अचानक

‘विश्वकपको सपना देख्छु’

- मनबहादुर बस्नेत, काठमाडौं
राष्ट्रिय फुटबल महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारीले सशस्त्र प्रहरी बलको विभागीय क्लब एपीएफबाट खेलेर चौथो साफ महिला च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान राखेकी थिइन् । सोही प्रतियोगितामा भुटानविरुद्धको खेलमा भण्डारीले एउटै खेलमा दोहोरो ह्याट्रिक गरेर अर्को कीर्तिमानसमेत राखेकी थिइन् । विश्वकप फुटबल फिभर छाएका बेला साम्बा नामले चिनिने स्ट्राइकर भण्डारीसँगको संवाद :

विश्वकप कत्तिको लागेको छ ?

काठमाडौँको दरबारमार्गमा ओपनिङ कार्यक्रम राख्नुभएको थियो, हरि खड्काले ३१ जेठमा । त्यहाँ अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र थुप्रै खेलाडी आएका थिए । रमाइलो हुँदैछ ।

पुरुष विश्वकप फुटबलको चर्चा छ । तर, महिला विश्वकप हुन्छ कि हुँदैनजस्तो किन ?

पुरुष विश्वकपमा फुटबलको भन्दा महिलाको कमै महत्त्व भएजस्तो गरिन्छ । यसमा फिफाको पनि कमजोरी छ ।

नेपाली महिला फुटबल प्रतियोगिताको अवस्था पनि त्यस्तै हो कि ?

महिला फुटबलमा प्रधानसेनापति कप र एन्फाको वुमेन्स लिग मात्रै हुन्छ । एन्फा लिग पनि नियमित छैन ।

विश्वकप फुटबलको मैदानमा उत्रिएको कल्पना पनि गर्नुभएको छ ?

कल्पना मात्रै होइन, सपनै देख्छु । जितेर नेपालको झन्डा फहराउँदै मैदानमा दौडेको देख्छु । युरोपेली क्लबबाट खेलेको पनि देख्छु । तर, त्यो हाम्रा लागि सपना मात्रै हो । एउटा दुइटा प्रतिस्पर्धाले त्यहाँ पुग्न सकिँदैन । हाम्रो अवस्था एकदम नाजुक नै देख्छु ।

नेपाली फुटबल विश्वकप खेल्ने हैसियतमा नपुग्नुको प्रमुख कारण शारीरिक बनोटलाई मानिन्छ, त्यस्तै हो ?

मलाई त त्यस्तो लाग्दैन । साफमा हामीले भारतबाहेक सबैलाई जितेकै हुन्छौँ । हामीलाई पोषण पुग्दैन । समाज, परिवारबाट निरन्तर रूपमा पिछडिनुपर्छ । सरकारले खेललाई सहयोग, सुविधा दिएको छैन । यस्तो भद्रगोलले हाम्रो खेल नसुधारिएको हो ।

परिवारबाट सहयोग छ कि छैन ?

सानोमा आमाले खेल्न त्यति दिनुभएन । उहाँले काम खोज्नुहुन्थ्यो । म काम सकेर वा चुटाइ खाएरै भए पनि लुकीलुकी खेल्न जान्थेँ । महिला मात्रै खेल्न टिम नै पुग्दैन थियो अनि दाइहरूसँग मिसिएर खेल्थेँ । बुबाको सपोर्ट थियो ।

फुटबलरको सपना कहिले देख्नुभएको हो ?

टिभीमा जमुना गुरुङहरूले एउटा महिला अन्तर्राष्ट्रिय खेल जितेको देखेकी थिएँ । मिति बिर्सिएँ । वान टु वान पास खेलेर मज्जाले गोल हान्नुभएको थियो । दिदीलाई देख्दा म रुन मात्रै सकेको थिइनँ । त्यतिबेला ममा फुटबल खेल्ने व्यवस्थित ज्ञान थिएन । तालिम थिएन । तर, म आफैँले गोल हानेजस्तो लाग्यो । टिभीमा यो सबै देख्दा मलाई खेल्न ठूलो हौसला भयो ।

प्रहरीको विभागीय टिम एपीएफमा आबद्ध नभएको भए फुटबलमै टिकिराख्न सकिन्थ्यो ?

एकदमै गाह्रो हुन्थ्यो । क्लबहरूले अनुबन्ध गरे पनि महिला फुटबलरलाई पाँच/सात हजार रुपियाँ मात्रै दिन्छन् । काठमाडौँमा आएर खेलेपछि परिवारले आर्थिक सहयोगको अपेक्षा गरेको हुन्छ । तर, त्यति पैसामा आफू बाँच्नु कि परिवारको अपेक्षा हेर्नु ? विशुद्ध फुटबलर मात्रै भएको भए सायद म यहाँ हुन्न थिएँ कि !

फुटबलर प्राय: हेयर स्टाइलका पारखी किन हुन्छन् ?

विश्वस्तरीय खेलाडीले आफ्नो हेयर स्टाइल बदलिरहन्छन् । विशेषगरी पोग्बा, रामोस, रोनाल्डोले । मैले पनि उनीहरूकै देखेर सिको गरेकी हुँ ।

कोही महिला फुटबलरको खेलले तपाईंलाई लोभ्याउँछ ?

कार्ली लोयड । यी अमेरिकी खेलाडीको स्कोरिङ गर्ने तरिका एकदमै मन पर्छ । रक्षापंक्तिसँग भिडेर गोल हान्ने (ड्यासिङ, पुसिङ र स्कोरिङ) गज्जबको क्षमता छ यिनमा । एकदमै शक्तिशाली प्रहार छ ।

आफूले खेलेको कुन खेल सम्झिनुहुन्छ ?

चौथो साफ वुमेन्स प्रतियोगिताको भारतविरुद्धको खेल । भारतको सिलिगुडीमा भएको खेलमा मैले पेनाल्टीबाट गोल गरेकी थिएँ । त्यतिबेला भारतले दुई गोल गरेको थियो । २–१ भएकाले जितिन्छ भन्ने आशा थियो । तर, ३–१ ले हारियो ।

साम्बाको अर्थ के हो ?

कपाल केटाको जस्तै छोटो थियो । अनि, एपीएफकै दिदीहरूले कपाल सुहाउँदो नाम राखिदिनुभयो ‘साम्बा’ भनेर ।

→विश्वकप सम्बन्धित ताजा अपडेटका लागि यहाँ क्लिक गर्नुहोस् : #विश्वकप २०१८

 

प्रकाशित: असार ८, २०७५