साहित्य

[संस्मरण] आमा जानुभयो...

- देवेन्द्र भट्टराई, काठमाडौं

‘कान्छा, घरमा जरुरी काम आइपरेछ । तैँले तुरुन्त घर जानुपर्ने भयो, कमल सर नि सँगै जानुहुन्छ...”

टिफिन सकिएर भर्खरै कक्षा सुरु भएको थियो । दमक बजार नजिकै हिमालय मावि, कक्षा ८ को त्यो घन्टीमा नेपाली गुरु नारायण फुयाँल आफ्नै उच्चाटको स्वर र हाउभाउमा कक्षा छिरिसकेका थिए । नारायण सर नेपाली भाषा, शब्दार्थ र व्याख्या गर्ने शैलीमा साँच्चिकै अब्बल थिए । सरको स्वर भने नायक नाना पाटेकरकै जस्तो । ‘हेइ...’ भनेर सरले कक्षामा स्वर उँचो बनाउनासाथै हामी सबै सामसुम हुन्थ्यौँ ।

‘लु कान्छा, उठिहाल, गइहाल...,’ सधैँभन्दा बढो लयालु र मायालु स्वरमा नारायण सरले मलाई कोठा बाहिरसम्मै हात समातेर बाटो लगाइदिएको सम्झना छ ।

कक्षाबाहिर भाङबारी घरछिमेकका कमल प्रसाईं सर पर्खिरहेका रहेछन् । र, हामी सँगसँगै घरतिर लाग्यौँ– भदौरे धानको खेतैखेत, आली पछ्याउँदै । ‘कान्छा, के आमा अलिक बिराम हुनुहुन्थ्यो ? आज बिहान आमाले के खानुभयो नि ? तँलाई स्कुल हिँड्ने बेलामा आमाले केही भन्नुभयो कि कान्छा ?’ बाटो काट्दै गर्दा कमल सरको जिज्ञासा सुनिरहेकै थिएँ ।

‘आमालाई ठीकै छ नि सर । आज बिहान मोही–भात खाएको, पाकेको फर्सीको तरकारी थियो । आमाले के भन्नु र सर ? छिटो स्कुल गइहाल्, ढिलो भइसको मात्रै भन्नुभो,’ मैले हतारमै जवाफ फर्काएको थिएँ ।

‘अनि बा कता हुनुहुन्छ ? घरमा को–को छ ?’

‘बुबा भने पर सीतापुरी छेउमा पुराण भन्न जानुभएको ३ दिन भो, घरमा माइली भाउजू...’

‘ए, यस्तै हो दुनियाँ कान्छा । मान्छे जन्मेपछि मर्छ । तँ पनि, म पनि । तैँले विज्ञानमा लाइफ–साइकल पढेको होलास् नि...’

‘हो सर...छ सर...।’ यसरी कुराकानीमै घर पुगियो । तर, जन्मेपछि मान्छे मर्छ भन्ने खालका छेउ न टुप्पोका कुरा यो बेला कमल सरले किन गर्‍या होलान् भन्ने मनमा आइरह्यो ।

घर पुग्यौँ । घरको आँगन डिलमा ५/७ जना छरछिमेकी उभिएका थिए । आमा गुन्द्री भुइँमा बस्नुभएको थियो, भित्तो आड लागेर । आमाको अनुहार अलिक मलिन थियो । भीडको कल्याङ–कुलुङ निकै थियो । नजिकै पुगेपछि आमाको अइय्या..अइय्या आवाज सुन्दै थिएँ । छेवैमा एक जना चिनारु दिदी आमाको खुट्टा, कुर्कुच्चानेर मालिस गर्दै थिइन्– तोरी तेल लगाएर ।

छिनभरमै थाहा भयो– स्कुल चलिरहेकै बेला बीचैमा मलाई घर ल्याउनाको कारण । धानखेत र आलीमाझ जीवन–मृत्युको कुरो गरिनाको कारण । सधैँका कडा र चर्का शिक्षक स्वरहरू एकाएक नरम–मिजासिला हुनुको कारण ।

