स्मरण

[स्मरण] पिताजी डबल सुब्बा

- वैरागी काइँला, काठमाडौं

म जन्मेको पाँचथरको सुदूर पूर्वमा इलाम जिल्लासित सिमाना जोडिएको पौवा गाउँ हो । लिम्बू भाषामा पक्वा उच्चारण हुन्छ, जसको अर्थ हो ताल, पोखरी ।

उसबेलाको आजीविकाको स्रोत खेतीपाती थियो । एकाधले खेतीपाती सकेपछि बन्द–व्यापार पनि गर्दथे । उसबेलाको ठूलो व्यापार भनेको हिउँदमा ओलाङ्चुङगोलादेखि ल्याएका भोटेघोडाहरू झापाका विभिन्न हाटबजार र सीमापारि बिहारको खगडिया, धर्मगन्ज, कृष्णगन्जसम्म लगेर बेच्ने हो ।

अर्को ठूलो व्यापार भनेको आलु थियो । त्यसबेला भारत पस्ने नाका भनेकै इलामको गोर्खे, मानेभन्ज्याङ वा पशुपतिनगर थियो । त्यतैबाट सीमापारिको सुकियापोखरी पुग्नुपर्दथ्यो । आलु ढाकरमा भरियालाई बोकाएर सुकियापोखरीसम्म पुर्‍याई फेरि त्यहाँबाट मोटर गाडीमा सिलगढी पुर्‍याएर मात्र थकाइ मार्न पाइन्थ्यो । यसरी हाम्रो पौवा गाउँको आलु सुकेपोखरी हुँदै सिलगढीमा रेलमा चढाएर नक्सलबाडी, गलगलिया हुँदै पटनासम्म पुर्‍याइन्थ्यो ।

मलाई लाग्छ– मेरा पिताजीले इलाम अमिनीमा बिचारीको जागिर नखाएसम्म युवा उमेरमा आलुको व्यापार गर्नुहुन्थ्यो । र, पछि २००० सालतिर मधेसमा जग्गा किनेर खेतीपाती गर्न थालेपछि घोडाको सिजनल व्यापार थाल्नुभयो ।

देशदेशावरको घुमाइले मेरा पिताजीले बदलिँदो समयको माग र शिक्षाको महत्त्व बुझ्दै लानुभयो । उहाँले इलाम बजारको भ्रमणताका हुन सक्छ, तत्कालीन बडाहाकिम महावीरशमशेर जबराको दर्शन पाउँदा के चढाउनुभयो कुन्नि, एकैचोटि अमिनी (उतिबेलाको न्यायालय) मा बिचारी जागिर पाउनुभएछ । अमिनीका बिचारीले अदालती प्रयोजनका लागि लेखपढ जानेकै हुनुपर्ने तर उहाँ सामान्य कखरा मात्र जानेको ।

उसबेला कुर्सी र टेबल हुँदैनथे । नेपाली (पहाडे) कागजको ताउ घुँडामाथि राखेर मालिंगो वा बाँसको कलमले मसिदानीमा मसी चोप्दै फिरादपत्र, बिन्तीपत्र, अर्जी, म्याद, सरजिमिन मुचुल्कादेखि मिलापत्रसम्म लेख्नुपथ्र्यो । त्यतिखेर इलाम बजारमा १०/१५ घर जति नै वैद्य, शाक्य, श्रेष्ठ, राजलवट र कर्माचार्य थरका शिक्षित नेवार परिवार थिए । तिनैमध्येका श्रेष्ठ थरका एक व्यक्तिसँग उहाँले लेखापढी सिक्नुभयो ।

सिकारको सोखिन हुनाले उहाँ लाहुरेबाट किसिम–किसिमका बन्दुक किनेर राख्नुहुन्थ्यो । उहाँले ००७ को सशस्त्र जनक्रान्तिमा मुक्तिसेनालाई ती सबै हातहतियार दिनुभएछ । ००७ को कांग्रेसले गरेको जनक्रान्ति सफल भएपछि ००८ तिर गृहमन्त्री बीपी कोइराला इलाम भ्रमणमा आउँदा उहाँको धन्यवादपत्रसहित ती हतियार मेरा पिताजीलाई फिर्ता दिइएको थियो ।

