खेलकुद

विश्वकप २०१८ : बेल्जियमविरुद्ध जापान (म्याच प्रिभ्यु)

- पवन आचार्य, काठमाडौं

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले हरेक प्रशिक्षणअघि खेलाडीलाई उत्प्रेरक प्रसङ्गसहितको प्रवचन दिने गर्छन् । जापानविरुद्धको खेलअघि पनि रेड डेभिल्सका प्रशिक्षकले सोही क्रम दोहर्‍याए । किनभने उनलाई राम्ररी थाहा छ कि जापानलाई विश्वकपको प्रि–क्वार्टरफाइनलमा हराउनुको अर्थ कतिको महत्वपूर्ण छ भनेर । यस्तोमा रोमेलु लुकाकुको पुनरागमनले टोलीमा नयाँ उत्सहा सञ्चार पक्कै गराउने छ । कुर्कुच्चामा चोट बोकेका लुकालु आजको म्याचमा मैदान ओर्लने प्रशिक्षक मार्टिनेजले स्पष्ट गरेका छन् । त्यस्तै सेन्टरब्याकमा भिन्सेन्ट कोम्पनी वा थोमस भर्मालिनमध्ये एकले स्थान पक्का गर्ने सम्भावना छ । समूहगत चरणमा सबैभन्दा बढी गोल गर्ने श्रेय पाएको बेल्जियम त्यसैको निरन्तरताको खोजीमा छ । बेल्जियमको गोल भिन्नता ७ थियो ।

बेल्जियमविरुद्धको खेलमा ब्लु सामुराईका कप्तान माकोटो हेस्बीले मिडफिल्ड सम्हाल्नेछन् । विङ्गर ताकासी इनुइ र सेन्टर फर्वाड युया ओशाकोलाई पनि आज प्रशिक्षक आकिरा निसिनोले मैदान ओराल्ने सम्भावना अधिक छ । तर, चोटग्रस्त सिन्जी ओकाजाकी आज खेल्नेमा शंका छ ।

जापान र बेल्जियमबीचको भेट अपेक्षित थिएन । समूहगत चरणमा इङल्याण्डले बेल्जियमलाई नतिजा सुम्पिनु र जापानले पोल्याण्डविरुद्धको खेल गुमाएपनि कम पहेंलो कार्ड खाएर प्रि–क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । विश्वकपको इतिहासमै फेयर प्ले का कारण अघिल्लो चरणमा स्थान बनाउने राष्ट्रमा जापान दर्ज भएको छ । जापान सन् २००२ र २०१० पछि तेस्रोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो ।

बेल्जियम प्रशिक्षक मार्टिनेज टोली लामो समयसम्म अपराजित रहनेमा विश्वस्त छन् । खेलाडीहरुबीच रहेको सामूहिक भावना उनको विश्वासको आधार हो ।

त्यस्तै जापानी प्रशिक्षक निसिनो पोल्याण्डविरुद्धको रक्षात्मक खेल शैलीका कारण आफूहरु अघिल्लो चरणमा पुगेको बताउँछन् । खेलको अवस्था हेरेर रणनीति बनाउन माहिर उनी बेल्जियमलाई रोक्न रक्षात्मक फुटबल र काउन्टर एट्याकलाई हतियार बनाउने पक्षमा छन् ।

हेड टु हेड

–जापानसँग भएको ५ भेटमा बेल्जियमले १ मात्र खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ । २ खेल जापानले जित्दा २ बराबरीमा सकिएको थियो । बेल्जियमले नतिजा आफ्नो पक्षमा पारेको भनेकै सन् २०१७ को नोभेम्बरमा हो । त्यतिबेला रोमेलु लुकाकुको गोलको मद्दतमा बेल्जियम विजयी भएको थियो ।
–विश्वकपमा यी दुई टोलीबीच सन् २००२ को समूहगत चरणमा भिडन्त भएको थियो । सो खेल २–२ को बराबरीमा सकिएको थियो ।
–बेल्जियम र जापान दुबैले विश्वकपमा पेनाल्टी शुट आउटको सामना गरिसकेका छन् र सन् २०१० मा जापानले पाराग्वेलाई नतिजा सुम्पिएको थियो । बेल्जियमले सन् १९८६ को क्वार्टरफाइनलमा स्पेनलाई हराएको थियो ।

बेल्जियम

–पछिल्ला ७ विश्वकप सहभागितामा बेल्जियमले खेल्न लागेको यो छैटांै प्रि–क्वार्टरफाइनल हो । सन् १९९८ मा भने बेल्जियम समूहगत चरणबाटै बाहिरिएको थियो । बेल्जियम तेस्रोपटक विश्वकपको अन्तिम ८ मा प्रवेश गर्न चाहन्छ । यसअघि १९८६ र २०१४ मा रेड डेभिल्स प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।
–बेल्जियमले समूहगत चरणमा जम्मा ९ गोल गरेको थियो । त्यस्तै टोलीले मात्रै २ गोल खाएको छ । समूहगत चरणमा कुनै पनि टोलीले गरेको गोलभन्दा यो अधिक हो ।
–बेल्जियम समूहगत चरणका सबै तीन खेलमा जित निकाल्ने तेस्रो टोली हो । उरुग्वे र क्रोएशियाले पनि समूहगत चरणका सबै खेल जितेका थिए ।

जापान

–जापान विश्वकपको नकआउट चरणमा पहिलो जितको खोजीमा छ । सन् २००२ र २०१० मा नकआउट चरणमा पुग्नका बाबजुद जापान अघि बढ्न सकेन ।
–सन् १९९८ मा विश्वकपमा डेब्यु गरेयता जापान ३ पटक समूहगत चरणबाट र २ पटक नकआउट चरणबाटै बाहिरिएको थियो । जापान १९९८, २००६ र २०१४ मा समूहगत चरणबाटै बाहिरिएको थियो । 
–विश्वकपको नकआउट चरणमा जापानले खेलेको २ खेलमा मात्रै १ गोल गरेको छ । सन् २००२ टर्कीविरुद्ध जापानले गोल गरेयता उसले नकआउट चरणमा गोलको खाता खोलेको छैन । अर्को खेल सन् २०१० मा पाराग्वेविरुद्ध खेलेको जापानले नतिजा पेनाल्टी शुटआउटमा ५–३ ले सुम्पिएको थियो ।
–युरोपेली प्रतिद्वन्द्वीविरुद्ध विश्वकपमा जापानको प्रदर्शन त्यति राम्रो छैन । युरोपेली राष्ट्रविरुद्ध खेलेका ९ खेलमा जापानले मात्र २ खेलमा जित हात पारेको छ ।

फुटबल पण्डितहरु एशियाली मुलुक जापानले विश्वकप जित्ने सम्भावना १ प्रतिशत रहेको देख्छन् । समूहगत चरणमा बेल्जियमले विश्वकप उचाल्ने सम्भावना अधिक देखेका यिनै पण्डितहरु इङल्याण्डविरुद्धको खेल जितेपछि सो सम्भावना घटेको तर्क गर्न थालेका छन् ।

यी दुईबीचको खेल राति पौने १२ बजे रोस्तोभ एरिनामा शुरु हुनेछ

प्रकाशित: असार १८, २०७५