घरछेवैको ग्वालीमा जोडिएको बकैनाको घाँस काट्ने भएर आमा ग्वालीको भर्‍याङ–आडबाट भुइँमा लड्नुभएको रहेछ । आमाको कुर्कच्चो, गोलीगाँठो नराम्ररी दर्फरिएको रहेछ । त्यो अवस्था ‘मिस–कम्युनिकेसन’ हुँदै कक्षाकोठासम्म पुगेको रहेछ । भाङबारी गाउँबाट कुद्दै हाइस्कुल पुगेको कुनै विद्यार्थीले ‘आमा खस्नुभयो’ भनिदिएको रहेछ । त्यही ‘खसेको’ संवेदनाले काम गरेको रहेछ । खासमा आमा ग्वालीको भर्‍याङबाट तल भुइँमा खस्नुभएको रहेछ ।

‘कान्छा, आज यत्तिका वर्षपछि म त्यो क्षण सम्झिरहेको छु । कान्छाकी आमा आज भने साँच्चिकै खस्नुभयो,’ हाइस्कुल शिक्षकबाट अवकाश लिइसकेका उनै ‘नाना पाटेकर लवज’का नारायण सर मेरो घर–आँगनमा मलाई सान्त्वना दिइरहेका थिए । पर्तिर मेरी आमाको १३ दिने शोककर्म चल्दै थियो, हाहाकार नामक दैत्यको उपासना कर्ममार्फत ।

***

आमा मन्दोदराले धेरै दु:ख र थोरै सुखमा ८२ वटा हिउँद–बर्खा बिताउनुभयो । आमाले ताप्लेजुङको हाङदेवा–फावाखोला हुँदै पाँचथरको च्याङथापु र अन्तिममा झापाको दमक चाँजु–भाङबारीमा एकरसको जीवन बिताउनुभयो । १० वर्षको उमेरमा विवाह, असाक्षर जीवन, पहाड–मधेसको बसाइ–सराइ, त्यसपछि लगातारका एक दर्जनभन्दा बढी सन्तानहरू...। र, पछिल्ला २० वर्ष एकल महिलाको मुस्किलको दैनिकी ।

आमा आजन्म साकाहारी र सात्विक रहनुभयो । तर, छोराछोरीको जमघट र खुसीका लागि घरमा दु:खजिलो गर्दै भए पनि खसीबोका पाल्नुहुन्थ्यो । काठमाडौँवासी भएका हामी छोराछोरीका लागि कहिले आठिया केरा, कहिले बाँसका टुसा तामा, कहिले दुँदुँ साग, कहिले जिरे खोर्सानीको न्वागी पठाइरहनु हुन्थ्यो । हृदयाघातबाट प्राण त्याग्ने रातकै अन्तिम प्रहरमा पनि अस्ति भर्खरै आमाको अन्तिम न्वागी कोसेली आएको थियो । न्वागी लिएर त्यही दिन गोविन्द दाइ भाङबारीबाट ट्याङ्लाफाँट आउनुभएको थियो । घर आडैमा आमाले एउटा घुमाउने फलैंचा बनाउन चाहनुभएको रहेछ, बुबाको नाममा । ढिकीजाँतो नभत्काई राखिरहने इच्छा सुनाउनुभएको रहेछ । र, दाजुका साथमा आएको कोसेलीमा आमाको मनको कुरोसमेत जोडिएको थियो, ‘भाइलाई काँचो आँपको अचार मन पर्छ, दूधे–मकै भुटेर खान खुबै मन पराउँछ । एक छाक भए नि खाओस्, जसरी नि हात लगाइदिनू...।’

दुर्भाग्य, आमाले पठाएका कोसेलीहरू यता चाख्नै नपाई उता त्यही रात बित्नुभयो । चाउरिएका आँप, जिरे खोर्सानी र सुकेका मकै घोगाहरू आमाको स्मृति बनेर अझै मेरो भान्सामा लडिरहेकै छन् ।

