विचार

को नेपाली ?

- सुरेन्द्र लाभ, काठमाडौं

‘नेपालीले पहिलोपल्ट रेल चढ्ने भए’ यो शीर्षक थियो एउटा समाचारको । सन्दर्भ थियो, प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको समझदारीको । समाचारको शीर्षक पढ्नेबित्तिकै जनकपुरका एक नागरिकले प्रश्न गरिहाले– ‘के जनकपुर–जयनगर रेलमा चढ्ने ‘नेपाली’ हुँदैनन् ?’

समाचारको ‘नेपाली’ शब्दले ती व्यक्तिको ध्यानाकर्षित गरेको देखिन्छ । सिद्धान्तत: नेपालमा बस्ने सबै नेपाली हुन् भन्ने तथ्य उल्लेख पनि गरिराख्नुपर्ने विषय होइन । स्वत:सिद्ध कुरोलाई प्रमाण पनि किन चाहियो ? तर, प्रश्न मानसिकताको हो । वर्षौंदेखिको अभ्यासको हो । पहाडी र हिमाली क्षेत्रका सम्पूर्ण जनताले आफूलाई ‘नेपाली’ शब्दबाट आभूषित गरे । नेपाली आवरणमा सबै अटाए । र, ‘हामी नेपाली’ सगर्व भन्न थाले । यही देशको कुनै भेगका नागरिक ‘नेपाली’ शब्दभित्र नअटाएको भन्ने कुराको अनुभूति भएन अथवा होस भएन । शासक पनि यसै वर्गबाट सधैँ हुने हुँदा नेपाली शब्दले झन् वजन पायो । हामी मात्र नेपाली, बाँकी अनेपाली, हाल प्रवेशी, द्वितीय दर्जाको नागरिक आदि मनोविज्ञानको पनि विकास भयो । यसले अहंकार पनि जन्मायो, एउटा वर्गमा ।

‘नेपाली’ शब्दभित्र नअटाएकाहरू भए– मधेसी । विडम्बना यता पनि देखियो । मधेसीले पनि पहाडी वर्गलाई ‘नेपाली’ भनेर सम्बोधन गर्न थाले । आज पनि कुनै आममधेसीका लागि पहाडी वर्ग ‘नेपाली’ नै हो । यो एउटा शब्दले समाजमा अन्तत: कति द्वन्द्व जन्मायो भन्ने कुरा छर्लंग छ । आन्दोलनको शृंखला नै सिर्जित भयो ।

ठीक यस्तै स्थिति मधेसको मिथिला क्षेत्रमा देखियो । मिथिलामा बस्ने जति ‘मैथिल’ हुन् भन्ने कुरा पनि भनिराख्नुपर्दैन । तर, यहाँ भयो के ? मिथिलाका ब्राह्मण आफूलाई ‘मैथिल’ भन्न थाले । ब्राह्मणको पर्याय मैथिल र मैथिलको पर्याय यहाँका ब्राह्मण भए । बाँकी जात ‘मैथिल’ भित्र अटाएनन् । मिथिलामा ब्राह्मण शासक पनि भए । जात–विशेषका लागि यो शब्द झन् गौरवान्वित गर्ने खालको भयो । समाजको सर्वाधिक उपल्लो स्थानमा रहेका ब्राह्मण विद्वान्, ज्ञाता र पण्डित भए । ‘मैथिल’ शब्दबाट सुसज्जित यो वर्ग झन् अहंकारी भए । आफूहरूले बोल्ने मैथिली भाषाको शैली नै सर्वोत्कृष्ट । आफ्नो संस्कृति नै सबभन्दा राम्रो । र, आफ्नो पहिरन ‘पाग’ नै पहिचानका रूपमा स्थापित गरे । शेष नागरिकमा उकुसमुकुस बढ्यो । ‘मैथिल’ शब्दले समेट्न नसकेका जातहरू आक्रोशित भए । भाषा र भेषप्रति असन्तुष्टि जनाउन थाले । द्वन्द्व यहाँसम्म बढ्यो कि मैथिली भाषालाई नै धेरैले अस्वीकार गर्न थाले । जनगणनामा मैथिली भाषाको प्रतिशत घट्यो । भविष्यमा अझ घट्ने सम्भावना छ ।

भारतको बिहारमा पनि मिथिला छ । छुट्टै ‘ मिथिला राज्यको’ माग पनि छ । तर, नेतृत्वकर्ता पनि ब्राह्मण, मैथिलीका लेखक पनि ब्राह्मण, साहित्यकार पनि ब्राह्मण, आलोचक पनि ब्राह्मण, समालोचक पनि ब्राह्मण, इतिहासकार पनि ब्राह्मण, अभियानी पनि ब्राह्मण– सबै फाँटमा एउटै जातको प्रभुत्व भएपछि कसरी सफल होला त्यो माग ? यहाँ पनि ‘मिथिला राज्य’को माग छ । पाँच–पाँच जना सहिद पनि भए । दर्जनौँ घाइते भए । तर, मिथिला राज्यको मागमा सबैले अपनत्व ग्रहण गर्न सकिरहेका छैनन् । अर्कोतिर वास्तविकता के पनि छ भने रौतहटका मैथिली ब्राह्मणको भाषाभन्दा सप्तरीका कुनै अन्य जातले बोल्ने मैथिली मानक भाषाको धेरै नजिक छ । तर, पनि ‘मैथिल’ शब्दले द्वन्द्व सिर्जना गरेकै हो ।

‘नेपाली’ र ‘मैथिल’ शब्दको हविगत एउटै देखियो । कसले, किनजस्ता प्रश्न तेस्र्याउने प्रशस्तै ठाउँ छन् । तर, द्वन्द्व समाधानका लागि यस्ता प्रश्न खडा गर्नुभन्दा यी शब्दभित्र ‘सबै कसरी अटाउने’ भन्ने सोचको विकास गर्नु नै सरल उपाय हुन सक्छ । कुनै जात वा वर्ग–विशेषलाई दोषी बनाउनुको सट्टा आ–आफ्नो अधिकार र अपनत्व स्थापित गरेर अगाडि बढ्नु नै श्रेयस्कर हुँदैन र ? उता आफूलाई मात्र ‘नेपाली’ र ‘मैथिल’ भन्नेहरूले पनि आ–आफ्नो छाती फराकिलो पार्नैपर्छ– भाषणमा मात्र होइन, व्यवहारमा पनि ।

प्रकाशित: असार २०, २०७५