समसामयिक

महाकालीको नहर : १२ वर्षमा १३ किमि

- भवानी भट्ट, काठमाडौं

कञ्चनपुर–महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत मूल नहर निर्माण सुरु भएको १२ वर्ष पुग्यो । तर, हालसम्म नहर निर्माण भएको छ, जम्मा १३ किलोमिटर । अत्यन्तै कछुवा चालमा बढिरहेको आयोजना यतिबेला महाकाली सन्धि अनुसार भारतीय पक्षले नेपाल–भारत सीमासम्म १ हजार २ सय मिटर नहर निर्माण नगर्दा अल्झिएको छ । भारतीय पक्षले आफ्नो भूभागमा नहर निर्माणको सुरसारै गरेको देखिँदैन ।

उक्त नहरमा पानी सञ्चालनका लागि शाखा–प्रशाखा निर्माण कार्य भारतीय पक्षले आफ्नो भूभागमा नहर बनाएपछि मात्रै सुरु गर्ने तयारी गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निमित्त आयोजना निर्देशक सिनियर डिभिजनल इन्जिनियर वीरसिंह धामी बताउँछन् । “हामी शाखा–प्रशाखा निर्माणका लागि विस्तृत अध्ययन गरेर तयारी अवस्थामा बसेका छौँ,” उनी भन्छन्, “भारतीय पक्षले नहर निर्माणको काम सुरु गरे एक वर्षभित्र पानी सञ्चालन गर्न सकिन्छ ।”

भीमदत्त नगरपालिकाको ब्रह्मदेवदेखि वेदकोट नगरपालिकाको मुसेपानीसम्म १२ दशमलव ७ किलोमिटर मूल नहर निर्माण यसै वर्ष सम्पन्न भएको हो । भारतीय पक्षले २ सय ४५ मिटर र नेपाली पक्षले २ सय ४१ मिटर उचाइबाट पानी लिने अडान लिँदा १० वर्षसम्म यति महत्त्वपूर्ण आयोजनाले खासै गति लिन सकेन ।

सन् २०११ मा नेपाल–भारत जलस्रोत मामिलासम्बन्धी समस्या छलफल तथा निष्कर्षमा पुर्‍याउन सक्ने संयुक्त समूह (जेसीडब्लुआर) को छैटौँ बैठकले २ सय ४४ दशमलव २५ मिटर उचाइबाट नेपालले पानी पाउने टुंगो लगाउनुका साथै भारतीय भूभागमा नहर निर्माण सुरु गर्ने निर्णय गरेको थियो । त्यसपछि ०१३ मा जेसीडब्लुआरको अर्को बैठकले नहर निर्माण र नेपाललाई पानी दिने व्यवस्था छिटो अघि बढाउन निर्देशन दिए पनि हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन ।

महाकाली सन्धिको तेस्रो बुँदामा पञ्चेश्वर परियोजना र चौथोमा दोधारा–चाँदनीमा सिँचाइ नहरको विषय उल्लेख छ । तर, भारतीय पक्षले पहिले पञ्चेश्वर परियोजना निर्माण हुनुपर्ने र त्यसपछि मात्रै दोधारा–चाँदनीका लागि पानी दिन सकिने संयुक्त बैठकमा कुरा उठाएको प्राविधिक बताउँछन् । “महाकाली सन्धि अनुसार हामीले पाउनुपर्ने सिँचाइ सुविधाका लागि अब प्रदेश र संघीय सरकारले पहल गरिदिनुपर्छ,” महाकाली नगरपालिका प्रमुख वीरबहादुर सुनार भन्छन् ।

हालसम्म करिब १३ किलोमिटर नहर निर्माणमा २ अर्ब खर्च भइसकेको छ । त्यसमध्ये संरचना निर्माणमा डेढ अर्ब र मुआब्जा वितरणमा ६० करोड खर्च भएको आयोजनाले जनाएको छ । मूल नहर निर्माणसँगै ७ वटा साइफन र १८ वटा ठूला पुल निर्माण गरिएका छन् । १३ किलोमिटर नहर निर्माणका क्रममा ६२ हेक्टर जमिन अधिग्रहण गरिएको छ ।

ब्रह्मदेव खण्ड अन्तर्गत मुसेपानीदेखि टोटीफुलेलीसम्म थप १५ किलोमिटर मूल नहर निर्माणका लागि सर्भे चलिरहेको छ । तर, यस वर्ष २९ करोड मात्रै बजेट विनियोजन भएकाले आयोजनाले गति लिने देखिँदैन । “हामीले कम्तीमा पनि १ अर्ब बजेट माग गरेका थियौँ तर ३० करोड मात्रै छुट्याइयो,” सीडीई धामी भन्छन्, “विगतदेखि नै चलिरहेको कामको भुक्तानीका लागि समेत समस्या हुने देखिन्छ, थप काम कसरी सुरु गर्ने ?”

आयोजना अन्तर्गत ब्रह्मदेवदेखि चुरे फेदी हुँदै कैलालीको गेटा र कञ्चनपुरको त्रिभुवन बस्तीसम्म १ सय ५१ किलोमिटर मूल नहर निर्माण हुनेछ । उक्त नहरबाट ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । थप केही क्षेत्र छुटेकाले सिञ्चित क्षेत्रफल करिब ४० हजार हेक्टर पुग्ने अनुमान छ । २००१ मा आयोजनाका लागि ११ अर्ब लागत अनुमान गरिएको थियो भने ०१५ मा त्यो बढेर २७ अर्ब पुगेको छ । अहिलेकै गतिले काम भए ४०/५० वर्ष लाग्न सक्ने प्राविधिकको भनाइ छ ।

प्रकाशित: असार १०, २०७५