आमाका आनीबानी विशेष लाग्ने थिए । कहिले अलिक हठी, कहिले केटाकेटी टाइपका । घरमा फिलिप्स रेडियो थियो, निकै पुरानो मोडलको । २० वर्षअघि बुबाको निधन हुनुभन्दा अघिको यो रेडियो जेनतेन चल्थ्यो, ठोकठाक काइदामा । विशेषगरी रेडियो नेपालबाट एकाबिहानै बज्ने धार्मिक कार्यक्रम र त्यसमा नाके भाकामा बोल्ने गुरुजी पुरुषोत्तम सापकोटालाई आमाले पनि तनमनले सधैँजसो सुन्नुभयो । समयको बदलाव र हावा अनुसार बिस्तारै आमा पनि एमफएम रेडियोतिर तानिनुभएछ, त्यो पनि कान्तिपुर एफएमको बिहानी प्रसारणमा आमाको मन बसेको रहेछ । अझ विशेषगरी जनार्दन घिमिरेको बिहानी प्रवचन भनेपछि ओछ्यानमै भए पनि सुन्ने, घरधन्दामै भए पनि सुन्ने । ‘त्यो कान्तिपुरमा बोल्छन् नि, एक जना घिमिरे बाहुन । साह्रै आनन्दले बोल्छन्, सुनिरहुँजस्तो’, एकपटक आमाले भन्नुभएको सम्झन्छु ।

अर्को एक बिहान आमाले फेरि एकाएक सम्झनुभएको थियो । अघिल्लो वर्षको १ वैशाख, नयाँ वर्षको नयाँ बिहानी थियो त्यो । दिदी गंगाले डायल गरिदिएको फोनमा आमा बोल्नुभयो, ‘भाइ, बाले छाडेको रेडियो बज्न छाड्यो । अब आउँदा एउटा सानो रेडियो ल्याइदे है, उझिन्डो भएको ।’

‘लौ ठीकै छ’ भन्ने भयो । काठमाडौँ सहरको सधैँको हतारो र नचाहिँदो म्याराथुनमा चाहेका बेलामा पुगिने कहीँ होइन । सधैँको बित्दो, सधैँको धपेडी । एक दिन फुर्सदमा न्युरोड, महाबौद्ध सबैतिर चहारेर राम्रै मूल्यको पानासोनिक रेडियो किनेँ । र, अनेक तारतम्य मिलाएर असार पहिलो साता मात्रै घर पुगेँ । रेडियो हात लगाएँ आमालाई । तैपनि, अनुहार उति प्रसन्न थिएन । ‘खोइ त उझिन्डो ?,’ अलिक गुम्सिएको स्वरमा आमाले सोध्नुभयो ।

ओहो, किनेको रेडियोमा उझिन्डो थिएनछ । अब के गर्नु ? कहाँ खोज्नु उझिन्डो ? ‘ल, ल अर्कोपालि उझिन्डो भएकै ल्याउँछु,’ आमासामु वचन राखेर काठमाडौँ फर्किएँ ।

एकाएक फेरि फोन आयो, दोस्रो दिनको बिहानीमा । आमा बोल्नुभयो, ‘भाइ, त्यो कान्तिपुर रेडियोमा बिहान बोल्ने नानी आएनन् नि ? कि नयाँ रेडियो भएर नआको हो ?’

