खेलकुद

विश्वकप २०१८ : उरुग्वेविरुद्ध फ्रान्स (म्याच प्रिभ्यु)

- पवन आचार्य, काठमाडौं

निज्नी नोभगोरोड रंगशालामा नेपाली समय अनुसार शुक्रबार राति पौने ८ बजे हुने उरुग्वे र फ्रान्सबीचको विश्वकप क्वार्टरफाइनललाई सशक्त रक्षापंक्ति र चुस्त आक्रमणबीचको लडाईंका रुपमा लिन सकिन्छ । तीव्र गति र धारिलो आक्रमणका लागि कहलिएको फ्रान्सेली टोलीलाई रोक्नु उरुग्वेका बलिया रक्षापंक्तिलाई आज कडै मिहेनत गर्नुपर्नेमा शंका छैन । जारी विश्वकपमा उरुग्वेको रक्षापंक्तिलाई सबैभन्दा सशक्त मानिएको छ । उरुग्वेले रुसमा पोर्चुगलविरुद्धको खेलमा मात्रै गोल खाएको छ । त्यही आत्मविश्वासी रक्षापंक्तिलाई चिर्न फ्रान्सेली स्ट्राइकरहरुले राम्रै लय समात्न जरुरी छ ।

उरुग्वे आफ्ना प्रमुख स्ट्राइकर एडिन्सन काभानीको चोटलाई लिएर चिन्तित छ । पोर्चुगलविरुद्धको खेलमा चोटग्रस्त बनेका उनी पूर्ण रुपमा फिट भइसकेका छैनन् । यस्तोमा उरुग्वेको अग्रपंक्ति लुइस स्वारेज र क्रिष्टियन तुआनीले सम्हाल्ने सम्भावना छ ।

त्यस्तै फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प्स पनि मिडफिल्डर ब्लेस मटुडिको अनुपस्थितिलाई लिएर चिन्तित छन् । मटुडि एक म्याचको प्रतिबन्धमा छन् । तर, एन्टोइन ग्रिजमन, किलियन एमबापे, ओलिभर जिरुड, पभार्ड लगायत खेलाडीको भरमा फ्रान्सेली टोली सशक्त छ ।

उरुग्वेका प्रशिक्षक ओस्कार ताबरेजलाई पनि थाहा छ कि एमबापेको गतिलाई रोक्न कठिन छ । त्यसैले उनी फ्रान्सेली स्ट्राइकरलाई टाइम र स्पेश दिने पक्षमा छैनन् । त्यसका लागि उनले रणनीतिक तयारी थालिसकेका छन् ।

फ्रान्सेली प्रशिक्षक डेसच्याम्सका लागि काभानीका् उपस्थिति टाउको दुखाई बनेको छ । काभानी शुक्रबारको खेलमा मैदान ओर्लन्छन् या ओर्लन्न् भन्नेमा उनको रणनीति निर्भर गर्नेछ ।

हेड टु हेड

–विश्वकपका उरुग्वे र फ्रान्स भिड्न लागेको यो चौथो पटक हो । तर, यी दुईबीच नकआउट चरणमा हुन लागेको यो पहिलो स्पर्धा हो ।
–विश्वकपका पछिल्ला २ भेटमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका छन् । सन् २००२ र २०१० मा लिग चरणमा भएका खेल बराबरीमा सकिएका थिए । सन् १९६६ मा उरुग्वेले फ्रान्सलाई २–१ ले हराएको थियो ।
–फ्रान्सविरुद्धको पछिल्लो भिडन्तमा उरुग्वेले बाजी मारेको छ । सन् २०१३ मा मोन्टेभिडियोमा भएको खेलमा लुईस स्वारेजको गोलमा उरुग्वे विजयी भएको थियो ।
–उरुग्वेसँग खेलेका पछिल्ला ८ खेलमा फ्रान्सले मात्रै एकपटक जित हात पारेको छ । त्यो पनि सन् १९८५ मा पेरिसमा भएको मैत्रीपूर्ण खेलमा ।

उरुग्वे

–उरुग्वे विश्वकपमा लगातार पाँचौ खेल जित्ने योजनामा छ । यसअघि उसले १९३० को विश्वकपको पहिलो संस्करणमा पाँचै खेलमा नतिजा आफ्नो पक्षमा पारेको थियो । त्यतिबेला उसले सोही नतिजामा विश्वकप आफ्नो पोल्टोमा हालेको थियो ।
–उरुग्वे पाँचौ पटक विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । पछिल्ला ३ विश्वकपकमा उरुग्वे मात्रै एकपटक सेमिफाइनलसम्म पुगेको छ ।
–उरुग्वेले सन् १९७० र २०१० मा मात्रै विश्वकपको क्वार्टरफाइनल म्याच आफ्नो पक्षमा पारेको छ । सन् १९६६ मा भने ऊ अन्तिम ८ मा पश्चिम जर्मनीसँग ४–० ले स्तब्ध भएको थियो ।
–एडिन्सन काभानीले गरेको ४५ अन्तर्राष्ट्रिय गोलमा १२ वटा एसिस्ट लुइस स्वारेजले गरेका छन् ।
–उरुग्वेका गोलरक्षक फर्नाण्डो मुसलेराले पछिल्ला ४ खेलमा क्लिन सिट कायम गरेका छन् । उनले विपक्षीका १० वटा प्रहारको उत्कृष्ट बचाउ गरिसकेका छन् ।

फ्रान्स

–सन् २००६ पछि फ्रान्स पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुग्ने योजनामा छ ।
–फ्रान्स दक्षिण अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध विश्वकपको पछिल्ला ९ खेलमा अपराजित छ । उसले ५ खेलमा आफ्नो पक्षमा पार्दा ४ खेल बराबरीम सकिए । तीमध्ये ७ खेलमा फ्रान्सले क्लिन सिट कायम गरेको थियो ।
–किलियन एमबापेले जारी विश्वकपमा ३ गोल गरेका छन् । टिनएजमै रुस विश्वकपमा यतिधेरै गोल गर्ने उनी पहिलो खेलाडी हुन् । यसअघि सन् १९५८ मा ब्रजिलका पेलेले १९ वर्षको उमेरमै विश्वकपमा ६ गोल गरेका थिए ।
–एमबापेबाहेक पेले र जर्मनीका एडमन्ड कोनेनले मात्रै ३ भनदा बढी गोल गरेका छन् । कोनेनले १९३४ मा ४ गोल गरे ।
–एन्टोइन ग्रिजम्यानले गोल गरेको खेलमा फ्रान्स अपराजित रहँदै आएको छ । त्यस्तो अवस्थामा फ्रान्सले १७ पटक नतिजा आफ्नो पक्षमा र २ खेल बराबरीमा टुङ्गाएको छ ।

फुटबल पण्डितहरुले खेलमा उरुग्वेमाथि फ्रान्स हावी हुने अनुमान गरेका छन् । उनीहरुको नजरमा फ्रान्सको रुस विश्वकप जित्ने सम्भावना १३ प्रतिशत छ । जबकी उनीहरु दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले तेस्रोपटक विश्वकप उचाल्ने सम्भावनालाई १० प्रतिशतमै खुम्च्याउँछन् ।

प्रकाशित: असार २२, २०७५