्रममा देखिएको बजारले एक महिनामा १२७१ मा पहिलो प्रतिरोधको सामना गर्न सक्छ ।

यस्तै, नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभेरेज रेखा भने अझै एकआपसबाट टाढा छन् । यी रेखा नजिक आएर २१ दिनेलाई ७ दिने रेखाले पार गरे बजार केही समय बढ्ने विश्लेषण गरिन्छ ।

प्रकाशित: असार २२, २०७५