मैले झट्ट ख्याल गरिनँ । पछि थाहा भयो, ती प्रिय वाचक जनार्दन घिमिरेको एक महिनाअघि सडक दुर्घटनामा परेर अल्पायुमै निधन भएको रहेछ । मैले आमालाई भन्न सकिनँ, भन्न चाहिनँ । जनार्दनको प्रवचन आउन छाडेपछि आमाले रेडियो सुन्न छाड्नुभएको रहेछ, पछि दिदीले भन्नुभयो ।

त्यो उझिन्डोबिनाको रेडियो अहिले बज्दैन, आमा पनि तस्बिरमा मात्रै हुनुहुन्छ– नबोल्ने बनेर । गायक अमृत गुरुङले खिचिदिएको आमाको कलरफुल तस्बिर र उझिन्डोबिनाको रेडियो दुवै झुन्डिएका छन्, घरको भित्तोमा– सम्झना बनेर ।

***

साथीभाइ वा इष्टजनको मृत्युका खबर सुन्नासाथ ‘सम–वेदना’ जनाउन जाने–आउने नेपाली चलन छ नै । यो आफैँमा आत्मीयतासहितको लोभलाग्दो परम्परा हो । मैले आमाको निधनमा र अझ १३ दिने शोकमा पनि त्यस्तै अपनत्वबोध गरेँ, आफन्तजनको । तर, नेपाली समाज, परिवार र यसको बनोटको सही चित्र–चरित्र बुझ्न चाहनेलाई यो मृत्यु र सन्तापको घडी ‘सुवर्ण अवसर’जस्तो पनि बन्दो रहेछ । छिन्द्रान्वेषी स्वभाव र नकारात्मकताले भरिएको आनीबानी कतै देखाउनु छ भने यही १३ दिने कर्मथलोमा गएर मनपर्दी पोखिए हुने रहेछ ।

–‘ए अनि, पण्डितको छोरो भएर क्षत्री पो विहे गर्‍यौ कान्छाले ?’

–‘पत्रकारहरू त छापौँ कि भेटौँ भनेरै कुस्त कमाउँछन् रे । तिम्ले घर–गाडी के–के गरिसक्यौ नि ?’

–‘ओहो, छोरीबुहारी त पूरै तुसारो फूलेजस्ता रैछन् । के छिट्टो बुढ्यौली आएछ ?’

–‘तिमीहरू १२ सन्तानमध्ये को–कति जेठीपट्टिका, को–को कान्छीका नि ?’

–‘अनि घरजिमिनको अंशबन्डा बाआमा छँदै मिलायौ कि तँतँ–मम बाँकी छ ?’

—‘भनेपछि यो ब्राह्मण कुलमा क्षत्री ल्याउने २ जना, क्षेत्रीसँग जाने २ जना, नेवारसँग साटिने १ जना ? रामराम... पण्डित घरानाका बाआमाको आत्माले के शान्ति पाउँथ्यो होला र ?’

मानौँ, यो काजक्रियाको शोकथलो भनेको ‘ पञ्चायत’ हो, यो आफैँमा एउटा कचहरी हो । यहाँ मिल्ने–मिलाउने कोही छैन । तर, छुस्कर र अपाच्य लाग्ने मुद्दाहरू चर्काउन डिट्ठाहरू कम्मर कसेर लागिपरेका छन् । शोकको यो घडीमा कसले कसलाई जवाफ दिने ? जवाफ कति मात्रै दिने ?      

यो कचहरीबाहेक अर्को विषाद र विरक्तिको फेसन पनि गाउँघरमा फैलिएको रहेछ– शोककर्मकै घडीमा । त्यो हो– पार्टी, संगठन, समूह, क्लब, विद्यालय, सहकारी, आमा समूह, बा समूह सबैतिरबाट लिखित र सम्पूर्ण औपचारिकताको समवेदना कार्यक्रम गर्ने संस्कार । आफूलाई जन्म–कर्म दिने आमा बितेको २ दिन भएको छैन । एउटा समूह आउँछ, सम्पूर्ण औपचारिकता बोकेर । आमाका बारेमा बनेको जन्म–मृत्युको उही कुण्डली सार्दै र ‘आयो टप्प टिप्यो’को समवेत स्वरलहरी वाचन गर्दै सबै शोकाकुल परिवारलाई भेला गराएर समवेदना वाचन गरिन्छ । कुनै दिन त एकपछि अर्को गर्दै एक दर्जन समवेदना सुन्नुपर्छ, हरेकमा एक मिनेटको मौनधारणसहित । त्यो पनि ‘आकस्मिक र अल्पायुमै स्वर्गवास हुनुभएकी आमा’ भनेर अतिस्तुति गरिरहेको भीडमाझ कराएरै भन्न मन लाग्थ्यो, ‘आमाको निधन न आकस्मिक हो, न अल्पायुमै हो ।’

