नोटबुक

[नोटबुक] गेन्टिङ हाइल्यान्डको चिसो

- श्रद्धा अर्याल, काठमाडौं

३० डिग्री सेल्सियसको गर्मी खाएको क्वालालम्पुरभन्दा माथि गेन्टिङ हाइल्यान्ड पुग्दा मलेसियाको चिसो अनुभव भयो । झट्ट हेर्दा  नेपालकै कुनै डाँडापाखाजस्तो लाग्ने गेन्टिङ हाइल्यान्डमा परेको मुसलधारे पानीले मौसम एक्कासि चिसो बनाइदियो । १ हजार ८ सय ६५ मिटर उचाइको गेन्टिङ हाइल्यान्डमा केबलकारबाट चढ्दै गर्दा उखरमाउलो गर्मीलाई जितेको महसुस हुन्थ्यो । तर, कारबाट उत्रिएपछि भने चिसोले हातखुट्टा त्यसै कठ्यांग्रिए ।

क्यासिनोका लागि विश्वविख्यात गेन्टिङ हाइल्यान्डमा खेल्नकै लागि पर्यटकको घुइँचो नै लाग्छ । मलेसियाको गर्मी छल्न, घुम्न र क्यासिनो खेल्न आउनेमध्ये हरेक दिन कोही कंगाल भएर निस्कन्थे, कोही लखपति भएर । गर्मीको समयमा पनि शीतल हुने भएकाले यहाँका सपिङ मल र थिएटर, रेस्टुराँ, होटल र बालबालिका खेलाउने पार्कमा मानिसको उपस्थिति अत्यधिक थियो ।

चिसो ठाउँमा जाडो छल्ने उपाय खोज्दाखोज्दै एक नेपालीले सञ्चालन गरेको बेकरी क्याफेमा पुगियो, जहाँ पुगेर नेपाली व्यवसायी र नेपाली कामदार भेट्दा खुसीको सीमा रहेन । ती नेपाली व्यवसायीले पनि हाम्रो आतिथ्यमा कुनै कमी हुन दिएनन् । तातो कफी र बेकरीले गेन्टिङ हाइल्यान्डको चिसोलाई समेत भुलाइदियो ।

इसारैइसारामा घुमफिर

छिमेकीको विकास–चर्चा जति सुनिएको थियो, त्यसभन्दा बढी नै महसुस गर्न पाएँ, चीनको ऐतिहासिक सहर सांघाई पुगेर । व्यवस्थित र चौडा सडक, सडकका दुई छेउ र बीचमा समेत राखिएका रंगीबिरंगी फूल बगैँचाले सबैलाई मोहित पार्दो रहेछ । प्राकृतिक सौन्दर्यले भौतिक विकासलाई झनै आकर्षक बनाएको थियो, सांघाई सहरलाई । कहाँ काठमाडौँको धूलोधूवाँ र अँध्यारा, साँघुरा सडकको बानी परेका हामीलाई सांघाईका चौडा बाटा, सुन्दर र सफा सडकले नलोभ्याओस् पनि कसरी ? त्यसमाथि समुद्रभित्रै पुगेजस्तो अनुभूति गराउने सांघाई ओसन अक्युरियममा देखिने दुर्लभ सामुद्रिक जलचरले मनै आनन्दित गराउँथ्यो ।

कहिले त लाग्थ्यो, हामी नै सिसाको अक्वारियममा थुनिएका छौँ र माछा, कछुवा, पेन्गुइन, गोही, अक्टोपसलगायतले नियालिरहेका छन् । समुद्रको छेउमा सांघाई ओसन अक्वारियम, बगँैचा, क्याफे र ठूलठूला गगनचुम्बी भवनले सायद सांघाईलाई विश्वमै सुन्दर सहरको रुपमा चिनाएको रहेछ भन्ने भान भयो । कहिल्यै नदेखेको त्यो विकास निर्माण र व्यवस्थित सहरको दृश्यले नेपाल कहिले यस्तो होला भन्ने कल्पना भइरहेको थियो ।

एक चिनियाँसँगै सांघाई सहर घुमिरहेका थियौँ । हामीमध्ये कसैलाई पनि चिनियाँ भाषाको ज्ञान थिएन । समस्या के भने ती चिनियाँ पनि अंग्रेजी भाषा बुझ्दै नबुझ्ने । ती चिनियाँले कतिपय ठाउँमा लगिरहँदा कहाँ जाँदैछौँ भन्नेसमेत हामीलाई थाहा हुँदैनथ्यो । तर, भाषा नबुझे पनि इसारा नै इसारामा सांघाईको सौन्दर्य हेर्न पाइयो ।

छाकको हजार

महँगो सहर सिंगापुरमा पुग्दा भोग्नुपर्ने भाषिक समस्या त्यतिबेला समाधान भयो, जब मध्य भागस्थित लिटिल इन्डिया भन्ने पुरानो बजार पुगियो । त्यहाँ भारतीय मात्र नभई थुप्रै नेपालीले समेत काम गरेको भेटियो । भाषागत सहजताका कारण आफ्नै थलोमा छु कि भन्ने भान भयो । एक साताको घुमघाम र खानाको समस्याले पिरोलिरहेका बेला लिटिल इन्डियामा नेपाली र भारतीय खानाका स्वाद लिन पाउँदा मनै आनन्दित भयो । ठाउँ लिटिल इन्डिया भने पनि महँगी भने सिंगापुरका अन्य सहरमा जस्तै थियो । एक छाक भारतीय खानाकै नेपाली ६ हजार रुपियाँसम्म तिर्नु सामान्य नै थियो ।

भारतीय मूलकाको बसोबास, संस्कृति अनि रहनसहनले भारतकै झल्को दिने । अग्ला–अग्ला घरको बीचका आकर्षक हिन्दु मन्दिर पनि रहेछन् । यहाँको आकर्षण भनेकै भारतीय मूलका नागरिकले सञ्चालन गरेको मुस्तफा सेन्टर हो । भारतीय बजारकै झल्को दिने सेन्टरमा नुनदेखि सुनसम्म पाइँदो रहेछ । र, २४ घन्टै खुला हुँदोरहेछ । अझ अचम्म त भारतीय चिकित्सकबाटै उपचार सेवा दिने क्लिनिकसमेत रहेछन् ।

प्रकाशित: असार २१, २०७५