खेलकुद

विश्वकप २०१८ : रुसविरुद्ध स्पेन (म्याच प्रिभ्यु)

- पवन आचार्य, काठमाडौं

विश्वकप फुटबलका खेलहरु रोमाञ्चक हुँदै जाने क्रममा नाम चलेका राष्ट्रहरुको बहिर्गमन पनि उत्तिकै सहज लाग्न थालेका छन् । यस्तोमा आयोजक रुससँग प्रि–क्वार्टरफाइनलमा भिड्दा स्पेनी टोली सामू जितबाहेकको अर्को विकल्प छैन । मस्कोको लुज्निकी रंगशालामा आमनेसामने हुँदा स्पेन गोलरक्षक डेभिड डि हेयाको पछिल्लो फर्मलाई लिएर चिन्तित छ । रुसविरुद्धको खेलमा डेभिड सिल्भालाई मार्को एसेन्सियोले बिस्थापित गर्ने सम्भावना पनि उत्तिकै छ । त्यस्तै एउटा पहेंलो कार्ड बोकीसकेका सर्गियो बस्क्वेटलाई आज विश्राम दिने पक्षमा स्पेन हुनेछ ।

त्यस्तै आयोजक रुस पनि इगोर स्मोलिन्कोभ बिना मैदान ओर्लने छ । उरुग्वेविरुद्धको खेलमा रातो कार्ड पाएका उनी एक म्याचको प्रतिबन्धमा छन् । त्यसैले राइट ब्याकमा मारियो फर्नाण्डेसको स्थान पक्काजस्तै छ । अलेक्जेण्डर गोलोभिन, फेडोर स्मोलोभ र युरी गाजिन्स्किी सबैले एउटा पहेंलो कार्ड पाइसकेकाले आगामी चरणमा उनीहरुलाई नगुमाउने पक्षमा रुस हुनेछ ।

सन् २०१६ को यूरोमा इटालीसँग पराजित भएयता अपराजित रहेको स्पेनलाई रोक्न रुस गृहमैदानको फाइदा उठाउने पक्षमा छ । विश्वकपअघि फिफा वरियतामा सबैभन्दा कम रहेको रुस १८ वटा मौकामा ८ गोल गरेको तथ्याङ्कीय फाइदामा छ । अझ लुज्निकी रंगशालामा ८० हजार दर्शकको साथ पाउँदा उ महारथी स्पेनलाई चित् खुवाउने मनशायमा हुनेछ ।

स्पेनका डिफेण्डर डानी कार्भाजाल नकआउट चरणको खेल गर या मरको हुने भएकाले विपक्षीलाई कुनै मौका नदिने बताउँछन् । त्यस्तै रुसी प्रशिक्षक स्ट्यानिस्लाभा चेर्चेसोभ पनि स्पेनविरुद्ध जित निकाल्न कठिन भएपनि हार नमान्ने सुनाउँछन् ।

हेड टु हेड

–सन् १९९१ मा सोभियत संघ टुक्रिएयता रुसले स्पेनलाई पराजित गर्न सकेको छैन । रुसले स्पेनलाई ५ खेल सुम्पिंदा २ बराबरी गरेको छ ।
–तर, पछिल्लो समय गत नोभेम्बरमा खेलिएको मैत्रीपूर्ण खेलमा रुसले स्पेनलाई ३–३ को बराबरीमा रोकेको स्मरण ताजै छ ।
–स्पेनले रुसविरुद्धका पछिल्ला ३ खेलमा १० गोल गरेको छ । सात गोल सन् २००८ को यूरोको २ म्याचमा सम्भव भएको थियो । बाँकी ३ गोल गत नोभेम्बरमा ।
– रुसले पछिल्ला ३ प्रतियोगितामा स्पेनलाई नतिजा सुम्पिएको छ । यूरो २००८ को समूह चरणमा ४–१ ले र सेमिफाइनलमा ३–० ले नपतजा स्पेनको पक्षमा रह्यो । त्यस्तै यूरो २००४ को समूहगत चरणमा पनि स्पेनले रुसलाई १–० ले हराएको थियो ।

स्पेन

–सन् २००६ को विश्वकप यता खेलिएका ३३ मध्ये ३२ खेलमा ५० प्रतिशतभन्दा बढी बल आफ्नो पक्षमा पारेको छ । २००८ को यूरोको फाइनलमा जर्मनीविरुद्धको खेलमा उसले मात्रै ४६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो ।
–स्पेनबाट आज मैदान उत्रिए महत्वपूर्ण प्रतियोगितामा आन्द्रेस इनिएस्टाको यो ३० औं खेल हुनेछ । उनी यस्तो उपलब्धि हासिल गर्ने तेस्रो स्पेनी खेलाडी हुन्् । यसअघि इकर कासियास र सर्गियो रामोसले ३० खेल कटाइसकेका छन् ।
–इस्कोले स्पेनका लागि १५ अन्तर्राष्ट्रिय म्याचमा भएको १२ गोलमा आफ्नो सहभागिता जनाएका छन् । १० गोल उनको नाममा हुँदा २ मा एसिस्ट पनि उनकै छ ।
–चिलीसँग सन् २०१४ को विश्वकपमा गोल गर्न असमर्थ भएयता स्पेनले महाकुम्भका पछिल्ला १२ मध्ये ११ खेलमा गोल गरेको छ ।
–ला रोजाको उपनाम पाएको स्पेनले ५ पटक विश्वकपको क्वार्टरफाइनल खेलिसकेको छ ।

रुस

–सोभियत संघ टुक्रिएपछि रुसले महत्वपूर्ण प्रतियोगिताको नकआउट चरणमा सहभागिता जनाउन लागेको यो दोस्रोपटक हो । यूरो २००८ को क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा ३–१ ले हराएको रुस सेमिफाइनलमा स्पेनसँग ३–० ले पराजित भएको थियो ।
–रुस वा सोभियत संघले विश्वकप फुटबलको नकआउट चरणमा पछिल्लो जित निकालेको भनेकै १९६६ मा हो । त्यतिबेला सोभियत संघले हंगेरीलाई २–१ ले हराएको थियो ।
–विश्वकप आयोजकले प्रतियोगितामा ८ गोल गरिसकेको छ । यो सोभियत संघले १९८६ विश्वकपमा गरेको १२ गोलपछिको अहिलेसम्मकै धेरै हो । त्यतिबेला बेल्जियमलाई ४–३ ले हराउँदै सोभियत संघ प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको थियो ।

फुटबल पण्डितहरुले रुसले विश्वकप जित्ने सम्भावनालाई २ प्रतिशत मात्रै देखेका छन् । जबकि स्पेनको हकमा उनीहरु यो प्रतिशत १३ सम्म देख्छन् ।

यी दुई टोलीबीचको खेल आइतबार राति पौने ८ बजे शुरु हुनेछ ।

प्रकाशित: असार १७, २०७५