यो घडी अनेक स्मृतिहरू सल्बलाएर आइरहेका छन्– मथिंगलमा । दिमाग चक्कराइरहेकै छ । अस्ति माइखोलामा आमाको शवमा दागबत्ती दिँदा भक्कानिएर त्यही चिताग्निमा पसौँ कि जस्तो भएको थियो । एक महिनाअघिको मातातीर्थ औँसीमा आमालाई किनिदिएको चोलोको कपडा अहिलेसम्म नसिलाएकै अवस्थामा राख्नुभएको रहेछ, भाइले दिएको लुगा दसैँमा लगाउँछु भनेर । आमाको दाहसंस्कार सकेर घर फिरेपछि यो कुरो थाहा पाउँदा थामिनै सकिनँ । ‘भाइका नाममा’ अरू धेरै कुरा बाँकी रहेछन् आमा छेउछाउ । आमाको कोठामा कतै सातुको सानो पोको छ, कतै सेता भटमासको थैलो । कतै गहतको दाल पेप्सीको बोतलमा हालिएको छ, कतै फुला उठ्ने मकैको जोहो । ताप्लेजुङबाट आफन्तले ल्याइदिएको जिम्बु अलिकति, रवि–थामथुमतिरका मेलका चाना थोरै–थोरै । न्वागी खाने काला बासमतीको चामल दुई मानाजति, पुवा खान राखिएको कनिका पनि छँदैछ । दानेदार घिउ देखिन्छ एउटा हर्लिक्स बट्टामा, पर्तिर एक काइँयो झप्री केरा लडिरहेको छ । पछिल्ला वर्षमा आमाको सहारा बनेर बसेकी दिदी गंगाले सुनाइन्, ‘आमा भन्दै हुनुहुन्थ्यो, यो भाइको भाग हो । ऊ आएपछि नबिर्सिकन दिनू है ।’

म फेरि थामिन सकिनँ । किन हो किन, हरघडी आमा सम्झेर आँखा रसाइरहेकै हुन्छन् । हरक्षण जिउ लुलिएको भान हुन्छ । राम्ररी सुतिएको छैन, खानपिन त बारिएकै हुन्छ । हिजोसम्म ‘भाइ, तैँले के खाइस् ? स्वर अलिक मलिन छ नि ?’ भन्ने आमा आज यो लोकमा नरहेको पीडाबोधले बेलाबेलै अर्धचेतमा बौरिएजस्तो भइरहेको छ । अर्कातिर, त्यही घडी समवेदना दिन आएकाको हूलबाट कुनै धोध्रो स्वरवालाले आदेश दिँदै हुन्छ, ‘अब ममतामयी आमाको सम्झनामा १ मिनेट मौन धारण गरिनेछ, सबैजना उठिदिनुहोला...।’

शोक र बिलौनाको घडीमा देखिएको यो ढोंग साँच्चै अजीवको लाग्यो । देखावटी समवेदना दिन र बाँड्न उर्लिएको यो होड देख्दा हामी सबैले ‘सम–वेदना’ भाव गुम्दै–गुमाउँदै गएजस्तो पो लाग्यो । शक्ति र भक्तिको समवेदनाजस्तो, पहुँच र प्रभावको समवेदनाजस्तो । एकदमै ‘कर्मसियल’ समवेदना । कतिसम्म भने घरको सिकुवा, टाँड, भर्‍याङमुन्तिर सबैतिर समवेदनाका फ्रेमहरू मात्रै छन् । यो आँखा बिझाउने डंगुर अब भोलिबाट के गर्ने हो, थाहा छैन ।