मेरा पिताजी किपटिया (अमाली) सुब्बा त हुनुहुन्थ्यो नै, अब अमिनीको पनि सुब्बा भएपछि त सबैले दुई–दुई सुब्बा एकैचोटि भएकामा उहाँलाई डबल सुब्बा भन्न थाले । त्यसपछि पूर्वाञ्चलभरि डबल सुब्बा भनेर विख्यात हुनुभयो । आज पनि पुराना इस्टमित्र, साथीभाइका सन्तान तथा त्यस क्षेत्रका मानिसले हामीलाई डबल सुब्बाको छोरा भनेपछि मात्र राम्ररी चिन्छन् ।

मेरा पिताजी इलाम अमिनीमा सुब्बा भएपछि खरिदार पदमा रामबहादुर नेम्बाङ (सुवासचन्द्र नेम्बाङका पिता र पूर्वन्यायाधीश), राइटरमा बमबहादुर सम्बाहाम्फे (पूर्वराजसभा स्थायी समिति सदस्य), डिगबहादुर लिम्बू (तुम्बापो, पछि बिचारी) र चन्द्रबहादुर लिम्बू (सेर्मा) बैदारमा नियुक्त गरिएका थिए ।

००९ को दसैँताका मेरो पिताजीले झापाबाट इलाम आउँदा एउटा बडेमाको रेडियो ल्याउनुभयो । मैले पहिलो पटक रेडियो देखेको त्यही बेला हो । मजा त के थियो भने रेडियोभन्दा ठूलो ब्याट्री थियो । जेठामामा पदमबहादुर देवान (पूर्वराजसभा स्थायी समिति सदस्य) को घरको सिकुवाको भित्तामा झुन्ड्याएर बजाउँदा सबैले सुन्थे । रेडियो नेपाल भर्खर खुलेको थियो, रेडियोको मिटर घुमाउँदा–घुमाउदा बल्लबल्ल टिप्थ्यो । एक दिन बल्लबल्ल स्टेसन टिपेपछि रेडियोबाट नेपाली गीत बज्यो । अहिले त्यो कुन गीत थियो म भन्न सक्तिनँ तर गायिका थिइन् कोइलीदेवी । त्यसपछि त अहिलेको भाषामा भन्दा कोइलीदेवी इलाम बजारमा ‘भाइरल’ नै भइन् ।

२००० तिरै होला, मेरा पिताजीले मधेसबाट पहाडको पौवाको घर आउँदा ठूलो फोनोग्राम ल्याउनुभएको थियो । उघार्दा ठूलो कुकुरको तस्बिर देखिन्थ्यो । हिज मास्टर्स भ्वाइस कम्पनीका रिकर्डहरू पनि तीन–चारवटा थिए । हामी सिकुवामा राखेर चाबीले घुमाउँदै दम दिएर ती रेकर्ड बजाइरहन्थ्यौँ । एउटा गीत पछिसम्म पनि पिताजी अरूले सुन्ने गरेरै गुनगुनाउनुहुन्थ्यो, ‘चल चल रे नौ जवान’ ।

इलाम अमिनीमा बिचारीको पदमा नियुक्त भएपछि बाध्यताले लेखापढी सिक्नुपर्दा उहाँलाई साक्षरता र शिक्षाको महत्त्वबोध भएछ । पछि पौवासँगै जोडिएको अर्को हाम्रो गाउँ– सारतापमा मिडिल स्कुल खोल्न पहल गर्नुभयो, खोलियो पनि । शिक्षाको महत्त्वबोध भएरै आफ्ना छोराहरूलाई शिक्षा आर्जनका लागि इलामदेखि काठमाडौँसम्म पठाउनुभयो ००५ अघिदेखि नै ।

प्र स्तुति : रमण घिमिरे

प्रकाशित: असार २१, २०७५