खेलकुद

एसिया र अफ्रिका किन जित्दैनन् विश्वकप ?

- पवन आचार्य, काठमाडौं

सन् १९९० मा इटालीमा सम्पन्न विश्वकप फुटबलमा रोजर मिल्लाको टिम क्यामरुनले सनसनी मच्चायो । अर्जेन्टिनालाई हराएर नाइजेरिया त्यतिबेला महाकुम्भको क्वार्टरफाइनलमा मात्रै पुगेन, १९९४ देखि विश्वकपमा अफ्रिकी महादेशबाट ३ राष्ट्रले सहभागिता जनाउने पक्का गरिदियो । यो संख्या फ्रान्स विश्वकपमा आएर ५ मा पुग्यो । त्यसयता दक्षिण अफ्रिकामा भएको विश्वकपमा ६ वटा बाहेक अन्य सबैमा अफ्रिकाबाट ५ राष्ट्रले विश्वकप खेल्ने गरेका छन् ।

सन् २००२ मा जापान र कोरियामा भएको विश्वकपमा सेनेगल सरप्राइज प्याकेजका रूपमा देखापर्‍यो । डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पहिलो चरणबाटै घर फिर्ता पठाएको सेनेगल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको थियो । सन् २०१० मा घानाले पनि त्यस्तै अप्रत्यासित नतिजा निकाल्यो । विश्वकपको इतिहासमै पहिलोपटक सेमिफाइनल पुग्ने टोली बन्ने अवसरको नजिक पुगेको थियो । तर, अन्तिम समयमा पाएको पेनाल्टी मिस गरेपछि सेनेगल पनि क्वार्टरफाइनलभन्दा माथि जान सकेन । उरुग्वेविरुद्धको खेलमा लुइस स्वारेजले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा घाना गोल गर्नबाट चुक्यो । सँगै अफ्रिकी मुलुकबाट विश्वकपको सेमिफाइनल यात्रा गर्ने टोली बन्ने सपना ।

२०१८ को विश्वकपमा इजिप्टलाई धेरैले डार्क हर्स मानेका थिए । महम्मद सलाह प्रेरित इजिप्टले अफ्रिकी मुलुकको नाक जोगाउने अपेक्षा अन्य महादेशका फुटबल समर्थकको पनि थियो । तर, इजिप्ट अंकविहीन हुँदै रुसबाट घर फर्किने पहिलो टोली बन्न पुग्यो । च्याम्पियन्स लिगको फाइनलमा काँधमा चोट बोकेका सलाह पहिले खेलमा बेञ्चमा बसेपछि इजिप्टको दुर्दशा सुरु भएको थियो । समूहका बाँकी २ खेलमा उनी मैदानमा त ओर्लिए । तर, छनोट चरणमा जस्तो जादू देखाउन असफल भए ।

विश्वकपमा अहिलेसम्म १३ वटा अफ्रिकी मुलुकको मात्रै सहभागिता छ । क्यामरुनले सर्वाधिक ७ पटक विश्वकपमा सहभागिता जनाउँदा नाइजेरियाले ६ र मोरक्को तथा ट्युनिसियाले ५–५ पटकको विश्वकप अनुभव बटुलेका छन् । तर, यीमध्ये कुनै पनि टोली विश्वकपको सेमिफाइनल पुग्न सकेका छैनन् । रुस विश्वकपमा कुनै पनि अफ्रिकी मुलुकले दोस्रो चरणमा स्थान पक्का गर्न सकेनन् । कुनै समय डार्क हर्सका रूपमा हेरिएको अफ्रिकी मुलुकको प्रदर्शन पछिल्ला दिनमा निरन्तर खस्कँदो छ ।