कवि राजवले ‘आमा हुँदा’ कवितामा भनेजस्तै मेरी आमा गाउँ छँदा धेरै कुरा हुन्थ्यो । घरवरपर चराचुरुंगीको गोलो लाग्थ्यो, सहस्र परेवाको बास घरमै थियो । जुरेली, चिवे, ढुक्कुरहरू आमावरपर हुन्थे । बिरालो आमा छेवैमा सुत्थ्यो । ‘वरपर आउने झिंगा र झिंगाको भुनभुनले मलाई तिमीहरू मेरै नजिकै आएर बोलेजस्तो लाग्छ नि भाइ’ भन्नुहुन्थ्यो आमा । पछिल्ला वर्षमा झिंगा मार्न पनि चाहनुभएन, एकान्तका साथी भनेर ।

आमा एक प्रकारले नास्तिक हुनुहुन्थ्यो । मठमन्दिर, चारधामको इच्छा खासै राख्नुभएन । बरु गरिब–दु:खीलाई खान दिने, गौशालामा गाईदान गर्ने र पाहुनाजनको खुलेरै सत्कार गर्ने स्वभाव थियो । इच्छाहरू चर्का र महँगा थिएनन् । अस्ति वैशाखमा घर पुग्दा घर–आँगनमै बनेको केटाकेटीको प्रि–स्कुल विद्याशिल्पतिर हेर्दै आमाले भन्नुभयो, ‘मलाई यहाँ आकाशबत्ती बाल्ने मन छ, लहरै ।’

पछि थाहा भयो– त्यो कुनै तुलसामोठमा आकाशबत्ती बालेर गरिने कात्तिक पूजा थिएन । बरु, सौर्यऊर्जाबाट विद्यालयको छानै उज्यालो हुने गरी स–साना बत्ती बाल्ने सपना राख्नुभएको रहेछ आमाले । आशा छ– आमाको यो इच्छा पूरा हुनेछ चाँडै ।

मैले माया ठकुरीको ‘आमा जानुहोस्’ कथा थुप्रै पटक पढेको छु, दोहोर्‍याएर आज फेरि पढेँ । पहिले, ‘१२ छोरा १३ नाति’को किस्सा किन उब्जिएको होला भन्ने लागिरहन्थ्यो । अहिले भने धीत मर्ने गरी आमा छेउ बस्न नपाएकामा आफूलाई पनि त्यही ‘अभाग’पात्र ठानिरहेको छु । 

ताप्लेजुङ–पाँचथरको मूलबाट झरेर झापा, दमक आएर बसेका मेरा बाआमाहरू खासमा अलिक उज्यालो जीवन–जगत्को तिर्सनामा आजीवन लडिरहे । उज्यालो कति पाए, स्वर्गलोकमा भएका तिनैलाई थाहा होला । संसारको जुनै कुनामा आफू पुगे पनि यदि कसैले ‘घर कहाँ नि ?’ भनेर सोधीखोजी गरेमा ‘दमक, भाङबारी’ भन्ने जवाफ मेरो नाभीमै जोडिएको थियो । अहिले त्यो नाभी झरेको छ, आमा बितेर गएपछि मेरो थातथलो, ठाउँठेगाना एकाएक टुहुरोझैँ बनेको छ ।

यत्ति हो, हरेक पटकका फोन सम्पर्क वा हरेक कुराकानीमा दोहोर्‍याउँदै एउटै जिज्ञासा सोधिरहने त्यो अपनत्वको बोली अब कहिल्यै सुनिने छैन । आमा हरेक पटक र अझ आमाकै नजिक बसिरहेको भए पनि मलाई सोधिरहनु हुन्थ्यो, ‘भाइ, अब घर कहिले आउँछस् ?’

सायद, म अब घर कहिल्यै आउँदिनँ आमा !

devendradamak@gmail.com 

प्रकाशित: असार १३, २०७५