अचानक

‘कत्थक नाच्ने पुरुष भेटिनँ’

- मनबहादुर बस्नेत, काठमाडौं
नवोदित कत्थक नृत्यांगना हुन्, नम्रता केसी । भारतको लखनउ विश्वविद्यालयबाट कत्थक नाचमै स्नातकोत्तर गरेकी उनी यही शैलीबाट नाटिका खेल्छिन्, निर्देशन गर्छिन् । अहिले उनको निर्देशनमा ‘महारानी राजेन्द्रलक्ष्मी’को जीवनीमा आधारित नृत्यनाटिका राजेन्द्रलक्ष्मी कत्थक शैलीमा मञ्चन भइरहेको छ । यसै सन्दर्भमा केसीसँगको कुराकानी :

राजेन्द्रलक्ष्मीलाई किन कत्थक नृत्यको स्वरूपमै देखाउनुपरेको हो ?

यसको एक मात्र कारण मेरो पढाइ कत्थकमै हुनु हो । आफूलाई ज्ञान भएको विषयमा काम गर्न सजिलो हुन्छ भनेरै यो शैली लिएकी हुँ ।

यो राजेन्द्रलक्ष्मी शाहकै आधिकारिक इतिहास हो कि उनीप्रति तपाईंको बुझाइ ?

उनीबारे आधिकारिक कुरा त पाउनै मुस्किल रहेछ । जन्ममिति पनि ठ्याक्कै पाइएन । तैपनि, इतिहासको महत्त्वपूर्ण पात्र हुन् भन्ने लागेकाले यसका केही पक्ष काल्पनिक ढाँचामा ढालेर प्रस्तुत गरिएको छ । ५० प्रतिशतचाहिँ उनको इतिहास मान्न सकिन्छ ।

उनी के कति महत्त्वपूर्ण पात्र हुन् त ?

उनी नेपालको इतिहासमा एक मात्र महिला शासक हुन् । २/३ सय वर्षअघिको पुरुषप्रधान समाजमा उनी सती गइनन् । बरु राजकाज सम्हालिन् । त्यो साहस अहिलेका महिलाका लागि ठूलो प्रेरणा हो । म त उनलाई आफूसँग जोडेर हेर्छु । 

त्यति पुरानो पात्रलाई सम्झिनुको खास कारण ?

४/५ कक्षा पढ्दा उनको जीवनी पढ्नुपथ्र्यो, डेढ पन्नाको । त्यही बेलादेखि मैले उनलाई बिर्सेकी थिइनँ । पछि म पढ्न भारत गएँ । त्यहाँ मैले के ज्ञान पाएँ भने यस्ता ऐतिहासिक पात्रलाई राम्ररी चित्रण गरेर कत्थक नाटिका प्रदर्शन गर्न सकिन्छ । अनि, लाग्यो पहिलेदेखि सोचिरहेको पात्रमा किन काम नगर्ने ?

नाटकका दर्शक यसै पनि सानो संख्यामा हुन्छन् । यसखाले नाटकको पनि त्यस्तै हो ?

हाम्रोमा यस्ता नाटिकाको अभ्यास एकदमै कम छ । नाच्दै–गाउँदै कथा भन्ने यो शैली लगभग लोप हुन लागिसक्यो । त्यसैले यो शैली आफैँमा अनौठो पनि लाग्न सक्छ । तर, सँगसँगै यसले हाम्रो प्राचीन संस्कृतिलाई पनि पुनर्ताजगी गर्छ । त्यसैले अहिलेका दर्शकले यसलाई मन पराउँछन् भन्ने विश्वास छ ।

यही शैलीका अघिल्ला नाटकको अनुभव कस्तो थियो ?

यसअघि मैले दुइटा यस्ता नाटिकामा काम गरेँ । त्यसमा दर्शकको ठूलो जमघट त भएन । तर, जतिले हेरे, सबैले राम्रो रेस्पोन्स गरे । त्यतिबेला ममा पनि कमजोरी थिए । अनुभव थिएन । यसपालिचाहिँ राम्रो हुने अपेक्षा छ ।

नाटकका लागि ऐतिहासिक पात्र खोज्न कति समय लाग्यो ?

योचाहिँ एकदमै चुनौती हुँदो रहेछ । यसमा अभिनय जानेर मात्रै भएन, कत्थक जानेको हुनुपर्‍यो । कथामा पुरुष पात्रको भूमिका पनि आउँछ । त्यही भएर मैले कत्थक नृत्य जान्ने पुरुष लामै समय खोजेँ । तर, यस्ता पुरुष रहेनछन् । केही सीप नलागेपछि केटीले नै केटाको भूमिका गरियो । यसमा १० जना केटी मात्रै छन् । पहिले केटाले केटीको भूमिका गर्थे, अहिले केटीले केटाको गर्नुपर्‍यो ।

कत्थक कस्तो खाले नृत्य हो ?

यो खासमा नेपाली मौलिक होइन । इन्डियन क्लासिक नाच हो । कथा भन्ने तरिका, मानिस वा उसले भन्ने चीज नै कत्थक नृत्य हो । नृत्यमा कथा हुन्छ ।

नृत्य नाटिका किन कम हुन्छ ?

म पद्मकन्या कलेजमा पढ्दा शिक्षकहरूले पहिले–पहिले कत्थक नृत्य हुने गरेको सुनाउँथे । उनीहरू ६०/६५ वर्षका थिए होलान् । उनीहरूको भनाइबाट यो नृत्य कुनै बेला हाम्रा चोक–चोकमा थियो भन्ने बुझिन्छ । नाच नै नरहेपछि नाटक स्वत: कम भयो ।

नाटकको सन्देश के हो ?

यसमा ठोस सन्देश भेटिँदैन । विविध कुरा छिरेको छ । नाटिका हेरेर दर्शकले जे बुझ्छन्, त्यही हो सन्देश ।

 

प्रकाशित: असार २१, २०७५