फुटबल लिजेन्ड पेलेले २०औँ शताब्दीको अन्त्यसम्म अफ्रिकी मुलुकले विश्वकप उचाल्ने भविष्यवाणी गरेका थिए । तर, कुनै पनि अफ्रिकी मुलुक त्यसको नजिकसम्म पुग्न सकेका छैनन् । गत संस्करणको विश्वकपमा पनि अल्जेरिया, क्यामरुन, घाना, आइभरी कोस्ट र नाइजेरियाले आशालाग्दो प्रदर्शन गरेनन् ।

आखिर किन राम्रो हुँदैन त अफ्रिकी मुलुकको प्रदर्शन विश्वकपमा ? अफ्रिकी मुलुकले विश्वकपका लागि पाएको सहभागिता संख्या नै न्यून छ । महादेशका रूपमा अफ्रिकामा ५४ वटा राष्ट्र छन् । जबकि, विश्वकपमा उनीहरूको सहभागिता ५ मा मात्र सीमित छ । युरोपेली मुलुकबाट १३ राष्ट्रले विश्वकप खेल्छन् । सहभागिताकै हिसाबले पनि युरोपभन्दा अफ्रिका निकै पछाडि छ । १९९४ अघि त स्थिति थप दयनीय थियो, त्यतिबेला मात्रै २ अफ्रिकी राष्ट्र विश्वकपका लागि छनोट हुन्थे । १९३० मा विश्वकप सुरु भए पनि १९३४ मा पहिलोपटक सहभागी भएका अफ्रिकी राष्ट्र त्यसपछि १९७० मा मात्रै विश्वकप प्रवेश गरेका थिए ।

आइभरी कोस्टका स्ट्राइकर याया टोरे दक्षिण अमेरिकी र युरोपेली खेलाडीको तुलनामा अफ्रिकी खेलाडीको प्रतिभालाई कदर नगरिएको बताउँछन् । केही समयपहिले उनले भनेका थिए, ‘लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, लुइस स्वारेजजस्ता खेलाडीले पनि आफ्नो मुलुकका लागि ठूला प्रतियोगिताको उपाधि दिलाउन सकेका छैनन् । तर, आलोचना उनीहरूको भन्दा हाम्रो बढी हुन्छ ।’ क्यामरुनी स्ट्राइकर स्यामुयल इटो अफ्रिकी राष्ट्रका फुटबल संघहरूले खेलाडीको सम्मान गर्न नजानेको बताउँछन् । उनी भन्छन्, ‘खेलाडीको सम्मान भएन भने प्रदर्शन राम्रो हुन सक्दैन ।’

अफ्रिकी खेलाडी स्वयंलाई पनि आफ्नो भूमिमा भन्दा पनि युरोपेली क्लबहरूमा आबद्ध हुने रहर ज्यादा छ । त्यसैले अफ्रिकी मुलुकमा शक्तिशाली लिग फुटबल छैन । युवा फुटबलर आकर्षित गर्न एकेडेमीहरू त स्थापित भएका छन् । तर, एकेडेमीका खेलाडीको बजार पनि युरोप र अमेरिका नै हो ।

अझ क्षेत्रीयताको मुद्दा युरोपेलीभन्दा अफ्रिकीमा कमै पाइन्छ । विश्वकप फुटबलमा युरोपेली टोलीले प्रदर्शन गर्ने सामूहिक भावना र आफ्नो महादेशप्रतिको अपनत्व पनि अफ्रिकीमा कमै देख्न पाइन्छ । यदि यस्तो हुन सके महान् फुटबलर पेलेको भनाइ सत्य साबित हुन सक्छ । अन्यथा यो शताब्दीको अन्त्यसम्म अफ्रिकी मुलुकले विश्वकप उचालेको हेर्न मुस्किल नै पर्नेछ ।

