अर्थ

राष्ट्र बैंकले किन जलायो ४ खर्ब रुपियाँ ?

- अर्थ संवाददाता, काठमाडौं

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार अहिले ४ खर्ब ६ अर्ब रुपियाँ बराबरका नोट तथा सिक्का बजारमा चल्तीमा छ । तर, राष्ट्र बैंकको स्थापनायता लगभग त्यति नै मात्राका नोट जलाइएको छ । गत ५ असारसम्म राष्ट्र बैंकले कुल ४ खर्ब १२ अर्ब रुपियाँका विभिन्न नोट जलाएको छ ।

धेरैमा खुल्दुली हुने गर्छ, नोट किन जलाइन्छ ? सबै वस्तुजस्तै नोट वा मुद्राको पनि आयु हुन्छ । नोट पुरानो भएर कामै नलाग्ने अवस्थामा, शासन प्रणाली परिवर्तन भएपछि वा नयाँ ढाँचाको मुद्रा चल्तीमा ल्याउनु पर्दा र नोट खारेज गरिएको अवस्थामा जलाउनुपर्छ । नेपाली सन्दर्भमा पोलिमर नोट (प्लास्टिक नोट) चलाउने प्रयास गरिँदा, राजतन्त्रको अन्त्यसँगै राजाको तस्बिर भएका नोट चलनचल्तीबाट खिचेर नयाँ नोट जारी गरिएको उदाहरण छ । ०८ नोभेम्बर ०१६ मा भारतले पुरानो पाँच सय र एक हजारका भारु नोटबन्दी गरेपछि ती नोटलाई टुक्रा पारेर अन्य फोहरजस्तै ल्यान्डफिल्डमा फालिएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

नेपालमा नोट चाँडै पुरानो हुने हुँदा जलाउनु परिरहेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौला बताउँछन् । ‘‘नेपालमा नोटको आयु सरदर तीनदेखि पाँच वर्ष रहने गरेको छ,’’ निरौला भन्छन् । यही आधारमा राष्ट्र बैंकले समय–समयमा नयाँ नोट छाप्ने गर्छ । के–कति मुद्रा छाप्ने भन्ने अधिकार केन्द्रीय बैंकमै निहित हुन्छ । नोट छाप्दा केन्द्रीय बैंकले सुरक्षणका रूपमा सुन, चाँदी र चलनचल्तीमा रहेका नोटलाई नै आधार मान्ने गर्छ । यसमा ५०/५० प्रतिशत भार दिइन्छ । नयाँ नोट आएसँगै पुराना नोट बजारबाट खिच्न थाल्नुपर्छ । यसो नगर्ने हो भने बजारमा पैसाको आपूर्ति बढ्छ । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ । किनभने, धेरै पैसा चलनचल्तीमा भए यसले महँगी वृद्धिदेखि पैसाको मूल्य घटाउने काम गर्छ । देशहरू टाट पल्टिने अवस्थामा पनि धेरै मुद्रा चलनचल्तीमा आउने गरेका छन् । त्यसैले केन्द्रीय बैंकको एउटा महत्त्वपूर्ण काम बजारमा चलनचल्तीको मुद्रा व्यवस्थापन गर्नु पनि हुन्छ । यसलाई मुद्रा प्रवाह व्यवस्थापन भन्ने गरिएको छ ।

नेपालमा एक र दुई रुपियाँका नोट छाप्न बन्द भएको छ । बजारमा पुराना नोट नै चलिरहेका छन् । पाँच, दस रुपियाँका नोट बढी चलनचल्तीमा हुने भएकाले यी नोट चाँडै पुराना हुने गरेका छन् । राष्ट्र बैंकको प्रणालीमा लगभग ५ वर्षमा पुराना नोट फर्किने अनुमान गरिएको छ । सामान्यत: विकसित राष्ट्रमा भने एक पटक जारी गरिएको नोट तीन वर्षमा फर्किसक्छ । हामीकहाँ साथमा पैसा राख्ने परिपाटी धेरै भएकाले पनि प्रणालीमा पैसा फर्किन लामो समय लाग्ने गरेको हो ।

नेपालमा हाल एउटा नोट छाप्न डेढदेखि एक रुपियाँ ९२ पैसासम्म लाग्छ । एउटा चक्रमा करिब तीन खर्ब २९ अर्ब बराबरका रुपियाँ छापिन्छन् । नोट साथमा राख्नेभन्दा पनि किनमेलमा बैंकबाट जारी हुने  डेबिट कार्ड, क्रेडिट कार्ड प्रयोग गर्ने र बैंकिङ प्रणालीबाटै भुक्तानी गरिए पनि नोटको आयु बढाउन सकिन्छ । राष्ट्र बैंककै पछिल्लो तथ्यांक अनुसार करिब ३ करोड जनसंख्यामा २ करोड २५ लाखले कर्जा खाता र १२ लाखले निक्षेप खाता खोलेका छन् । तर, मोबाइल बैंकिङको सेवा लिने ३९ लाख, इन्टरनेट बैंकिङको सेवा लिने करिब ८ लाख, करिब ५४ लाखले डेबिट, क्रेडिटलगायतका कार्ड लिएका छन् । यसमा एउटाभन्दा धेरै बैंक खाता हुने पनि उच्च भएकाले संख्या दोहोरिएको छ । त्यसैले बैंकिङ प्रणालीबाट विद्युतीय कारोबार गर्न सकिए नोट छाप्ने खर्च जोगाउन सकिन्छ । हुन त, अन्य मुलुकमा पनि कागजी वा भौतिक मुद्राको प्रयोग नहुने भने होइन । एक तथ्यांक अनुसार अमेरिकाले सन् २०१० मा ५ अर्ब ९५ करोड डलर बराबरका नोट नष्ट गरेको थियो । यसमा एक र २० डलरका नोटको संख्या धेरै थियो । तर, नेपालमा पूजा, दान–धर्म गर्दासमेत पैसाको प्रयोग हुने र पैसालाई जतन साथ राख्ने बानी पनि नभएकाले अन्य देशमा भन्दा चाँडै नोट पुरानो हुने गरेको छ । उचित प्रयोग गर्ने हो भने नोटको आयु बढाउन सकिन्छ र छपाइको खर्च कम हुन्छ ।

नेपालमा पुरानो नोट जलाएर व्यवस्थापन गर्ने एक मात्र तरिका छ । भारतमा भने केन्द्रीय बैंकका १९ भन्दा बढी कार्यालयमा रहेका २७ वटा मेसिनले पुराना नोट टुक्रा–टुक्रा पार्ने गर्छ । यस्ता नोट टुक्रा भएसँगै मूल्यहीन हुन्छन्, जसलाई ल्यान्डफिल्डमा व्यवस्थापन गरिन्छ । कतिपय देशमा भने टुक्रा पारिएका पुराना नोटको कागजी फाइल, क्यालेन्डरलगायतका सामग्री बनाउनसमेत प्रयोग गर्ने चलन छ ।   

प्रकाशित: असार ८, २०७५