खेलकुद

विश्वकप २०१८ : ब्राजिलविरुद्ध मेक्सिको (म्याच प्रिभ्यु)

- पवन आचार्य, काठमाडौं

एउटै शैलीको फुटबललाई पछ्याउने भएरमात्रै हैन ब्राजिल र मेक्सिकोको खेल्ने शैली पनि उस्तै छ । कदकाँटी र हाउभाउ पनि उस्तै छ यी दुई राष्ट्रका खेलाडीबीच । फरक चाहिं यिनीहरु दक्षिण र उत्तर अमेरिकालाई प्रतिनिधित्व गर्छन् ।

मेक्सिकोविरुद्ध समारा रंगशालामा साँझ पौने ८ बजे मैदान ओर्लंदा ब्राजिल फिलिप लुइसको आगमनमा हौसिने छ । किनभने सर्वियाविरुद्धको खेलमा ढाडमा चोट बोकेका मार्सेलोलाई यिनैले बिस्थापित गरेका थिए । मार्सेलो हिजोको प्रशिक्षणमा टिमसँग रहेपनि मैदानमा ओर्लने सम्भावना न्यून छ । त्यस्तै राइट ब्याक ड्यानिलो पनि चोटमुक्त भएका छन् । तर, उनलाई फेन्जरले बिस्थापित गर्ने सम्भावना प्रबल छ ।

उता मेक्सिको भने सेन्टरब्याक हेक्टर मोरेनोबिना मैदान ओर्लने छ । दुईवटा पहेंलो कार्ड पाएकाले उनल आजको खेल गुमाउने छन् । उनको स्थानमा ह्युगो आएलालाई मैदान उतार्ने योजना मेक्सिकोको छ । समूहगत चरणमा जर्मनीविरुद्ध उत्रिएका आएला त्यसयता बेचमै सीमित छन् ।

रुस विश्वकपमा अहिलेसम्म ११ यस्ता भिडन्त भइसकेका छन्, जहाँ प्रतिद्वन्द्वीहरु एकदमै नौला थिए । तर, ब्राजिल र मेक्सिको एकअर्काका लागि नौला हैन निकै पुराना प्रतिद्वन्द्वी हुन् । विश्वकपको अन्तिम १६ को आजको भिडन्तसहित यी दुई टोलीबीच ४१ पटक भेट भइसकेको छ । जसमा ब्राजिले २३ जित र मेक्सिकोले १० जित हात पारेको छ । विश्वकपको हकमा भएको ४ भेटमा मेक्सिकोले ब्राजिलविरुद्ध गोल गर्न सकेको छैन । त्यसैले इतिहासलाई सच्याउने अवसर मेक्सिको सामू छ । यदि आज पराजित भए ऊ लगातार ७ पटक विश्वकपको अन्तिम १६ बाटै घर फर्किने टोली हुनेछ ।

हेड टु हेड

–विश्वकपका यसअघिका ४ भिडन्तमा ब्राजिलले मेक्सिकोलाई ३ पटक पराजित गरेको छ । एक खेल बराबरीमा सकिएको थियो । मेक्सिको्विरुद्ध ब्राजिलले विश्वकपका क्लिन सिट कायम गरेको छ ।
–सन् २०१४ मा भएको पछिल्लो भिडन्तमा मेक्सिकोले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो । विश्वकपको सो भिडन्तपछि यी दुई टोली मात्रै एकपटक आमने सामने भएका छन् । साउ पाउलोमा सन् २०१५ को जुनमा भएको खेलमा ब्राजिल २–० ले विजयी भएको थियो । सो खेलमा फिलिप काउटिन्हो र डियगो टारडेलीले गोल गरेका थिए ।

ब्राजिल

–सर्वाधिक ५ पटकको विश्वकप विजेता ब्राजिलले महाकुम्भमा मध्य र उत्तर अमेरिकी टोलीसँग एउटै हार बेहोरेको छैन ।
–विश्वकपका ब्राजिलले बेहोरेको पछिल्ला ६ हार युरोपेली मुलुकसँगको भिडन्तमा मात्रै सम्भव भएको छ । युरोपभन्दा बाहिरको राष्ट्रसँग ब्राजिल पराजित भएको भनेको सन् १९९० को विश्वकपमा अर्जेन्टिनासँग हो । क्लाउडियो केनिजियाको गोलको मद्दतमा अर्जेन्टिनाले चिर प्रतिद्वन्द्वी ब्राजिललाई पराजित गरेको थियो ।
–अर्जेन्टिनासँग पराजित भएको सन् १९९० मा ब्राजिल पहिलोपटक क्वार्टरफाइनल पुग्नबाट बञ्चित भएको थियो ।
–ब्राजिलले खेलेका ८ मध्ये ७ खेलमा क्लिन सिट कायम गरेको छ ।

मेक्सिको

–मेक्सिकोले दक्षिण अमेरिकी प्रतिद्वन्द्वीलाई विश्वकपमा हराएको भनेको सन् २००२ मा हो । जापान र कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपको समूहगत चरणका मेक्सिकोले इक्वेडरमाथि २–० को जित दर्ता गरेको थियो ।
–आजको हारले मेक्सिको विश्वकपको अन्तिम १६ बाट ७ औं पटक घर फर्किने टोलीको रुपमा गणना हुनेछ ।
–मेक्सिको पछिल्लोपटक विश्वकपको क्वार्टरफाइनलमा सन् १९८६ मा पुगेको थियो । बुल्गेरियालाई २–० ले हराउँदै मेक्सिकोले प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाएको थियो ।
–मेक्सिकोले आज विश्वकपमा ५७ औं खेल खेल्दैछ । यो आँकडा विश्वकप नजित्ने कुनै पनि टोलीको भन्दा धेरै हो ।
हाभिएर हर्नान्डेजले यो विश्वकपमा २ सय ७० मिनेट खेल्दा मात्रै एक प्रहार गरेका छन् । जबकी उनको त्यही शट दक्षिण कोरियाविरुद्धको खेलमा गोलमा परिणत भएको थियो ।

समूह को बिजेता ब्राजिल एफ को उपविजेता मेक्सिकोबीचको खेल राति पौने बजे समारा रंगशालामा हुनेछ

प्रकाशित: असार १८, २०७५