दक्षिण अफ्रिकी पत्रकार एवं इतिहासविद् मार्क ग्लिसनका अनुसार अफ्रिकी महादेशमा केही राष्ट्रलाई छाडेर अधिकांशको घरेलु लिग बलियो छैन । अझ खेलाडीले आरामको जिन्दगी जिउन पनि सकेका छैनन् । त्यसको प्रभाव विश्वकपजस्तो ठूला खेलमा पर्न थालेको छ । यति हुँदाहुँदै पनि विश्वकपमा अफ्रिकी राष्ट्रको सहभागिता बढ्दो छ । ३२ राष्ट्रको सहभागिता हुँदा ५ मा सीमित भएको अफ्रिकी प्रतिनिधित्व सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने २३औँ संस्करणको विश्वकपमा सहभागी राष्ट्रको संख्या ४८ पुग्ला । अफ्रिकाबाट ९ राष्ट्र विश्वकपका लागि छनोट हुनेछन् ।

भिन्नता

अफ्रिका कप अफ नेसन्सको गत वर्षको विजेता क्यामरुनले ३४ लाख युरो हात पार्‍यो । जबकि, सन् २०१६ मा आयोजना भएको युरो कपको विजेता पोर्चुगलले २ करोड ५५ लाख युरो जित्यो । अफ्रिकी र युरोपेली राष्ट्रबीच मात्रै होइन, क्लबहरूबीचको अन्तर पनि ठूलै छ । अफ्रिकन च्याम्पियन्स लिग विजेताले २१ लाख युरो प्राप्त गर्दा युरोपेली च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले ८ करोड ९५ लाख युरो पायो । जबकि, यो रकम स्पेनिस क्लबको आम्दानीको मात्रै १५ प्रतिशत हो ।

गत संस्करणको विश्वकपमा सहभागिता जनाएको अल्जेरियाका २३ मध्ये १६ खेलाडी फ्रान्समा जन्मिएका थिए । मोरक्को यसपालि रुसमै जन्मिएका ६ खेलाडीसहित मस्को पुगेको थियो । अफ्रिकी वर्ष खेलाडी घोषित पछिल्ला ३ खेलाडीमध्ये २ जना युरोपमा जन्मिएका थिए । यसले पनि अफ्रिकी खेलाडीमा युरोपेली प्रभावको झल्को दिन्छ ।

अफ्रिकी मुलुकमै प्रशिक्षण गर्ने खेलाडी युरोपका अन्य क्लबका खेलाडीसँग प्रतिस्पर्धामा खरो उत्रन नसक्ने भएकाले पनि उनीहरू युरोपेली क्लबमा आबद्ध हुन लालायित रहन्छन् । युरोपमा फुटबल व्यवसाय बनिसकेको अवस्था छ भने अफ्रिकी महादेशमा अझै पनि यो विशुद्ध खेलकर्मकै रूपमा हेरिएको छ, जसले सफलतालाई अझ टाढा धकेल्दै छ ।

एसियाको नियति

जनसंख्याको तुलना गर्ने हो भने युरोपमा भन्दा एसियामा फुटबल खेल्नेको संख्या २ करोडभन्दा बढी छ । क्यारेबियन, मध्य, उत्तर र दक्षिण अमेरिका सबैलाई जोड्दा पनि एसियामा जति फुटबलर ती महादेश र क्षेत्रमा छैनन् । तर, अझै पनि एसियाली मुलुकले फुटबलको महाकुम्भमा आफूलाई अब्बल किन साबित गर्न सकिरहेका छैनन् त ?

क्षमता, प्रशिक्षण र मिहिनेतले मात्रै कुनै पनि टिमलाई च्याम्पियन बनाउँदैन । एसियाली राष्ट्रहरूले यो कुरा बुझ्न अझै सकिरहेका छैनन् । च्याम्पियन खेलाडी र टिम मैदानमा र प्रशिक्षणका दौरान जन्मिँदैनन् । ती त गौण कुरा हुन् । मुख्य कुरो, खेलाडीको पोषण र स्वस्थ जीवनशैली हो । एसियाली खेलाडी यही प्राथमिकतामा केन्द्रित भएकाले उनीहरू च्याम्पियन बन्ने कुराको बाधक भएको निष्कर्ष वान गोल प्रोजेक्टले एक वर्षअघि निकालेको थियो । जीवनको सुरुआती १ हजार दिनमा कुपोषणको सिकार भएका बालबालिका पछि स्वस्थ भए पनि बाल्यावस्थामा कुपोषण नलागेकासँग प्रतिस्पर्धा गर्न नसक्ने जिकिर सो प्रोजेक्टले गरेको थियो ।

