ब्लग

[नोटबुक] छद्मभेषी बजार गुरु

- विजयराज खनाल, काठमाडौं

सेयर बजार बढ्दा त्यसलाई बाढीको संज्ञा दिने परिपाटी अन्य मुलुकमा पनि छ । नेपाल यसै पनि धेरै नदीनाला भएको देश । यही कारण होला यहाँ आउने बाढीको उछाल सानोतिनो हुँदैन । यो उछालमा नयाँ–नयाँ लगानीकर्ता पस्ने र फस्ने मात्र होइन, विज्ञ जन्मिने पनि गरेका छन् ।

केही समयअगाडि बजारमा यस्तै अदृश्य गुरु टोलीको जन्म हुन थाल्यो । सशरीर उपस्थित नभए पनि यस्ता फेसबुके छद्मभेषी गुरुहरु बजारलाई डोर्‍याउन सक्ने बलवान् रहेको देखाउने भगिरथ प्रयासमा लाग्दै गए । बजारै नबुझी लगानी गर्ने जमातको समेत बाहुल्य बढ्दै जाँदा यस्ता फेसबुके गुरुका अनगिन्ती चेला पनि निस्किए । कसले बढी पाठक तान्ने होडमा रहेका सेयर बजारसम्बन्धी अनलाइनले यस्ता गुरुहरुलाई वैधानिकता दिए । अर्ती–उपदेशका नाममा कतिपयले आफू प्रतिकूलका सेयर बिक्री गरे, कतिपयले अन्धाधुन्ध भविष्यवाणी गर्दै हिँड्न थाले । बजार चल्ने आफ्नै सिद्धान्त छ । यसलाई प्रभाव पार्ने कारकतत्व आफ्नै हुन्छ । तर, मेरो गोरुको बाह्रै टक्का भनेझैँ मेरै बुझाइ सही भन्दै लाग्ने गुरुहरुलाई बजारले त पछार्‍यो नै, अन्ध समर्थक देखिएकाले समेत धारे हात लाउन थाले । यद्यपि, फेसबुकमा यस्ता गुरुहरुको जन्मको शृंखला तोडिएको छैन । अझ अहिले यस्ता गुरु जन्माउने काम कतिपय लगानीकर्ता संघका अधिकारीहरुले संयुक्त रुपमा गरिरहेका छन् । कोही लगानीकर्ता एकल लागिपरेका छन्, आफ्नै नयाँ स्वरुप जन्माउन । समयले जन्माउने र समयले नै ठेगान लगाउने यस्ता छद्मभेषी गुरुहरुको जय होस् !

व्यवसायीको भारु मोह

८ नोभेम्बर ०१६ मा मध्यराती नरेन्द्र मोदीको सरकारले ५ सय र हजार दरका भारु नोटलाई प्रतिबन्ध लगायो । लगत्तै आफूहरुसँग १५ अर्ब रुपियाँसम्म यस्ता नोट रहेको भन्दै व्यवसायीले सरकारलाई साट्न दबाब दिए । तर, दिन–प्रतिदिन यस्तो दबाबको स्वर मसिनो हुन थाल्यो । केही सातामै व्यवसायीबाट प्रतिबन्धित नोटको ‘न’ पनि उचारण हुन छाड्यो ।

भारतले नेपालमा प्रतिबन्धित भारु साट्न खासै कुनै पहल गरेन । नेपालले गरेको प्रयासमा भारतले चासो पनि दिएन । अन्तत: घाटा खाएरै व्यवसायीले भारतीय बैंकको समेत प्रयोग गरेर नोट साटे । अर्थतन्त्रको आधा हिस्सा बराबर अनौपचारिक मानिँदै आएको नेपालमा भारुको नोटबन्दीपछि कति पैसा औपचारिक प्रणालीमा आयो ? यहाँ पनि हिसाब गरिएको छैन ।

यहाँ भारु साथमा राख्न कानुनले दिँदैन, तर भारतबाटै सामान ल्याउँदा भुक्तानीको माध्यम पनि बनाइएको छ । यसै सुविधाको लाभ लिँदै नखुलेको धन लुकाउने माध्यम बनिरहेको ठूला भारु नोटको प्रयोग खुला गर्न व्यवसायी पुन: लबिइङ गरिरहेका छन् । गत मंगलबार मौद्रिक नीतिमा राय दिन आएका व्यवसायीले माग राखे, भारुको नयाँ ५ सय र २ हजारको नोट खुला गर्न । केही महिनाअघि मात्रै १८ अर्ब नेपाली रुपियाँ प्रणालीबाटै हरायो । सम्भवत: यसैले होला, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाली ५ सय र १ हजार रुपियाँलाई समेत नोटबन्दी गर्नुपर्ने राय राखे । यस्तोमा व्यवसायीको यो माग कसैले सम्बोधन गर्नुपर्छ र !

आत्महत्याको क्षतिपूर्ति

विश्वमा आत्महत्यालाई हेर्ने फरक–फरक दृष्टिकोण छ । आत्महत्या प्रयासलाई कानुन विपरीत मानिन्छ ।

संसारका विभिन्न देशमा बिमा कम्पनीहरुले आत्महत्यामा फरक–फरक रणनीति अपनाउने गरेका छन् । नेपालमा जीवन बिमा गरेको पहिलो वर्षको अवधि कटेपछि बिमांकको कुल रकम क्षतिपूर्ति पाउने व्यवस्था छ । विशेषगरी अल्पसंख्यक समुदाय र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाहरुका यस्ता दाबी नेपालका बिमा कम्पनीमा आउने गरेको छ । वैदेशिक रोजगारीमा जानेले एक वर्ष नपुग्दै पनि क्षतिपूर्ति पाउँछन् ।

यत भवती तत् नास्यती, सबै वस्तु नाशवान छन् भन्ने मान्यतालाई धेरैजसो मुलुकमा बिमा कम्पनीहरुले पनि आत्मसात् गरिरहेका छन् । यही कारण आत्महत्यामा क्षतिपूर्ति दिने प्रचलन छ तर, पहिलो वर्ष नभई अवधि बढी राख्ने गरिएको छ । यस्तो क्षतिपूर्ति पाउने अवधि नहुादै आत्महत्याका घटना भएमा बिमितका आफन्तले प्रिमियम शुल्क पाउने व्यवस्था छ । नेपालमा पनि यो अवधि बढाउनुपर्ने अवस्था देखिएको छ ।

प्रकाशित: असार ७, २०७५