एसियाका २० करोड बालबालिकामा यो समस्या रहेको र यो संसारकै उच्च रहेको वान गोल प्रोजेक्टको प्रतिवेदनमा उल्लेख छ । प्रोजेक्टका कार्यकारी निर्देशक स्टेफन जर्मेन भन्छन्, “बाल्यावस्थामा पोषणको मात्रा कमी भएको र पछि अस्वस्थ जीवनशैली अपनाउने भएकाले एसियाली किशोर अन्तर्राष्ट्रिय स्तरका फुटबलरसँगको प्रतिस्पर्धामा खरो उत्रन नसकेका हुन् ।”

एसियाको गरिब समुदायमा जन्मिएका बालबालिकाले उत्तर अमेरिका र युरोपेली देशको जस्तो सुविधा उपभोग गर्दै आफ्नो खेलकौशल तिखार्ने अवसर बिरलै पाउँछन् । त्यसैले एसियालीको खानपिनको बानी र स्वस्थ जीवनशैलीमा परिवर्तन ल्याउन पनि १० वर्षे रणनीति अनुसार वान गोल प्रोजेक्ट सञ्चालन गरिएको जर्मेन बताउँछन् । उनका अनुसार एसियाली भूमिमा आयोजना हुने सन् २०२२ को विश्वकपमा एसियाली राष्ट्र सेमिफाइनलसम्मको यात्रा तय गर्न सक्षम हुनेछन् ।

विश्व फुटबलको महाकुम्भमा अफ्रिकी राष्ट्रको तुलनामा एसियाली राष्ट्र केही सफल मान्न सकिन्छ । आफ्नै भूमिमा आयोजना भएको सन् २००२ को विश्वकपमा दक्षिण कोरियाले चौथो स्थान हासिल गरेको थियो । विश्वकपको छैटौँ सहभागितामा दक्षिण कोरियाले उक्त सफलता हात पारेको हो । १९६६ मा उत्तर कोरिया त्यतिबेलाको क्वार्टरफाइनल अर्थात् दोस्रो चरणसम्म पुगेको थियो । साउदी अरब र अस्ट्रेलियाले एक–एकपटक र जापानले दुई पटक आफूलाई विश्वकपको दोस्रो चरणमा पुर्‍याउनबाहेक एसियाली राष्ट्रले अहिलेसम्म सफलताको अर्को स्वाद चाख्न सकेका छैनन् ।

रुस विश्वकपमा पनि एसियाली राष्ट्रबाट छनोट चरण पार गरेकामध्ये ४ टोली पहिलो चरणबाटै घर फर्किसकेका छन् । जापान मात्र दोस्रो चरण प्रवेश गर्‍यो । पोल्यान्डसँग १–० गोल अन्तरले पराजित भएर पनि जापान नकआउट चरणमा प्रवेश गर्‍यो । जापान र सेनेगलको ४/४ अंक थियो । तर, सेनेगलभन्दा दुईवटा पहेंलो कार्ड कम पाएका कारण जापानको भाग्य चम्कियो । जापानले १८ असार राति ११:४५ मा हुने बेल्जियमविरुद्धको खेलमा कस्तो नतिजा ल्याउला ? के जापानले एसियाले पनि विश्वकप जित्न सक्छ भन्ने प्रमाणित गर्न सक्ला ?

प्रकाशित: असार १८, २०७५